सवारी दुर्घटनापछि जीवनसँग संघर्ष गर्दै निरन्जन, थप उपचारका लागि सहयोगको याचना

  • नमस्ते कर्णाली

  • बाँके,१२ साउन ।

    बैजनाथ गाउँपालिका–३ पुल्चोक निवासी २५ वर्षीय निरन्जन कुमार एम एक वर्षदेखि उपचार खर्चको अभावमा पीडादायी जीवन बिताइरहेका छन्। गत साउनमा कोहलपुरमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका निरन्जनको उपचारका लागि परिवारले भएका गरगहना बिक्री गर्नुका साथै घरजग्गा धितो राखेर भारतको लखनउस्थित मर्सी अस्पताल एन्ड ट्रमा सेन्टरमा उपचार गराएको थियो।
    उनको उपचारमा हालसम्म करिब १८ लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ। यति ठूलो रकम खर्च गर्दासमेत उपचार अझै पूरा हुन नसकेको र आर्थिक अभावका कारण उनी विगत एक वर्षदेखि घरमै बस्न बाध्य भएका छन्।
    निरन्जनकी श्रीमती २४ वर्षीया दुर्गा जैसीका अनुसार हाल पनि दैनिक ड्रेसिङ गर्नुपर्ने भएकाले दिनहुँ करिब ७०० रुपैयाँ खर्च हुने गरेको छ। “हिजो मात्रै घरमा रहेको साइकल बेचेर ड्रेसिङको खर्च जुटायौं,” उनले भावुक हुँदै बताइन्।
    परिवारका एकमात्र कमाउने सदस्य रहेका निरन्जन अहिले आफैं हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन्। चिकित्सकले उनको खुट्टामा थप शल्यक्रिया गरी प्लेट राख्नुपर्ने र त्यसका लागि करिब ५ लाख रुपैयाँ आवश्यक पर्ने बताएका छन्।
    आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले आवश्यक उपचार गर्न नसकेको भन्दै निरन्जनको परिवारले सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ। सहयोग गर्न इच्छुक व्यक्तिहरूले निरन्जनकी श्रीमती दुर्गा जैसीको एनआईसी एशिया बैंक खातासँग जोडिएको क्यूआरमार्फत सहयोग गर्न सक्ने परिवारले जनाएको छ।
    थप जानकारीका लागि दुर्गा जैसीलाई ९८१६५८३८२४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

  • १२ श्रावण २०८३, मंगलवार ०७:२५ प्रकाशित

  • Nabintech