बर्दिया ,२२ साउन ।
बर्दिया अस्पतालमा हेमोडायलाइसिस सेवा सञ्चालनमा आएपछि मिर्गौलाका बिरामीले उपचारका लागि नेपालगञ्ज, कोहलपुर वा काठमाडौं धाउनुपर्ने बाध्यता धेरै हदसम्म कम भएको छ। जिल्लामै सेवा उपलब्ध भएपछि बिरामीको समय, खर्च र पारिवारिक तनाव घटेको छ। तर, सेवा प्रभावकारी बन्दै गएसँगै बिरामीको चाप पनि उल्लेख्य रूपमा बढेकाले सीमित मेसिनका कारण धेरै बिरामीले अझै पालो कुर्नुपर्ने अवस्था रहेको छ।
गुलरिया नगरपालिका–६ का मिर्गौला रोगी अर्जुन गोडिया डायलाइसिसका लागि तीन दिनदेखि पालो कुरिरहेका छन्। नियमित कक्षमा पालो नपाएपछि उनी तीन दिनपछि अस्पतालको आकस्मिक कक्षबाट उपचार गराइरहेका छन्। यस्तै, राजापुर नगरपालिका–३ का लखन थारुले बर्दिया अस्पतालमा समयमै सेवा नपाएपछि नेपालगञ्ज पुगेर डायलाइसिस गराउन बाध्य भएका छन्।
बर्दिया अस्पतालमा हाल दैनिक ६ वटा डायलाइसिस मेसिनमार्फत सेवा सञ्चालन भइरहेको छ। तीमध्ये एउटा मेसिन आकस्मिक सेवाका लागि छुट्याइएको छ भने पाँच वटा मेसिनबाट नियमित रूपमा दैनिक १२ जनाभन्दा बढी बिरामीले सेवा लिइरहेका छन्। अस्पतालमा भने दैनिक १० देखि १५ जना नयाँ तथा नियमित बिरामी डायलाइसिसका लागि आउने गरेका छन्।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा २०८१ वैशाख ११ गते पहिलो पटक बर्दियामा हेमोडायलाइसिस सेवा सञ्चालनमा आएको हो। यसअघि उपचारका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता रहेका बिरामीले अहिले आफ्नै जिल्लामा सेवा पाउँदा आर्थिक भार र यात्रा कठिनाइबाट राहत महसुस गरेका छन्।
स्टाफ नर्स सृजना सुनारका अनुसार एउटा बिरामीको डायलाइसिस गर्न करिब चार घण्टा समय लाग्छ र मेसिन सातामा छ दिन सञ्चालन गरिन्छ। आकस्मिक कक्षमा दैनिक दुईदेखि तीन जना बिरामी आउने भएकाले नियमित बिरामीको पालो व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनले बताइन्। बिरामीको संख्या निरन्तर बढ्दै जाँदा कतिपयले समयमै पालो नपाएर नेपालगञ्ज, कोहलपुर वा काठमाडौं पुगेर महँगो खर्चमा उपचार गराउनुपर्ने अवस्था अझै कायम रहेको छ।
बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयले हालका ६ वटा मेसिन सञ्चालनका लागि एक जना मेडिकल अधिकृत, दुई जना स्टाफ नर्स, एक जना बायोटेक्निसियन र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको जानकारी दिए। उनले थप ६ वटा डायलाइसिस मेसिन तथा आवश्यक जनशक्ति उपलब्ध भए जिल्लाका सबै बिरामीलाई समयमै सेवा दिन सकिने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने बताए।
उनका अनुसार हालको मेसिन संख्या बिरामीको चापअनुसार पर्याप्त छैन। डायलाइसिस कक्ष नजिक बिरामीका लागि शौचालय निर्माणको आवश्यकता पनि रहेको उनले औंल्याए। एउटा डायलाइसिस मेसिन खरिद गर्न २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएकाले अस्पतालले आफ्नै स्रोतबाट थप मेसिन व्यवस्थापन गर्न कठिन हुने उनले बताए।
बर्दियामा डायलाइसिस सेवा सुरु हुनु जिल्लावासी मिर्गौला रोगीका लागि ठूलो उपलब्धि बनेको छ। तर, बढ्दो सेवाग्राहीको आवश्यकतालाई सम्बोधन गर्न थप मेसिन, दक्ष जनशक्ति र आवश्यक पूर्वाधार विस्तार गर्न सके जिल्लामै सहज, गुणस्तरीय र समयमै उपचार सेवा सुनिश्चित हुने विश्वास गरिएको छ। यसले बिरामीको आर्थिक भार घटाउनुका साथै उपचारका लागि टाढा धाउनुपर्ने बाध्यताको पूर्ण अन्त्य गर्न पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।









