सुर्खेत, ६ भदौ ।
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङकी सपना वलीको परिवार अहिले त्रिपालमुनि रात कटाइरहेको छ। १० जनाको परिवार बस्दै आएको घर र जग्गा साउन ३० गतेको अविरल वर्षापछि आएको पहिरोले बगाएपछि वली परिवारको ओत लाग्ने ठाउँसमेत खोसिएको हो।
दुई वर्षअघि गएको भूकम्पले घर चर्किएपछि वली परिवार अस्थायी टहरामा बस्दै आएको थियो। भूकम्पको पीडा र अस्थायी बसोबासको कठिनाइ भुल्न नपाउँदै पहिरोले घरसँगै भएको जग्गासमेत बगाएपछि परिवार फेरि विस्थापित भएको छ। अहिले उनीहरू राज्य तथा दातृ निकायले उपलब्ध गराएको त्रिपालको भरमा दिन बिताइरहेका छन्।
सपनाको परिवारको अवस्था रिसाङका अन्य भूकम्पपीडित परिवारको भन्दा फरक छैन। भूकम्पपछि स्थायी घर निर्माण हुन नसक्दै आएको पहिरोले उनीहरूको बाँकी सहारा पनि खोसेको छ।
रिसाङकी वृद्ध कली कामीको अस्थायी टहरा पनि पहिरोले बगायो। उनले एक नातिनी र एक नातिसहित ज्यान जोगाए पनि घरमा रहेका गाई, कुखुरा, बाख्रा र अन्य सम्पत्ति पहिरोमै पुरिए।
‘दुई वर्षअघिको चिसोमा भुइँचालोले दुःख दियो, अहिलेको बर्खामा पहिरोले घरबारविहीन बनायो,’ कलीले भनिन्, ‘मेरो जस्तो पीडा कसैले भोग्न नपरोस्। भुइँचालोले भत्किएको घर बनाउन सकिएको थिएन, त्यहीमाथि पहिरोले साँघुरो टहरा पनि बगाइदियो।’
रिसाङकै कुमारी विकको परिवारमा चार छोराछोरी छन्। भूकम्पले चर्किएको घर यस वर्षको पहिरोले बगाएपछि उनीहरू अस्थायी सेल्टरमा बसिरहेका छन्।
‘घरमा भएको केही पनि बाँकी रहेन, भाग्यले परिवारको ज्यान बच्यो,’ कुमारीले भनिन्, ‘अहिले लुगा पनि अरूले दिएको लगाउनुपरेको छ। के गर्ने र कसो गर्ने भन्ने उपाय नै छैन।’
सोही गाउँका लालबहादुर थापाको घरमा प्रत्यक्ष क्षति नपुगे पनि परिवार उच्च जोखिममा छ। घरवरपर र माथिल्लो भागमा जमिन चिराचिरा परेको छ। कतिबेला जमिन फेरि बगेर घर पुर्छ भन्ने त्रासका कारण उनी पनि अस्थायी सेल्टरमा बसिरहेका छन्।
‘अहिलेसम्म यसरी कहिल्यै जमिन भासिएको थिएन,’ उनले भने, ‘मेरो मात्र होइन, वरिपरिका सबै घर जोखिममा छन्। सुरक्षित ठाउँमा स्थायी रूपमा व्यवस्थापन गरिदिनुपर्छ।’
भूकम्पपीडितमाथि फेरि विपद्
२०८० कात्तिकमा गएको भूकम्पले निम्त्याएको समस्या समाधान नहुँदै जाजरकोटका भूकम्पपीडितमाथि अर्को विपद् थपिएको छ। भूकम्पले चर्किएका घर र भूकम्पपछि निर्माण गरिएका अस्थायी टहरासमेत पहिरोको जोखिममा परेका छन्।
साउन ३० गतेको अविरल वर्षापछि आएको पहिरोले भेरी नगरपालिका–२ का रिसाङ र स्याला गाउँका अधिकांश बासिन्दा प्रभावित भएका छन्। रिसाङमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
घरबारविहीन तथा जोखिममा रहेका परिवारलाई विद्यालय तथा अन्य अस्थायी संरचनामा राखिएको छ। स्यालास्थित विजया प्राथमिक विद्यालय र रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयमा विस्थापित परिवारलाई राखिएको छ।
एउटै स्थानमा ठूलो संख्यामा मानिस बस्नुपर्दा बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिलामा थप जोखिम देखिएको छ।
