जुम्ला ,१५ साउन ।
जुम्लाको पहिचानका रूपमा स्थापित जुम्ली स्याउको ब्रान्ड अहिले जोखिममा परेको छ। सामान्यतया भदौको पहिलो सातापछि मात्र टिप्नुपर्ने स्याउ यस वर्ष करिब एक महिना अगावै बगैंचाबाट बजारतर्फ पठाउन थालिएपछि यसको गुणस्तर र पहिचानप्रति चिन्ता बढेको हो। कृषि प्राविधिकहरूले यसलाई जुम्ली स्याउको प्रतिष्ठामाथिको गम्भीर चुनौतीका रूपमा लिएका छन् भने स्थानीय प्रशासनले पनि समयअघि स्याउ निर्यात नगर्न किसान तथा व्यापारीलाई आग्रह गरेको छ।
हरेक वर्ष वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्ग पहिरोका कारण पटक–पटक अवरुद्ध हुने समस्या दोहोरिन्छ। स्याउ पाक्ने समय र सडक अवरुद्ध हुने समय लगभग एउटै पर्ने भएकाले किसान उत्पादन बजारसम्म पुग्ने सुनिश्चितताबाट वञ्चित हुने गरेका छन्। जुम्लामा पर्याप्त कोल्डस्टोरको अभाव, मूल्य स्थिर राख्ने प्रभावकारी सरकारी संयन्त्र नहुनु तथा बजारको अनिश्चितताले किसानलाई पूर्ण रूपमा नपाकेको स्याउ नै टिपेर बजार पठाउन बाध्य बनाएको छ।
चन्दननाथ नगरपालिका–८ र ९ का विभिन्न बगैंचामा अहिले काँचो स्याउ टिप्ने र प्याकिङ गर्ने काम भइरहेको छ। नगरपालिकाको कृषि शाखाले अनुगमनका क्रममा उपकरणमार्फत गरिएको गुणस्तर परीक्षणमा स्याउमा आवश्यक रङ, स्वाद र परिपक्वता नआएको पाइएको जनाएको छ। त्यसपछि किसानलाई तत्काल काँचो स्याउ बजारमा नपठाउन आग्रह गरिएको छ।
हिमा गाउँपालिका–३ मोफ्ला गाउँका किसान गोपाल रोकायाले अहिले स्याउ टिप्ने उपयुक्त समय नभएको बताउँछन्। उनका अनुसार स्याउको स्वाद अझै टर्रो, आकार सानो र रङ हरियो नै रहेकाले यस्ता फल बजारमा पुगे जुम्ली स्याउको गुणस्तरप्रति उपभोक्ताको विश्वास कमजोर हुन सक्छ। उनले पूर्ण रूपमा पाकेपछि मात्र स्याउ निर्यात गर्नुपर्नेमा जोड दिए।
यद्यपि किसान र व्यापारीको तर्क फरक छ। उनीहरूका अनुसार ढिलो गर्दा भारत र चीनबाट आयात हुने स्याउले बजार ओगट्ने खतरा हुन्छ। त्यसमाथि कर्णाली राजमार्ग बन्द भए उत्पादन बगैंचामै थन्किने अवस्था आउने भएकाले जोखिम मोलेरै भए पनि सिजन सुरु हुनुअघि बजार समाउनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।
चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष भीमबहादुर रावलले काँचो स्याउको निकासी रोक्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय सुरु गरिएको जानकारी दिए। उनका अनुसार स्थानीय सरकार, कृषि कार्यालय, व्यापारी तथा अन्य सरोकारवालासँग संयुक्त छलफल गरी आवश्यक निर्णय लिने तयारी भइरहेको छ। कर्णाली राजमार्गअन्तर्गत लाम्रा, कुडारी, रारालिही र नाग्म प्रहरी चौकीलाई पनि काँचो स्याउ ढुवानी रोक्न अनुरोध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जुम्लाभर एउटै नीति लागू हुनुपर्ने आवश्यकता औँल्याउँदै अहिले स्याउ निर्यात गर्नु उपयुक्त नभएको बताए। उनले वडाबाट जथाभावी सिफारिस नदिन आग्रह गर्दै कलिलो स्याउ बजारमा पुगे जुम्ली स्याउको ब्रान्डमै नकारात्मक असर पर्ने चेतावनी दिए।
जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार भदौको पहिलो सातापछि मात्र स्याउ टिप्न उपयुक्त हुन्छ। उनले जुम्ली स्याउको न्यूनतम मूल्य निर्धारणको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै यसको पहिचान जोगाउन पूर्ण रूपमा पाकेको स्याउ मात्र बजारमा पठाउनुपर्ने बताए।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा करिब ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। हजारौँ परिवारको मुख्य आयस्रोत बनेको जुम्ली स्याउ अहिले उत्पादनभन्दा बढी व्यवस्थापनको समस्यासँग जुधिरहेको छ।
जुम्ली स्याउको पहिचान जोगाउने जिम्मेवारी किसानको मात्र होइन, राज्यको पनि हो। सडक पूर्वाधार, भण्डारण सुविधा, बजार व्यवस्थापन र उचित मूल्य सुनिश्चित गर्न समयमै प्रभावकारी नीति तथा लगानी हुन नसके वर्षौँको मेहनतले स्थापित जुम्ली स्याउको ब्रान्डलाई सबैभन्दा ठूलो क्षति नीतिगत कमजोरीले पुर्याउने देखिन्छ।









