१२ वर्षमा २५ प्रतिशत मात्र प्रगति : कर्णाली तटबन्ध निर्माण सुस्त, राजापुर–गेरुवाका बस्ती अझै बाढी र कटानको उच्च जोखिममा

  • नमस्ते कर्णाली

  • बाँके ,११ साउन

    कर्णाली नदीमा कटान नियन्त्रण तथा बाढी व्यवस्थापनका लागि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको तटबन्ध निर्माण आयोजना १२ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। योजनाअनुसार निर्माण हुनुपर्ने ७१ किलोमिटर तटबन्धमध्ये हालसम्म करिब २२ किलोमिटर मात्रै निर्माण भएको छ, जसका कारण राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका दर्जनौँ बस्ती अझै बाढी र कटानको उच्च जोखिममा रहेका छन्।
    साविक कर्णाली नदी नियन्त्रण व्यवस्थापन आयोजना राजापुर, हालको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना अन्तर्गत सञ्चालित उक्त आयोजनाको उद्घाटन तत्कालीन सिँचाइ मन्त्री एमपी साउँदले २०७१ फागुन १५ गते गर्नुभएको थियो। गुरुयोजनाअनुसार कर्णाली नदी र यसको भंगालो गेरुवा नदीमा तटबन्ध निर्माणका लागि १२ अर्ब ८० करोड ७४ लाख रुपैयाँ बजेट स्वीकृत गरिएको थियो।
    आयोजनाले पाँच वर्षभित्र ७१ किलोमिटर तटबन्ध निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि २०८३ असारसम्म आइपुग्दा करिब २२ किलोमिटर अर्थात् करिब २५ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाएको छ।
    कर्णाली नदीको कटानबाट खेतीयोग्य जमिन जोगाउने तथा वर्षेनी हुने बाढीबाट जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले आयोजना स्थापना गरिएको थियो। तर निर्माण कार्य सुस्त गतिमा अघि बढ्दा राजापुर र गेरुवाका बासिन्दाले प्रत्येक वर्ष बाढी र कटानको त्रास खेप्दै आएका छन्।
    राजापुर नगरपालिका–४ का किसान हरिप्रसाद थारुले तटबन्ध निर्माण समयमै सम्पन्न नहुँदा वर्षायाममा सुरक्षित महसुस गर्न नसकेको बताउनुभयो। उहाँले वर्षेनी नदी कटान र बाढीका कारण खेतीपातीसँगै बस्तीसमेत जोखिममा पर्ने गरेको भन्नुभयो।
    आयोजनाका अनुसार हालसम्म करिब २ अर्ब ८० करोड रुपैयाँभन्दा बढी खर्च गरेर १६८ वटा स्पर तथा २७ स्थानमा बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको छ। राजापुर–४ स्थित दलईघाट क्षेत्र कर्णाली नदीको सबैभन्दा बढी कटान र बाढी जोखिम भएको क्षेत्रका रूपमा चिनिएको छ।
    आयोजना प्रमुख सुदिन मुक्तानले पर्याप्त बजेट अभावकै कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको जनाउनुभयो। उहाँले वार्षिक रूपमा आवश्यक बजेटको तुलनामा ८–९ करोड रुपैयाँ मात्र निकासा हुने गरेको उल्लेख गर्दै त्यसकै कारण तटबन्ध निर्माण सुस्त बनेको बताउनुभयो।
    राजापुर नगरपालिका–३ का लक्षमण थारुले ठूलो बाढी आए मुक्त कमैया बस्ती, राजापुर बजार, संघर्षनगरलगायत दर्जनौँ बस्ती डुबानमा पर्ने जोखिम रहेको भन्नुभयो। उहाँले सत्तीघाटस्थित कर्णाली पुलको पश्चिमतर्फ कटान बढ्दै गए आवागमनसमेत अवरुद्ध हुन सक्ने अवस्था रहेको बताउनुभयो। समयमै प्रभावकारी संरक्षणका काम नभए बाढी र कटानले ठूलो क्षति पुर्‍याउने उहाँको भनाइ छ।
    यस्तै, गेरुवा गाउँपालिका–२ को राजीपुर, बनघुस्रा, टिकुलीगढलगायतका बस्ती पनि बाढी र कटानको उच्च जोखिममा रहेका छन्। गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले प्रत्येक वर्ष वर्षायाममा बाढीका कारण दर्जनौँ बस्ती डुबानमा पर्ने र स्थानीय बासिन्दा विस्थापित हुने गरेको बताउनुभयो। उहाँले रोपाइँ गरिएको धानबालीसमेत डुबानमा परेर किसानले ठूलो क्षति बेहोर्नुपरेको जनाउनुभयो। तटबन्ध निर्माण अझै पूरा हुन नसक्दा यस क्षेत्रका बासिन्दा हरेक वर्ष असुरक्षित अवस्थामा जीवनयापन गर्न बाध्य भएको उहाँले भन्नुभयो।
    स्थानीयवासीले सरकारले स्वीकृत गुरुयोजनाअनुसार आवश्यक बजेटको सुनिश्चितता गर्दै तटबन्ध निर्माणलाई तीव्रता दिनुपर्ने माग गरेका छन्। समयमै निर्माण सम्पन्न हुन सके कर्णाली नदीबाट हुने कटान, डुबान र त्यसबाट हुने जनधन तथा कृषि उत्पादनको क्षतिलाई उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिने विश्वास स्थानीयको छ।

  • ११ श्रावण २०८३, सोमबार १०:१० प्रकाशित

  • Nabintech