भेरी नगरपालिकाका अनुसार दुई वटा पहिरोका कारण एक सय ६८ घरधुरीका आठ सय ९३ जना प्रभावित भएका छन्। उनीहरूका लागि विभिन्न स्थानमा चार वटा अस्थायी शिविर सञ्चालन गरिएको छ। शिविरमा एक सय आठ बालबालिका, छ सुत्केरी र पाँच गर्भवती महिला छन्।
भेरी नगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख यज्ञप्रसाद गौतमका अनुसार प्रभावित परिवारलाई खाना, लत्ताकपडा, स्वास्थ्य किटलगायत राहत सामग्री वितरण भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको छ।
पहिरोले भूकम्पपछि निर्माण गरिएका १३ वटा अस्थायी टहरामा क्षति पुर्याएको छ। तीमध्ये १२ वटामा आंशिक क्षति भएको छ। त्यस्तै, ३१ वटा गोठमा क्षति पुगेको र ३१ पशुचौपाया मरेका छन्।
अस्थायी शिविरमा स्वास्थ्य समस्या
पहिरोपछि विस्थापित भएर अस्थायी सेल्टरमा बसिरहेकामा स्वास्थ्य समस्या देखिन थालेको छ। दूषित खानेपानी तथा एउटै स्थानमा धेरै मानिस बस्नुपर्दा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार विस्थापित नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर परीक्षण तथा उपचार सुरु गरिएको छ। भेरी नगरपालिका, कर्णाली प्रदेश अस्पताल तथा विकास साझेदार संस्थाबाट स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
तर, ५० शय्याको जाजरकोट अस्पतालमा पर्याप्त चिकित्सक तथा स्वास्थ्यकर्मी छैनन्। स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनका अनुसार बिरामीको चाप बढे पनि जनशक्ति अभावका कारण नियमित स्वास्थ्य सेवा सञ्चालनमै कठिनाइ भइरहेको छ।
‘पहिरोका कारण घाइते तथा विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेपछि जिल्ला अस्पतालमा पनि बिरामीको चाप बढेको छ,’ उनले भने, ‘सीमित जनशक्तिका कारण प्रभावकारी उपचार सेवा दिन कठिन भइरहेको छ।’
जोखिमयुक्त बस्तीको अध्ययनमा भूगर्भविद्को टोली
पहिरो प्रभावित क्षेत्रको भौगोलिक तथा भूगर्भीय अवस्था अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली रिसाङ पुगेको छ।
प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढासहित प्राधिकरणका उपसचिव सुरेश सुनार, भूगर्भविद् डा. प्रकाश पोखरेल, इन्जिनियर जगदिश विष्ट, मेटेरियोलोजिस्ट राजन लामिछानेसहित आठ सदस्यीय टोलीले प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरिरहेको छ।
टोलीले भेरी नगरपालिका–१, २, ३ र ४ का पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्नेछ। प्रारम्भिक अध्ययनपछि दुई दिनभित्र प्रतिवेदन तयार गर्ने तयारी गरिएको छ।
प्रतिनिधिसभा सदस्य बुढाले प्रभावित नागरिकको तत्कालीन सुरक्षा र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनका अनुसार भूगर्भविद्को अध्ययनपछि मात्रै जोखिमयुक्त बस्ती स्थानान्तरण वा पुनःस्थापनाबारे निर्णय गर्नुपर्छ।
भूकम्पपछि पुनर्निर्माणको प्रतीक्षामा रहेका सपना वलीजस्ता परिवारलाई पहिरोले फेरि शून्यमा पुर्याएको छ। उनीहरूका लागि अहिले राहतभन्दा पनि सुरक्षित छानो र स्थायी बसोबासको व्यवस्था सबैभन्दा ठूलो आवश्यकता बनेको छ।
विपद्को दोहोरो मारमा परेका यी परिवारलाई तत्काल राहतसँगै जोखिमयुक्त बस्तीको वैज्ञानिक अध्ययन, सुरक्षित स्थानमा पुनःस्थापना र स्थायी आवास निर्माणको सुनिश्चितता गर्नुपर्ने देखिएको छ।










