बिचौलियामुक्त राहदानी सेवा : बर्दियामा आधा घण्टामै सेवा, सेवाग्राही सन्तुष्ट

  • नमस्ते कर्णाली

  • बर्दिया ,९ साउन ।
    जिल्ला प्रशासन कार्यालय बर्दियाले राहदानी सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र पूर्ण रूपमा बिचौलियामुक्त बनाउँदै सेवाग्राहीले सहज, छिटोछरितो र झन्झटरहित सेवा पाउन थालेको जनाएको छ। कार्यालयले अपनाएको शून्य सहनशीलता नीति, प्रविधिको प्रयोग तथा सेवामैत्री व्यवस्थापनका कारण सेवाग्राहीले प्रत्यक्ष रूपमा लाभ लिन थालेका छन्।
    कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ७ हजार ८ सय ८४ वटा राहदानी वितरण गरिएको छ। तीमध्ये ५ हजार ७ सय ३ जना पुरुष, २ हजार ८८ जना महिला तथा ९३ जना नाबालकलाई राहदानी सेवा प्रदान गरिएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ७ सय ९७ र आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ५ सय ४५ वटा राहदानी वितरण गरिएको उहाँले जानकारी दिनुभयो।
    हाल कार्यालयमा दैनिक औसत ५० देखि ५५ जना सेवाग्राही राहदानीका लागि आवेदन दिन आउने गरेका छन्। केही दिनअघि राहदानी विभागले नयाँ प्रणाली अद्यावधिक गर्दा ५ देखि ७ दिन सेवा प्रभावित भएकाले केही भिड बढे पनि अहिले सेवा नियमित रूपमा सञ्चालन भइरहेको ढकालले बताउनुभयो।
    उहाँका अनुसार अनलाइन फाराम र भौचर सही ढंगले तयार भएको अवस्थामा कुनै प्राविधिक समस्या नआए करिब ३० मिनेटभित्रै राहदानीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा हुने व्यवस्था गरिएको छ।
    सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै अनलाइन फाराममा भएका सामान्य त्रुटि कार्यालयमै सच्याउन सकिने व्यवस्था गरिएको छ। साथै बैंकमा धाउनुपर्ने झन्झट हटाउन कार्यालय परिसरमै नेपाल रेडक्रस सोसाइटीमार्फत भौचर भर्ने सुविधा उपलब्ध गराइएको छ। राहदानी बनाउने क्रममा कुनै समस्या आएमा ह्वाट्सएप समूहमार्फत राहदानी विभागसँग तत्काल समन्वय गरी समाधान गर्ने व्यवस्था पनि मिलाइएको कार्यालयले जनाएको छ।
    त्यसैगरी सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत राहदानी बनाउन आउने सेवाग्राहीलाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श, ठगीबाट जोगिने उपाय तथा आधिकारिक माध्यमबाट मात्रै रकम भुक्तानी गर्नुपर्ने विषयमा नियमित रूपमा सचेतना प्रदान गरिँदै आएको छ।
    कार्यालयले बिचौलियाको प्रवेशमा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ। कुनै समस्या परे सेवाग्राहीले सम्बन्धित कर्मचारी, सहायक प्रमुख जिल्ला अधिकारी वा प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष सम्पर्क गरी तत्काल समाधान पाउने व्यवस्था मिलाइएको छ।
    गुलरिया–६ का सेवाग्राही रामप्रसाद थारूले पहिले राहदानी बनाउन धेरै झन्झट हुने सुनिए पनि अहिले कार्यालयमै आवश्यक जानकारी पाएर छोटो समयमै काम सम्पन्न भएको बताउनुभयो। “कुनै बिचौलियाको खोजी गर्नुपरेन, कर्मचारीले नै आवश्यक सहयोग गर्नुभयो। छिटो सेवा पाएपछि निकै सहज महसुस भयो,” उहाँले भन्नुभयो।
    यस्तै बारबर्दिया नगरपालिका–४ की सरिता चौधरीले प्रविधिमैत्री सेवा र कर्मचारीको सहयोगी व्यवहारका कारण राहदानी बनाउन सजिलो भएको बताउनुभयो। “अनलाइन फाराममा भएको सामान्य गल्ती पनि कार्यालयमै सच्याइदिए। बैंक धाउनुपरेन, सबै प्रक्रिया एउटै ठाउँबाट पूरा भयो। बिचौलियामुक्त वातावरण भएकाले ढुक्क भएर सेवा लिन पाइयो,” उहाँले बताउनुभयो।
    जिल्ला प्रशासन कार्यालय बर्दियाले सेवाप्रवाहलाई अझ सरल, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ प्रविधिको अधिकतम प्रयोग, बिचौलियामाथिको कडाइ र सेवाग्राहीमैत्री व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।

  • ९ श्रावण २०८३, शनिबार ०७:२७ प्रकाशित

  • Nabintech