राष्ट्रिय परिचयपत्रका लागि सार्वजनिक बिदामा पनि खुल्ने जिल्ला प्रशासन कार्यालय बाँके

  • नमस्ते कर्णाली

  • बाँके ,८ साउन ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सार्वजनिक बिदाका दिन पनि सञ्चालन गर्ने भएको छ। पछिल्ला केही दिनयता राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेपछि कार्यालयले आगामी साउन ९ र १० गते (शनिबार र आइतबार) समेत सेवा उपलब्ध गराउने निर्णय गरेको हो।
    कार्यालयका अनुसार सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवा सञ्चालन गरिनेछ। यस व्यवस्थाले बिदाका दिन मात्रै समय मिल्ने सेवाग्राहीलाई पनि सहज रूपमा सेवा लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
    सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले सेवाप्रवाहलाई थप प्रभावकारी र सहज बनाउन सार्वजनिक बिदामा पनि कार्यालय खुला राखेर राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने व्यवस्था गरिएको बताउनुभयो।
    “पछिल्लो समय राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ,” उहाँले भन्नुभयो, “सेवा प्रवाहलाई सहज बनाउन सार्वजनिक बिदाका दिन पनि कार्यालय सञ्चालन गरी सेवा दिने व्यवस्था मिलाएका छौं।”
    उहाँले राष्ट्रिय परिचयपत्र बनाउन वा विवरण दर्ता गराउन इच्छुक सेवाग्राहीलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई सेवा लिन आग्रह गर्नुभएको छ।
    जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदामा समेत सेवा सञ्चालन गर्ने निर्णयसँगै सेवाग्राहीको भीड व्यवस्थापनमा सहजता आउने, लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने तथा राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण दर्ता अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

  • ८ श्रावण २०८३, शुक्रबार ११:१५ प्रकाशित

  • Nabintech