मुगु । छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा निर्माणाधीन शौचालयको सेप्टिक ट्यांकीमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब २ः४० बजे ताल्चा विमानस्थल को निर्माणाधीन टर्मिनल भवन शौचालयको करिब १४ फिट गहिरो सेप्टिक ट्यांकीमा आकाशे पानी जम्मा भएको अवस्थामा पौडी खेल्ने क्रममा स्थानीय जयबहादुर भामका छोरा ११ वर्षीय गौरव भाम डुबेका थिए।

बालक डुबेको खबर प्राप्त भएपछि ताल्चास्थित बिमानस्थल सुरक्षा गार्डबाट प्रहरी सहायक निरीक्षक बिर्खराज गुरुङको कमाण्डमा चार जनाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले खोजी गर्दा गौरवलाई पानीमा डुबेको अवस्थामा मृत फेला पारेको जनाएको छ।
घटनापछि थप अनुसन्धान तथा घटनास्थल मुचुल्कालगायतका आवश्यक कार्यका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमाण्डमा SOCO सहित पाँच जनाको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।
घटनास्थल ताल्चा बी.सु.गार्डबाट करिब पाँच मिनेट पूर्व र जिल्ला प्रहरी कार्यालय मुगुबाट करिब १० किलोमिटर पश्चिम–दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।









