सुर्खेत ,२४ साउन ।
कर्णाली प्रदेशमा विभिन्न समयमा बाल क्लबमा आबद्ध भई बालअधिकार तथा सामाजिक क्षेत्रमा योगदान दिएका पूर्व बाल क्लब सदस्यहरू पहिलोपटक संगठित भएका छन्। कर्णाली प्रदेशमै पहिलोपटक आयोजना गरिएको पूर्व बाल क्लब सदस्यहरूको प्रथम ऐतिहासिक भेलाले बालअधिकारको संरक्षण, प्रवद्र्धन र बालबालिकाको आवाजलाई संस्थागत रूपमा उठाउने प्रतिबद्धतासहित १२ बुँदे ‘कर्णाली घोषणा पत्र’ जारी गरेको छ।
सिसिआर कर्णालीको आयोजना तथा सेभ द चिल्ड्रेन, युनिसेफ र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा भएको भेलाले पूर्व बाल क्लब सदस्यहरूलाई एउटै सञ्जालमा आबद्ध गर्दै बालअधिकारका क्षेत्रमा थप योगदान गर्ने आधार तयार गरेको हो।
सिसिआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्री प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य कल्याणी खड्का, उर्मिला विश्वकर्मा र दानबहादुर हमालसहित प्रदेश बाल क्लब सञ्जालका उपाध्यक्ष अनुराधा चौलागाईं, स्याक्स सुर्खेतका संयोजक पवित्रा शाही, सेभ द चिल्ड्रेनका रत्नराज ओझा, युनिसेफका दीपक श्रेष्ठ र प्लान इन्टरनेशनलका दीक्षा भट्टलगायतको सहभागिता थियो।
पूर्व बाल क्लब सदस्य शर्मिला बिसीको संयोजकत्वमा गठित कार्यदलको सक्रियतामा भेलाको व्यवस्थापन गरिएको थियो। शर्मिला बिसीले कर्णालीमा बालबालिकाको अवस्था, तथ्यांक तथा उनीहरूले भोगिरहेका सवालहरू प्रस्तुत गर्दै कार्यक्रमको विषय प्रवेश गराउनुभएको थियो। कार्यक्रमको सहजीकरण पूर्व बाल क्लब सदस्य तथा सिसिआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले गर्नुभएको थियो।
बालअधिकारमा योगदान पुर्याउने सम्मानित
भेलाका क्रममा बालअधिकारको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो। सुर्खेतका नागरिक समाजका अगुवा पिताम्बर ढकाल, टीकाराम आचार्य, रमा भण्डारी तथा तत्कालीन जिल्ला बाल कल्याण समितिका बाल प्रतिनिधि टेकराज आचार्यलाई सम्मान गरिएको हो।
नेपालमा बाल क्लब दर्ताको कानुनी अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी तिलोत्तमा पौडेललाई पनि विशेष सम्मान गरिएको थियो। बाल क्लब दर्ताका लागि भएको कानुनी लडाइँमा नेतृत्व गरेपछि सर्वोच्च अदालतले २०५८ साल साउन २५ गते बालबालिकालाई बाल क्लब दर्ता गर्न आदेश दिएको थियो।
त्यसैगरी सुर्खेतबाट बालअधिकारको क्षेत्रमा स्थापनाकालदेखि निरन्तर काम गर्दै आएका सेभ द चिल्ड्रेन र स्याक्स नेपाललाई समेत सम्मान गरिएको थियो।
‘बाल सहभागिता हिजो, आज र भोलि’ माथि छलफल
भेलामा ‘बाल सहभागिता हिजो, आज र भोलि’ विषयमा प्यानल छलफलसमेत गरिएको थियो। पूर्व बाल क्लब सदस्य राकेश पौडेलले सहजीकरण गर्नुभएको छलफलमा गुर्भाकोट नगरपालिकाका उपप्रमुख तथा पूर्व बाल क्लब सदस्य मैना विक, युनिसेफमा कार्यरत पूर्व बाल क्लब सदस्य प्रेमचन्द र युवा उद्यमी तथा पूर्व बाल क्लब सदस्य दीपक बुढाले आफ्ना अनुभव तथा धारणा राख्नुभएको थियो।
