मुगु, साउन २१
मुगु र हुम्लालाई जोड्ने कर्णाली नदीमाथि सोरु गाउँपालिका- १० र ११ अन्तर्गत पर्ने दोमुख-सिनेखर्क क्षेत्रमा बेलीब्रिज निर्माण हुने सुनिश्चित भएको छ। लामो समयदेखि मोटरेबल पुल निर्माण अलपत्र परिरहेका बेला तत्कालका लागि बेलीब्रिज निर्माण गर्ने प्रक्रिया अघि बढेसँगै स्थानीयवासीमा खुसी छाएको छ।
सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको पहलमा बेलीब्रिज जडानका लागि आवश्यक संरचना निर्माण, जडान तथा ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने प्रतिबद्धतासहित सडक विभाग चाकुपाट ललितपुरमा प्रस्ताव पेश गरिएको थियो। सोही पहलपछि हुम्लाको खार्पुनाथ गाउँपालिका-स्थित चुवाखोलामा रहेको कर्णाली नदीको बेलीब्रिज दोमुखमा स्थानान्तरण गर्ने विषयमा कर्णाली प्रदेश तथा सम्बन्धित निकायको समन्वयमा २०८३ साउन १४ गते सहमति प्राप्त भएको जनाइएको छ।

दोमुखमा बेलीब्रिज निर्माण भएपछि सोरु गाउँपालिकाको धैन क्षेत्र, हुम्लाको अदान्चुली गाउँपालिका तथा कर्णाली करिडोरसँग जोडिएका बस्तीहरूको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। वर्षायाममा नदीका कारण शिक्षा, स्वास्थ्य, व्यापार, आपत्कालीन सेवा तथा दैनिक आवागमनमा स्थानीयले भोग्दै आएको सास्तीसमेत अन्त्य हुने विश्वास गरिएको छ।
स्थानीयका अनुसार बेलीब्रिज सञ्चालनमा आएपछि कर्णाली करिडोर हुँदै रारा जाने छोटो मार्गसमेत थप सहज बन्नेछ। यसबाट स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढ्ने तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि प्रतिक्षा गरिएको दोमुख मोटरेबल पुल निर्माण कार्य अलपत्र परिरहेको अवस्थामा तत्काल नागरिकलाई सेवा उपलब्ध गराउने उद्देश्यले बेलीब्रिज निर्माणको निर्णय भएको हो। सडक विभागले बेलीब्रिज उपलब्ध गराउने तथा आवश्यक संरचना निर्माण र जडान खर्च सोरु गाउँपालिकाले व्यहोर्ने सहमति भएको जनाइएको छ।
यस उपलब्धिका लागि स्थानीयवासीले सोरु गाउँपालिकाका, सडक विभाग, पूर्वाधार विकास कार्यालय मुगु, जिल्ला समन्वय समिति मुगु, कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय, संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चारकर्मी तथा यस विषयमा निरन्तर आवाज उठाउने सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। स्थानीयले यो बेलीब्रिज निर्माणले मुगु र हुम्लाका हजारौँ नागरिकको दैनिक जीवन सहज बनाउने विश्वास व्यक्त गरेका छन्।










