बाँके ,३१ साउन ।
बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ती क्षेत्रमा पछिल्लो समय पाँचधर्के लोखर्के अर्थात् गिलहरीको चहलपहल बढ्न थालेको छ। वन संरक्षणमा सुधारसँगै पर्याप्त आहारा र सुरक्षित बासस्थान उपलब्ध हुन थालेपछि लामो समयपछि गिलहरीका गतिविधि वन क्षेत्रमा देखिन थालेका हुन्।
वन क्षेत्रमा चञ्चल र फुर्तिलो स्वभावको गिलहरी दैनिक आहारा खोजीमा व्यस्त देखिन्छ। मुखभन्दा ठूलो फलसमेत अगाडिका दुवै खुट्टाले समातेर बिस्तारै टोकेर खाने यसको शैली आकर्षक देखिन्छ। फलफूल, बीउ, नरम कोपिला तथा कहिलेकाहीँ किरा–फट्याङ्ग्रा समेत यसको आहारामा पर्ने गर्छन्।
बाँके राष्ट्रिय निकुञ्ज नेचर गाइड एसोसिएसनका अध्यक्ष भीम डाँगीका अनुसार केही समयअघिसम्म निकै कम देखिने गिलहरी पछिल्लो समय वन संरक्षणसँगै यसको आहारा र बासस्थान सुरक्षित हुँदै गएपछि पुनः देखिन थालेको हो। यसले गिलहरीको संरक्षणसँगै यसको प्राकृतिक बासस्थान जोगाउनुपर्ने आवश्यकता पनि देखाएको उहाँ बताउनुहुन्छ।
गिलहरीले फलफूल तथा बीउ खाएर वा विभिन्न ठाउँमा लुकाएर राख्ने क्रममा बीउ एक स्थानबाट अर्को स्थानमा फैलाउने गर्छ। त्यस्ता बीउबाट नयाँ बिरुवा उम्रने भएकाले वनको प्राकृतिक पुनरुत्पादन र पुनर्स्थापनामा यसको महत्वपूर्ण भूमिका रहने वन्यजन्तु संरक्षणकर्मीहरू बताउँछन्।
सामान्यतया तराईका वन क्षेत्रमा पाइने पाँचधर्के लोखर्केको ढाडमा देखिने सेता धर्का यसको प्रमुख पहिचान हो। यसको शरीरको लम्बाइ करिब १५ देखि २० सेन्टिमिटर र पुच्छर १३ देखि १८ सेन्टिमिटरसम्म हुने गर्छ। बाक्लो तथा झुप्प परेको पुच्छर यसको अर्को विशेषता हो।
गिलहरी निकै सतर्क प्राणी मानिन्छ। कुनै खतरा महसुस हुनेबित्तिकै रुख चढेर आफूलाई सुरक्षित बनाउने गर्छ। यही सतर्क स्वभावका कारण चील, उल्लु, सर्प र जङ्गली बिरालोजस्ता प्राकृतिक शिकारीबाट जोगिन यसलाई सहज हुने गरेको छ।
वन संरक्षणको चर्चा गर्दा बाघ, हात्ती, गैँडा जस्ता ठूला वन्यजन्तुलाई प्राथमिकतामा राखिए पनि गिलहरीजस्ता साना जीवको उपस्थितिले पनि वनको पारिस्थितिकीय प्रणालीलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्छ। यस्ता जीवले बीउ फैलाउने, खाद्य शृङ्खला कायम राख्ने र वनको प्राकृतिक पुनरुत्पादनमा सहयोग गर्ने भएकाले तिनको संरक्षण पनि जैविक विविधता संरक्षणकै महत्वपूर्ण हिस्सा हो।
बाँके राष्ट्रिय निकुञ्जमा वन संरक्षणका प्रयाससँगै साना स्तनधारी प्राणीको संख्या र गतिविधि बढ्दै जानुले वनको पारिस्थितिकीय स्वास्थ्यमा सुधार भइरहेको संकेतसमेत गरेको छ। त्यसैले ठूला वन्यजन्तुको संरक्षणसँगै गिलहरीलगायत साना जीवको प्राकृतिक बासस्थान संरक्षणमा समेत ध्यान दिन आवश्यक देखिएको छ।









