सुर्खेतका अटो चालकलाई सेफ्टी ज्याकेट

  • नमस्ते कर्णाली

  • सुर्खेत, ३०  साउन ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा ट्रस्ट एजुकेशनल सेन्टरले अटो चालकलाई सेफ्टी ज्याकेट वितरण गरेको छ । शुक्रबार जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा वीरेन्द्रनगरमा अटो चलाउँदै आएका करिब एक सय ३० जनालाई सेफ्टी ज्याकेट वितरण गरिएको हो ।
    साथै उनीहरुलाई सडक सुरक्षासम्बन्धी सचेतना प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख रोहितकुमार शाहीले सेफ्टी ज्याकेट प्राप्त गरेपछि चालकहरूले अझ बढी जिम्मेवार बनेर सुरक्षित रूपमा सवारी सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले सडक दुर्घटना न्यूनीकरणका लागि चालकहरू स्वयं सचेत हुनुपर्ने बताए ।
    त्यस्तै, ट्रस्ट एजुकेशनल सेन्टरका सञ्चालक हरि कँडेलले विगत १५ वर्षअघि उच्च शिक्षा र रोजगारीका लागि सुर्खेत प्रवेश गर्दाका आफ्ना संघर्षका दिनहरू स्मरण गरे । १२ वर्षअघि स्थापित सेन्टरमार्फत भाषा शिक्षण र विभिन्न लोकसेवा तथा सुरक्षा निकायको तयारी कक्षा सञ्चालन गरी हालसम्म १० हजारभन्दा बढी विद्यार्थीहरूसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।
    सडकमा अटो चालक र ट्राफिक प्रहरी विरोधी नभई एकअर्काका सहयात्री भएको उल्लेख गर्दै कँडेलले भने, धुलो, हिलो र खाल्डाखुल्डीयुक्त सडकमा चालकको भरमा सिङ्गो परिवारको सपना जोडिएको हुन्छ । पहेँलो ज्याकेटले विशेष गरी रातिको समयमा दुर्घटनाबाट बचाउन मद्दत गर्छ ।
    चालक सुरक्षित भए मात्र यात्रु सुरक्षित हुन्छन् । सोही अवसरमा कँडेलले अटो चालक र तिनका परिवारका सदस्यहरूलाई ट्रस्ट एजुकेसनल सेन्टरबाट सञ्चालन हुने वैदेशिक भाषा तथा अन्य तयारी कक्षाहरूमा २० देखि ५० प्रतिशतसम्म विशेष छुट दिने घोषणासमेत गरे ।
    सीमित स्रोत र साधनका बाबजुद सुर्खेतको ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी टोली र प्रमुख शाहीको नेतृत्वको प्रशंसा गर्दै कँडेलले नागरिक स्तरबाट पनि ट्राफिक प्रहरीको योगदानको कदर हुनुपर्ने धारणा राखे । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  प्रति प्रतिबद्ध रहँदै ट्रस्ट एजुकेशनल सेन्टरले सुरुदेखि नै यस्ता समाज उपयोगी, शैक्षिक तथा सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

  • ३० श्रावण २०८३, शनिबार १०:०८ प्रकाशित

  • Nabintech