पहिरोमा पुरिएर ३ वर्षीय बालकको मृत्यु, दम्पती घाइते, पुलु बजारका ८ घर उच्च जोखिममा

  • नमस्ते कर्णाली

  • मुगु- मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शुक्रबार बिहान पहिरो खस्दा एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाका अनुसार बिहान करिब ४:०० बजे पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल व्यवसाय सञ्चालन गर्दै बसिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्प निवासी ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो।

    घटनामा जगनाथ र सृजनालाई सामान्य चोट लागेको छ। उनीहरू आफैं उपचारका लागि पुलु स्वास्थ्य चौकी पुगेका छन् र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

     

    पहिरोमा च्यापिएका ३ वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको कमाण्डमा खटिएको ५ सदस्यीय प्रहरी टोली र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्‍याएका थिए। प्रारम्भिक अवस्थामा उनको अवस्था मध्यम रहेको बताइएको थियो।

    तर बिहान करिब ५:४५ बजे उपचारकै क्रममा चिकित्सकले रमेश बडुवालको मृत्यु भएको पुष्टि गरेका छन्।

    पहिरोले उनीहरू बस्दै आएको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। साथै घटनास्थल आसपासका अन्य ८ वटा घर पनि उच्च जोखिममा परेका छन्। जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। अधिकांशलाई पुलु बजारस्थित आफन्तको घरमा राखिएको छ भने ७,८ जनालाई पुलु स्वास्थ्य चौकीमा अस्थायी रूपमा आश्रय दिइएको छ।

    घटनास्थल प्रहरी चौकी डोल्फु पुलुबाट करिब ३०० मिटर पश्चिममा पर्छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

  • ९ श्रावण २०८३, शनिबार ०८:०२ प्रकाशित

  • Nabintech