भेरीगंगा, ७ भदौं ।
सहकर्मी समाजको आयोजना तथा भेरीगंगा नगरपालिकाको समन्वय र सहकार्यमा जलवायु तथा विपद् व्यवस्थापन न्यूनीकरणसम्बन्धी तीन दिने आधारभूत तालिम सम्पन्न भएको छ। तालिम भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको हो ।
भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा सञ्चालन भएको तालिममा नगरपालिका अन्तर्गतका १३ वटै वडाबाट छनोट भएका २६ जना युवा स्वयंसेवकको सहभागिता रहेको थियो ।
तालिमको मुख्य उद्देश्य स्थानीय समुदायमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी आधारभूत ज्ञान तथा सीप अभिवृद्धि गर्नुका साथै विपद्का समयमा तत्काल उद्धार, प्राथमिक उपचार तथा प्रभावकारी प्रतिकार्य गर्न सक्ने दक्ष युवा स्वयंसेवक तयार गर्नु रहेको थियो ।
तीन दिने तालिमका क्रममा सहभागीहरूलाई विपद् जोखिम न्यूनीकरण चक्र तथा सम्बन्धित शब्दावली, प्राथमिक उपचारको परिचय, बिरामीको प्रारम्भिक अवस्था मूल्याङ्कन, जलन, नाकबाट रगत बग्ने समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या तथा सीपीआर, घाँटीमा वस्तु अड्किने अवस्था, रक्तस्राव तथा आघात, घाउ, ब्यान्डेज, हड्डी भाँचिएको अवस्थामा गरिने प्राथमिक उपचार तथा घाइतेलाई सुरक्षित रूपमा उठाउने र स्थानान्तरण गर्ने विधि लगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
तालिममा सहभागी स्वयंसेवकहरूलाई विपद्का विभिन्न अवस्थामा अपनाउनुपर्ने सावधानी तथा प्राथमिक उपचारका विधिबारे जानकारी दिनुका साथै घाइते तथा बिरामीको प्रारम्भिक मूल्याङ्कन, रक्तस्राव नियन्त्रण, जलनको प्राथमिक उपचार, सीपीआर, ब्यान्डेज गर्ने तरिका तथा घाइतेलाई सुरक्षित रूपमा उठाएर स्थानान्तरण गर्ने अभ्याससमेत गराइएको थियो ।
तालिमबाट प्राप्त ज्ञान तथा सीपले भेरीगंगा नगरपालिकाका १३ वटै वडाका युवा स्वयंसेवकहरूलाई समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन अवस्थामा प्रभावकारी रूपमा परिचालन हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, स्थानीय तहको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्दै सुरक्षित, सक्षम तथा उत्थानशील समुदाय निर्माणमा युवा स्वयंसेवकहरूको भूमिका थप प्रभावकारी हुने विश्वास गरिएको छ ।
तालिमको समापनका अवसरमा सहभागी युवा स्वयंसेवकहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आफ्नो समुदायमा व्यवहारमा उतार्दै विपद्को समयमा मानवीय सहयोग, प्राथमिक उपचार तथा उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तालिमले स्थानीय तहमा उपलब्ध युवा जनशक्तिलाई विपद् व्यवस्थापनसँग जोड्दै समुदायको तयारी, प्रतिकार्य क्षमता र विपद् जोखिम न्यूनीकरणमा स्थानीय सहभागिता अभिवृद्धि गर्ने महत्वपूर्ण आधार तयार गरेको आयोजकले जनाएको छ ।









