बाँकेमा सिँचाइ पुगेका क्षेत्रमा धान रोपाइँ तीव्र, वर्षाको भरमा रहेका किसान अझै प्रतीक्षामा

  • नमस्ते कर्णाली

  • बाँके ,६ साउन ।

    बाँकेमा यस वर्ष मनसुन केही ढिलो सक्रिय भए पनि पछिल्ला दिनमा भएको वर्षासँगै धान रोपाइँले गति लिन थालेको छ। जिल्लाका सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा किसानले समयमै धान रोपाइँ सम्पन्न गरिसकेका छन् भने सिँचाइ नपुगेका गाउँमा किसान अझै पर्याप्त वर्षाको प्रतीक्षामा छन्। धान जिल्लाको प्रमुख खाद्यान्न तथा नगदे बाली भएकाले यसको उत्पादनले स्थानीय खाद्य सुरक्षा, किसानको आम्दानी र जिल्लाको कृषि अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।
    कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब ५५ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये करिब ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा हरेक वर्ष धान खेती हुँदै आएको छ। सामान्यतया बाँकेमा असारको दोस्रो सातादेखि भदौको पहिलो सातासम्म धान रोपाइँ हुने गर्दछ। तर यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै किसानले निर्धारित समयमा रोपाइँ गर्न सकेनन्।
    यद्यपि पछिल्ला केही दिनयता भएको वर्षा र सिँचाइ सुविधा उपलब्ध रहेका क्षेत्रमा रोपाइँले गति लिएको छ। हालसम्म जिल्लामा करिब ६५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाँकी क्षेत्रमा भने किसान अझै रोपाइँको चटारोमा छन्।
    जिल्लाको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य रहे पनि हालसम्म करिब २२ हजार ५०० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सेवा पुगेको छ। सिँचाइ पुगेका क्षेत्रमा किसानले धानसँगै हिउँदमा गहुँ, तरकारी तथा अन्य नगदे बाली पनि उत्पादन गर्न थालेका छन्। वर्षमा तीनवटासम्म बाली लगाउने अभ्यास बढेसँगै कृषि उत्पादन र किसानको आम्दानी दुवैमा उल्लेखनीय वृद्धि हुन थालेको सम्बन्धित निकायले जनाएको छ।
    राप्तीसोनारी गाउँपालिका–की चित्रा बिष्टले नहरबाट सहज रूपमा सिँचाइको पानी उपलब्ध हुने भएकाले वर्षमा तीनपटकसम्म खेती गर्न सकिएको बताउनुभयो। उत्पादन बढेसँगै परिवारको आम्दानी पनि वृद्धि भएको उहाँको भनाइ छ।
    त्यस्तै, राप्तीसोनारी गाउँपालिकाकी सीता चौधरीले सिँचाइ सुविधा पुगेपछि खेतीपाती धेरै सहज भएको बताउनुभयो। पानीको अभावका कारण पहिले जस्तो खेती गर्नुपर्ने बाध्यता हट्दै गएको र उत्पादनसमेत बढ्न थालेकाले किसानमा उत्साह थपिएको उहाँले जनाउनुभयो।
    कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख डा. विनोद घिमिरेले जिल्लामा धान रोपाइँ क्रमिक रूपमा बढिरहेको बताउनुभयो। उहाँका अनुसार सिँचाइ सुविधा भएका क्षेत्रमा अधिकांश किसानले रोपाइँ सम्पन्न गरिसकेका छन् भने सिँचाइको पहुँच नपुगेका स्थानका किसान अझै आकाशे पानीको भरमा रहेका छन्। पर्याप्त वर्षा भए बाँकी क्षेत्रको रोपाइँ पनि छिट्टै सम्पन्न हुने उहाँको विश्वास छ।
    असार महिना किसानका लागि धान रोपाइँको सबैभन्दा महत्वपूर्ण समय मानिन्छ। तर मौसमको अनिश्चितता र सिँचाइको सीमित पहुँचका कारण प्रत्येक वर्ष धेरै किसानले चुनौती सामना गर्नुपरेको छ। कृषि उत्पादन वृद्धि गर्न समयमै सिँचाइ सुविधा विस्तार, नहरको प्रभावकारी व्यवस्थापन तथा जलस्रोतको दीर्घकालीन उपयोग आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
    यस वर्ष पनि मनसुन पूर्ण रूपमा सक्रिय भएसँगै बाँकी क्षेत्रमा धान रोपाइँले थप गति लिने अपेक्षा गरिएको छ। पर्याप्त वर्षा र प्रभावकारी सिँचाइ व्यवस्थापन हुन सके बाँकेमा धान उत्पादन बढ्ने मात्र होइन, किसानको आम्दानी, खाद्य सुरक्षा र समग्र कृषि अर्थतन्त्रलाई समेत थप टेवा पुग्ने विश्वास गरिएको छ।

  • ६ श्रावण २०८३, बुधबार ०९:४० प्रकाशित

  • Nabintech