बाँके , ८ भदौ।
खेतीपातीको काम सकिएसँगै रोजगारीको खोजीमा भारत जाने नेपाली युवाको सङ्ख्या बढ्दै गएको छ। नेपालमा पर्याप्त रोजगारीको अवसर नहुँदा कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका सयौँ युवा दैनिक नेपाल–भारत सीमास्थित जमुनाहा नाका हुँदै भारततर्फ जान थालेका छन्।
इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार केही दिनयता रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। नाकामा बिहानैदेखि भारत जाने नेपालीको लर्को लाग्ने गरेको छ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजन भट्टराईले केही दिनयता रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढेको बताउनुभयो। उहाँका अनुसार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म दैनिक ठूलो सङ्ख्यामा नेपाली भारत प्रवेश गरिरहेका छन्।
भारतको हिमाचल प्रदेशमा स्याउ पाक्ने समय सुरु भएकाले स्याउ टिप्ने, ओसारपसार गर्ने तथा अन्य कृषि मजदुरीका लागि पनि नेपाली युवा भारततर्फ गइरहेका छन्। अधिकांश नेपाली शिमला, अमृतसर, चण्डीगढ, हरिद्वार र जयपुरलगायतका क्षेत्रमा जाने गरेका छन्।
रोजगारीका लागि भारत जानेमध्ये अधिकांश विपन्न परिवारका युवा छन्। आफ्नै गाउँठाउँमा वर्षभरि रोजगारी नपाइने र भएको खेतीबाट परिवार पाल्न कठिन भएपछि उनीहरू केही महिनाका लागि भारत जान बाध्य भएका हुन्।
जाजरकोटको ढिमेका दल बहादुर विक खेतीपातीको काम सकिएपछि गाउँमा अर्को काम नपाएकाले भारत जान लागेको बताउनुहुन्छ।
“खेतीपाती गरेर वर्षभरि परिवार पाल्न पुग्दैन। गाउँमा अर्को काम पनि छैन। घरखर्च चलाउनकै लागि फेरि भारत जानुपरेको हो,” उहाँले भन्नुभयो।
दैलेख नौमुलेका रमेश मल्ल पनि रोजगारीका लागि भारतको हरिद्वार जान लाग्नुभएको छ। उहाँका अनुसार गाउँमा आम्दानीको भरपर्दो स्रोत नभएपछि भारत जानुको विकल्प देखिँदैन।
“रोजगारी पाइन्छ भनेर देशमै बस्न मन त छ, तर काम नै पाइँदैन। परिवारको खर्च धान्न भारत जानुपरेको छ। अब अर्को वर्षको दसैंमा मात्र घर फर्किने योजना छ,” उहाँले भन्नुभयो।
यस्तै, भारततर्फ जाँदै गरेका अर्का युवा कृष्णबहादुर शाहीले खेतीबाट हुने आम्दानीले परिवारको आवश्यकता पूरा गर्न नसक्ने भएकाले भारत जान लागेको बताउनुभयो।
“हाम्रो गाउँमा रोजगारी छैन। खेती आफ्नै खानलाई मात्र पुग्छ। छोराछोरीको पढाइ र घरखर्चका लागि कमाउनैपर्छ, त्यसैले भारत जान लागेको हुँ,” उहाँले भन्नुभयो।
नाकामै भेटिएका मीनबहादुर रोकायले पनि आफूजस्तै धेरै युवा बाध्यताले भारत जानुपरेको बताउनुभयो।
“भारत जान रहर होइन। आफ्नै देशमा काम पाए परिवारसँगै बसेर काम गर्ने थियौँ। गरिबी र बेरोजगारीले घर छाड्न बाध्य बनाएको छ,” उहाँले भन्नुभयो।
खेतीपातीको मौसममा गाउँ फर्किएर कृषि काम गर्ने र बाँकी समय रोजगारीका लागि भारत जाने प्रवृत्ति कर्णाली तथा लुम्बिनीका पहाडी जिल्लामा पुरानै भए पनि स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा यो क्रम अझै रोकिएको छैन।
भारत जाने नेपालीको सङ्ख्या बढेसँगै उनीहरूको सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका तथा z @भारततर्फको रुपैडिहा बसपार्क क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ।
स्थानीय युवाका अनुसार भारतबाट कमाएको पैसाले परिवारको दैनिक खर्च, छोराछोरीको पढाइ तथा घरायसी आवश्यकता धान्न सहयोग पुग्ने भए पनि परदेशमा जोखिमपूर्ण र कठिन काम गर्नुपर्ने बाध्यता छ। स्वदेशमै रोजगारीको अवसर र नियमित आम्दानीको व्यवस्था नहुँदासम्म विपन्न परिवारका युवाको भारत पलायन रोक्न कठिन हुने उनीहरूको भनाइ छ।
खेतीपाती सकिएपछि हरेक वर्ष जमुनाहा नाकामा देखिने युवाको यो लर्को बेरोजगारी, गरिबी र गाउँमै रोजगारी सिर्जना गर्न नसकिएको अवस्थाको चित्रणसमेत बनेको छ।









