सुर्खेत,३१ साउन ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको मुख्य लगानीमा निर्माण हुन लागेको ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाको निर्माणपूर्वका कामले गति लिन थालेका छन्। सुर्खेत र अछामको सीमामा पर्ने कर्णाली नदीमा निर्माण हुने अर्धजलाशययुक्त आयोजनाका लागि जग्गा प्राप्ति, मुआब्जा वितरण, रुख छपान, पहुँचमार्ग निर्माण तथा वित्तीय व्यवस्थापनलगायतका काम अघि बढाइएको हो।
बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार आयोजनाको अनुमति प्राप्त भएसँगै अध्ययन तथा निर्माणको प्रक्रिया अघि बढाइएको छ। अहिले जग्गा प्राप्ति तथा मुआब्जा वितरण, हदबन्दी फुकुवा, रुख कटानका लागि लगत संकलन, आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग निर्माणलगायतका काम भइरहेका छन्।
आयोजनाका इन्जिनियर सुरेन्द्र शाहीका अनुसार निर्माणपूर्वका आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। विद्युत् खरिद–बिक्री सम्झौता, जग्गा व्यवस्थापन तथा अन्य प्राविधिक तयारीसमेत अघि बढाइएको उनले बताए।
आयोजना निर्माणका क्रममा ४६ हजारभन्दा बढी रुख कटान गर्नुपर्ने अनुमान गरिएको छ। त्यसका लागि आवश्यक लगत संकलन तथा कानुनी प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ। आयोजनाका संरचना निर्माण हुने क्षेत्रको जग्गाको भोगाधिकार, मुआब्जा तथा अन्य व्यवस्थापनका काम पनि क्रमशः अगाडि बढिरहेका छन्।
निर्माणपूर्वका काम सम्पन्न भएपछि बाँध, सुरुङ तथा विद्युत् गृहजस्ता मुख्य सिभिल संरचनाको निर्माण सुरु गर्ने कम्पनीको तयारी छ। त्यससँगै इलेक्ट्रोमेकानिकल उपकरण जडान, टर्बाइन तथा जेनेरेटरलगायतका उपकरण आयोजनास्थलमा ढुवानी र जडान गर्ने कामसमेत अघि बढाइनेछ।
९३ अर्ब ४० करोड लागत अनुमान
बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले आयोजनाको कुल लागत ९३ अर्ब ४० करोड रुपैयाँ पुग्ने अनुमान गरेको छ। अद्यावधिक लागत अनुमानअनुसार कर्जा र स्वपूँजीको अनुपात ७०ः३० कायम गर्दा निर्माण अवधिको ब्याजसमेत जोडेर उक्त लागत पुग्ने अनुमान गरिएको हो।
कम्पनीको अधिकृत पूँजी २० अर्ब तथा जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ। आयोजनाको शेयर संरचनामा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत र विद्युत् उत्पादन कम्पनीको १० प्रतिशत लगानी रहनेछ।
त्यस्तै, सर्वसाधारणका लागि १३ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत र अति विपन्न परिवारका लागि दुई प्रतिशत शेयर छुट्याइएको छ।
कर्मचारी सञ्चय कोषको अगुवाइमा स्थापना भएको कम्पनीले सञ्चयकर्ताको बचतलाई दीर्घकालीन लगानीमा रूपान्तरण गर्दै ऊर्जा उत्पादनमा योगदान पुर्याउने उद्देश्यले आयोजना अघि बढाएको जनाएको छ।
दैनिक ४ देखि ६ घण्टा पिकिङ
बेतन कर्णाली नदी प्रवाहमा आधारित अर्धजलाशययुक्त आयोजना हो। दैनिक चारदेखि छ घण्टासम्म विद्युत्को उच्च माग हुने समयमा बढी विद्युत् उत्पादन गर्ने गरी आयोजनाको डिजाइन गरिएको छ। केही समय पानी सञ्चय गरी माग बढी भएका बेला उत्पादन बढाउने भएकाले यसले राष्ट्रिय विद्युत् प्रणालीको माग व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार आयोजनाबाट वार्षिक दुई हजार ३०२ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये वेट इनर्जी एक हजार ६११.६७ गिगावाट आवर, ड्राई पिक इनर्जी ४५८.५६ गिगावाट आवर र ड्राई अफपिक इनर्जी २३०.८२ गिगावाट आवर रहनेछ।
हाल कायम विद्युत् खरिद–बिक्री दरका आधारमा आयोजनाले विद्युत् बिक्रीबाट पहिलो वर्ष करिब १५ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ। आयोजनाको निर्माण अवधि पाँच वर्ष रहने कम्पनीको अनुमान छ।
पाँच किलोमिटर क्षेत्रमा फैलिने
बेतन कर्णाली आयोजना अछामको टटालिघाटदेखि सुर्खेतको बेतन हबसम्म करिब पाँच किलोमिटर क्षेत्रमा फैलिनेछ। कर्णाली नदीको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने आयोजनाले सुर्खेत र अछामको सीमावर्ती क्षेत्रमा पूर्वाधार विकास तथा स्थानीय आर्थिक गतिविधि बढाउनसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजनाको विकासका लागि लामो समयदेखि तयारी हुँदै आएको छ। ३१ असार २०७८ मा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तृत इन्जिनियरिङ अध्ययन तथा प्रतिवेदन तयार गरिएको थियो। सोही वर्ष अस्थायी क्याम्प, आर्मी क्याम्प तथा बंकर निर्माण सम्पन्न गरिएको कम्पनीले जनाएको छ।
त्यसपछि १७ पुस २०८० मा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएको थियो। २१ असोज २०८१ मा उत्पादित विद्युत् राष्ट्रिय ग्रीडमा समाहित गर्न ४०० केभी प्रसारण लाइन निर्माणको अनुमति प्राप्त भएको थियो भने १५ असार २०८२ मा विद्युत् उत्पादनको लाइसेन्स प्राप्त भएको कम्पनीले जनाएको छ।
त्यस्तै, २४ मंसिर २०८२ मा लगानी बोर्डबाट आयोजनामा लगानी गर्न औपचारिक स्वीकृतिसमेत प्राप्त भएको छ। अब निर्माणपूर्वका बाँकी कामलाई तीव्रता दिँदै आयोजना मुख्य संरचना निर्माणको चरणमा प्रवेश गर्ने तयारीमा पुगेको कम्पनीको भनाइ छ।
समयमै निर्माणपूर्वका काम सम्पन्न गरी मुख्य निर्माण अघि बढाउन सके बेतन कर्णाली कर्णाली प्रदेशकै महत्वपूर्ण ठूला जलविद्युत आयोजनामध्ये एक बन्ने अपेक्षा गरिएको छ।









