बाँके ,२३ साउन ।
कर्णाली विकास बैङ्कमा तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढीको आर्थिक हिनामिना गरेको आरोपमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तत्कालीन सीईओ निरजविक्रम शाह, उहाँकी पत्नी शुभेच्छा श्रेष्ठ तथा कर्णाली विकास बैङ्कको नेपालगञ्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्। उनीहरूलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो।
उहाँका अनुसार कर्णाली विकास बैङ्कमा आर्थिक हिनामिना गरेको आरोपमा फरार रहेका उनीहरूलाई अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि अदालतमा उपस्थित गराइएको हो।
प्रहरीका अनुसार सोही घोटाला प्रकरणमा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको समेत खोजी कार्य जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कर्णाली विकास बैङ्कमा तीन अर्ब २० करोड ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको निष्कर्षसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो। अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुर, नेपालगञ्जस्थित वाणिज्य इजलासमा १०९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
यसअघि सोही प्रकरणमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, बैङ्कका पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र तथा वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरी पक्राउ परेका थिए। उच्च अदालत तुलसीपुर, नेपालगञ्जस्थित वाणिज्य इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उनीहरू हाल पनि नेपालगञ्ज कारागारमा रहेका छन्।
कर्णाली विकास बैङ्कको बहुचर्चित आर्थिक घोटाला प्रकरणमा अनुसन्धान र पक्राउ प्रक्रिया अझै जारी रहेकाले फरार रहेका अन्य प्रतिवादीलाई कानुनी दायरामा ल्याउने प्रयासलाई प्रहरीले तीव्र बनाएको जनाएको छ।









