बर्दिया,१५ साउन ।
बर्दियाको मधुवन नगरपालिकास्थित ग्रामीण महिला सामुदायिक वन उपभोक्ता समूहले दुना–टपरी उद्योगलाई थप प्रभावकारी र दिगो बनाउन महिलाहरूका लागि सीप विकास तालिम सञ्चालन गरेको छ। तालिमले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै घरमै बसेर आयआर्जन गर्ने अवसर सिर्जना गरेको छ।
गत वर्षदेखि सञ्चालनमा रहेको दुना–टपरी उद्योगमा आबद्ध महिला समूहको क्षमता अभिवृद्धि तथा थप महिलालाई उद्योगसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको ग्रामीण महिला सामुदायिक वन उपभोक्ता समूहकी सचिव ओम घर्तीले जानकारी दिनुभयो।
उहाँका अनुसार सामुदायिक वनका उपभोक्ता परिवारका २८ जना महिलालाई दुना–टपरी निर्माणसम्बन्धी तालिममा सहभागी गराइएको छ। तालिमपछि उनीहरूले घरमै बसेर दुना–टपरी तथा लाफा तयार गरी उद्योगमा बिक्री गर्न सक्नेछन्, जसबाट नियमित आम्दानीको अवसर प्राप्त हुनेछ।
सामुदायिक वनमा खेर गइरहेका सालका पातको सदुपयोग गर्दै गत असोजदेखि उद्योग सञ्चालनमा आएको हो। हाल उद्योगमा १० जना महिला प्रत्यक्ष रूपमा संलग्न छन् भने तालिमपछि थप महिलाहरू पनि उत्पादनमा जोडिने अपेक्षा गरिएको छ।
उद्योगले महिलाहरूले घरमै तयार गरेका हाते दुना–टपरी खरिद गर्ने गरेको छ। मेसिनबाट उत्पादन हुने दुना–टपरीका लागि आवश्यक लाफा पनि स्थानीय महिलाबाटै खरिद गरिन्छ। उत्पादन संकलनपछि उद्योगले प्याकेजिङ गरी बजारमा पठाउने व्यवस्था मिलाएको सचिव घर्तीले बताउनुभयो।
“सबै महिला उद्योगसम्म आउन सक्ने अवस्था हुँदैन। त्यसैले घरमै बसेर दुना–टपरी बनाउने र त्यसबाट आम्दानी गर्ने व्यवस्था गरेका छौँ। यसले धेरै महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ, अब यो संख्या अझै बढ्नेछ,” सचिव घर्तीले भन्नुभयो।
दुना–टपरी उद्योगले महिलाहरूको सीप विकाससँगै उनीहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ। घरधन्दा र पारिवारिक जिम्मेवारीसँगै महिलाहरूले अतिरिक्त आम्दानी गर्न थालेपछि उनीहरूको आत्मविश्वास बढेको छ भने परिवारको आर्थिक अवस्थामा समेत सकारात्मक सुधार देखिन थालेको छ।
सामुदायिक वनको स्रोतको दिगो उपयोग गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको यस उद्योग स्थापना तथा प्रवर्द्धनका लागि सम्बर्द्धन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। उक्त परियोजना युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग, आड्रा नेपालको समन्वय तथा एनसाव, नेपाली बी ग्रुप र फेकोफनको साझेदारीमा सञ्चालन भइरहेको छ।









