विश्वासको मतअघि नै मुख्यमन्त्री कँडेलको राजीनामा, कर्णाली सरकार परिवर्तनको बाटो खुला

  • नमस्ते कर्णाली

  • सुर्खेत,१०साउन ।
    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने प्रक्रियाअघि नै पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने अवस्था देखिएपछि उहाँले शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्नुभएको हो।
    नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमाथि शुक्रबार दिउँसो प्रदेशसभामा छलफल हुने कार्यसूची रहे पनि आवश्यक बहुमत प्राप्त हुने सम्भावना नदेखिएपछि उहाँले पद त्याग गर्ने निर्णय गर्नुभएको हो।
    प्रदेशसभा बैठकमा धारणा राख्दै मुख्यमन्त्री कँडेलले आफूले प्रदेश प्रमुखसमक्ष पुगेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जानकारी दिनुभयो। उहाँले पद वा कुर्सीभन्दा जनताको सेवा र प्रदेशको विकास आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वमा सरकारले पूर्वाधार विकास, सुशासन र सेवा प्रवाह सुधारका क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्नुभयो।
    मुख्यमन्त्री कँडेल पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। त्यसपछि केन्द्रको राजनीतिक समीकरण परिवर्तनसँगै नेपाली कांग्रेससँग भएको सत्ता सहमतिअनुसार २०८१ साउन २१ गतेदेखि कांग्रेसको समर्थनमा पुनः सरकारको नेतृत्व गर्दै आउनुभएको थियो।
    तर पछिल्लो समय सत्ता साझेदार दलहरूबीचको सहकार्य टुटेपछि सरकार अल्पमतमा परेको थियो। गत असार ३१ गते कांग्रेसका तर्फबाट सरकारमा सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएसँगै सरकार संकटमा परेको थियो। त्यसलगत्तै कांग्रेस र नेकपाले संयुक्त रूपमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
    ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित नेकपा एमालेका १० तथा राप्रपा र एक स्वतन्त्र सांसद गरी १–१ सदस्य रहेका छन्। सरकार गठनका लागि कम्तीमा २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्ने संवैधानिक व्यवस्था छ।
    अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री कँडेलको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

  • १० श्रावण २०८३, आईतवार १३:५४ प्रकाशित

  • Nabintech