सुर्खेत, २२ साउन ।
लोपोन्मुख जाति राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राउटे समुदायका मुखियामध्येका एक प्रकाश शाहीकी आमा ६५ वर्षीया फलाटो शाही छन् । राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार शाही लामो समयदेखि दीर्घरोगी थिइन् । उनको बिहीबार बिहान मृत्यु भएको हो । शाहीको मृत्यु भएसँगै अब राउटेको जनसंख्या १ सय ३२ मा झरेको छ । परापूर्वकालदेखि जंगलमा घुमन्ते जीवन बिताउने राउटेहरू मुख्यतः जाजरकोट, दैलेख, सल्यान, सुर्खेत, अछाम र दाङ आसपासका क्षेत्रमा बसोबास गर्दै आएका छन् । अहिले राउटेहरू पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलामा बस्दै आएका छन् । अस्वस्थ जीवनशैली र गुणस्तरहीन मदिराका कारण राउटेहरूको जनसंख्या पछिल्ला केही वर्षयता तीव्र रूपमा घट्दै गएको छ ।









