सुर्खेत ,६ साउन ।
कर्णाली प्रदेशमा कांग्रेस र नेकपाले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेसँगै सत्ता समीकरण नयाँ मोडमा पुगेको छ।
कांग्रेसले मुख्यमन्त्रीका लागि आफ्ना संसदीय दलका नेता जीवनबहादुर शाहीलाई अघि सारेको हो।
यता केन्द्रमा एमाले र नेकपाबीच सहकार्यको चर्चा चुलिँदै जाँदा प्रदेश कांग्रेसमा अन्योल बढेको देखिएको छ। कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले केन्द्रमा एमाले–नेकपा गठबन्धन बने कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्। उनले प्रदेशमा भने नेकपासँग सहकार्य जारी राख्न कांग्रेस सकारात्मक रहेको स्पष्ट पारे।
उता नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले केन्द्रबाट हालसम्म कुनै औपचारिक निर्देशन नआएको भन्दै आगामी निर्णय केन्द्रको राजनीतिक समीकरणमा निर्भर रहने संकेत दिएका छन्।









