कर्णालीमा कामचलाउ सरकार, मुख्यमन्त्री कँडेलको राजीनामा स्वीकृत; नयाँ सरकार गठनको प्रक्रिया सुरु

  • नमस्ते कर्णाली

  • सुर्खेत ,१० साउन ।

    कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्ले नै दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोक्नुभएको छ।
    प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म हालको मन्त्रिपरिषद्ले कामचलाउ सरकारका रूपमा कार्य सञ्चालन गर्ने व्यवस्था गरिएको हो।
    यसैबीच, प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री यामलाल कँडेलले पेश गर्नुभएको राजीनामा स्वीकृत गर्दै संविधानबमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख कार्यालयका सचिव तथा प्रवक्ता भीमराज थानीले जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी दिनुभएको हो।


    मुख्यमन्त्री कँडेलले शनिबार प्रदेश सभालाई सम्बोधन गर्दै नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएको थियो।
    मुख्यमन्त्रीको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। नयाँ सरकार गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्ले कामचलाउ सरकारका रूपमा नियमित प्रशासनिक तथा आवश्यक कार्यहरू सञ्चालन गर्नेछ।

  • १० श्रावण २०८३, आईतवार १४:०२ प्रकाशित

  • Nabintech