त्यसैगरी पूर्व बाल क्लब सदस्य र वर्तमान बाल क्लबमा आबद्ध सदस्यहरूबीच अन्तरक्रियासमेत गरिएको थियो। अन्तरक्रियामा रमा भण्डारी, बाले विश्वकर्मा, ताराप्रसाद पौडेल, अनिता नेपाली र हिमा उपाध्यायले सहजीकरण गर्नुभएको थियो।
१५ सदस्यीय समिति गठन
भेलाले पूर्व बाल क्लब सदस्यहरूलाई संगठित गरी बालअधिकारका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न कार्यविधिसमेत पारित गरेको छ। कार्यविधिअनुसार पूर्व बाल क्लब सदस्यहरूको सञ्जालको कार्यकाल एक वर्षको हुनेछ भने १५ सदस्यीय कार्यसमिति गठन गर्ने व्यवस्था गरिएको छ।
समितिमा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट एक/एक जना प्रतिनिधिका साथै दलित, महिला, अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। सदस्य सचिवसहित १५ सदस्यीय संरचना बनाइएको हो।
भेलाबाट सुर्खेतका तेज सेनाम संयोजक र जुम्लाकी अनिता विक उपसंयोजकमा चयन हुनुभएको छ। सदस्यमा दैलेखबाट हरिकला खड्का, कालिकोटबाट बाले विश्वकर्मा, मुगुबाट अनिता भियाल, डोल्पाबाट रणबहादुर कार्की, जाजरकोटबाट जयन्ती खत्री सुधार र सल्यानबाट प्रकाश नेपाली चयन हुनुभएको छ। बाँकी जिल्लाको प्रतिनिधित्व तथा समावेशी संरचनालाई कार्यविधिअनुसार पूर्णता दिइने जनाइएको छ।
बालअधिकारका लागि १२ बुँदे प्रतिबद्धता
भेलाले पूर्व बाल क्लब सदस्यहरूलाई सञ्जालमा आबद्ध गराउनेदेखि बालबालिकाको आवाज परिवार, समुदाय र संस्थागत तहसम्म पुर्याउनेसम्मका विषय समेटिएको १२ बुँदे कर्णाली घोषणा पत्र जारी गरेको छ।
घोषणापत्रमा पूर्व बाल क्लब सदस्यहरूलाई सञ्जालमा सहभागी गराउने, सञ्जाललाई संस्थागत र सुदृढ बनाउने, बाल संरक्षण तथा उत्तरदायित्व लिएका सरकारी संरचनालाई सहयोग गर्ने, सदस्यहरूको सीप, क्षमता र रुचिका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने तथा आत्मनिर्भरता विकास गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यस्तै भूगोल, विचार, संस्कृति, अनुभव र विविधताको सम्मान गर्दै गैरराजनीतिक तथा धार्मिक तटस्थता कायम गर्ने, अनुसन्धान, तथ्य र तथ्यांकमा आधारित अभ्यासलाई प्रवद्र्धन गर्ने, संवाद, सहकार्य, समन्वय र साझेदारीमा आधारित भएर काम गर्ने घोषणा पत्रमा उल्लेख छ।
समावेशी, समतामूलक र समानतामुखी व्यवहार तथा संस्कृतिको प्रवद्र्धन गर्ने, अधिकारमुखी अवधारणालाई आत्मसात् गर्ने र बालअधिकारको प्रवद्र्धन, संरक्षण तथा सुनिश्चितताका लागि आफू जहाँ भए पनि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि गरिएको छ।
घोषणापत्रले बाल समूह र बालबालिकाको आवाजलाई परिवार, समुदाय तथा संस्थागत तहमा सुनुवाइ गराउन पैरवी गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ।
कर्णालीमा लामो समयदेखि बाल क्लबमार्फत बालअधिकार, नेतृत्व विकास र सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय रहेका युवाहरूलाई एउटै सञ्जालमा जोड्ने यो पहलले उनीहरूको अनुभव र क्षमता आगामी पुस्ताका बालबालिकाको अधिकार संरक्षणमा उपयोग गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको समग्र व्यवस्थापन ‘बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेश’ले गरेको थियो।









