बाँके ,५ साउन ।
बाँकेमा तरकारी तथा फलफूलमा हुने विषादी अवशेष परीक्षणको दायरा विस्तार भएसँगै मापदण्डभन्दा बढी विषादी अवशेष भेटिने नमुनाको सङ्ख्या पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा गरिएको परीक्षणमा १२ वटा नमुनामा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगञ्जले जनाएको छ।
प्रयोगशालाका अनुसार गत आर्थिक वर्षमा दुई हजार ६२ वटा तरकारी तथा फलफूलका नमुना परीक्षण गरिएको थियो। तीमध्ये १२ वटा नमुनामा कैफियत भेटिएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा एक हजार ८८३ वटा नमुना परीक्षण गर्दा १० वटामा र आर्थिक वर्ष २०८०/८१ मा एक हजार ९४ वटा नमुना परीक्षण गर्दा सात वटामा मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको थियो।
प्रयोगशालाका नायव प्राविधिक सहायक गौरव चौधरीले परीक्षणको दायरा वर्षेनी विस्तार हुँदै गएकाले कैफियत भेटिने नमुनाको सङ्ख्या पनि केही बढेको बताउनुभयो। उहाँले बढी नमुना परीक्षण गरिएकाले कैफियत देखिने सम्भावना पनि स्वाभाविक रूपमा बढेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार गत आर्थिक वर्षमा कैफियत भेटिएका सबै नमुना बाँकेमै उत्पादन भएका तरकारीका हुन्। ती नमुनामा रायो, धनियाँ, पालुङ्गो साग र खुर्सानीमा मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको हो।
प्रयोगशालाले १२ वटा कैफियतयुक्त नमुनामध्ये ११ वटालाई ‘रेड लेबल’ र एउटा नमुनालाई ‘यल्लो लेबल’ वर्गीकरण गरेको जनाएको छ। ‘रेड लेबल’ प्राप्त तरकारी उपभोगका लागि अयोग्य मानिने भएकाले तत्काल बजारबाट हटाइन्छ भने ‘यल्लो लेबल’ प्राप्त तरकारी केही दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गरिन्छ। पुनः परीक्षणपछि विषादीको मात्रा सुरक्षित सीमाभित्र आएपछि मात्रै बजारमा बिक्री वितरण गर्न अनुमति दिइने व्यवस्था रहेको प्रयोगशालाले जनाएको छ।
नेपालगञ्जस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा बाँकेसहित विभिन्न जिल्लाबाट नेपालगञ्ज भित्रिने तथा भारतबाट आयात हुने तरकारी र फलफूलको नियमित रूपमा विषादी परीक्षण गरिन्छ। प्रयोगशालामा विशेषगरी अर्गानोफस्फेट र कार्बामेट समूहका विषादीको अवशेष परीक्षण गरिने गरिएको छ।
प्रयोगशालाका अनुसार नमुना सङ्कलनपछि सामान्यतया एकदेखि डेढ घण्टाभित्र परीक्षणको नतिजा उपलब्ध हुने व्यवस्था छ। यसले बजारमा पुग्नुअघि नै असुरक्षित तरकारी तथा फलफूलको पहिचान गरी उपभोक्ताको स्वास्थ्य संरक्षणमा सहयोग पुगेको प्रयोगशालाले जनाएको छ।
कृषि विज्ञहरूले किसानलाई विषादीको प्रयोग गर्दा सिफारिस गरिएको मात्रा, समय र विधि पालना गर्न तथा बाली टिप्नुअघि अनिवार्य रूपमा ‘वेटिङ पिरियड’ पूरा गर्न आग्रह गरेका छन्। यसो गर्न सके तरकारी तथा फलफूलमा विषादी अवशेषको मात्रा घट्ने र उपभोक्ताले सुरक्षित खाद्यवस्तु उपभोग गर्न पाउने विश्वास गरिएको छ।









