जाजरकोट ,८ भदौ ।
जाजरकोट भूकम्प गएको झण्डै तीन वर्ष पुग्न लाग्दा संघीय सरकारले लामो समयदेखि शिथिल बनेको पुनर्निर्माण प्रक्रिया अघि बढाएको छ। भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माण अभियानअन्तर्गत आइतबार भेरी नगरपालिका–१, रावत गाउँकी कौशिला विकको घर शिलान्यास गर्दै पुनर्निर्माण कार्यको औपचारिक सुरुवात गरिएको हो।
जाजरकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुरेश सुनार, प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र उपप्रमुख सीता जैशीले संयुक्त रूपमा कौशिलाको घर शिलान्यास गरेका हुन्।
२०७९? [नोट: मूल विवरणअनुसार] १७ कात्तिक २०८० मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा कौशिलाले नाति गुमाएकी थिइन्। उनको घरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। रावत गाउँमा मात्रै भूकम्पमा परी ३४ जनाले ज्यान गुमाएका थिए।
उक्त भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा गरी १५४ जनाले ज्यान गुमाएका थिए भने ठूलो भौतिक क्षति भएको थियो। भूकम्पपछि सरकारले तत्काल उद्धार तथा राहतलाई प्राथमिकता दिए पनि पुनर्निर्माणको काम अपेक्षित गतिमा अघि बढ्न सकेन। जसका कारण भूकम्पपीडितहरू लामो समयदेखि अस्थायी आवासमा बस्न बाध्य छन्।
सरकारले पुनर्निर्माण अघि बढाएपछि कौशिलामा भने नयाँ आशा पलाएको छ। “भूकम्पले बस्ने घर नै भत्काएपछि अस्थायी टहरामा बस्नु परेको छ,” उनले भनिन्, “ढिलै भए पनि सरकारले घर बनाइदिन लागेको देख्दा आशा पलाएको छ।”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुरेश सुनारका अनुसार लाभग्राही पहिचान र प्रमाणीकरणमा देखिएका समस्या समाधान भएपछि पुनर्निर्माणको बाटो खुलेको हो। जिल्ला विपद् व्यवस्थापन समितिले लाभग्राहीको सूची प्रमाणीकरण गरेपछि पुनर्निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए।
उनका अनुसार जाजरकोटसँगै रुकुम पश्चिममा पनि पुनर्निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ। सामान्य प्रभावित लाभग्राहीका लागि सरकारले उपलब्ध गराउने चार लाख रुपैयाँ अनुदानबाट घर पुनर्निर्माण गरिनेछ।
आफैं घर निर्माण गर्न नसक्ने एकल महिला, सहाराविहीन अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि भने ‘शून्य लागत’मा घर निर्माण गर्ने अभियानसमेत अघि बढाइएको छ। यसका लागि आवश्यक थप रकम स्थानीय तह, प्रदेश तथा संघीय सरकार र दातृ निकायको साझेदारीमा जुटाइने जनाइएको छ। प्रारम्भिक तथ्यांकअनुसार जाजरकोट, रुकुम र सल्यानमा करिब दुई हजार छ सय असहाय तथा अति प्रभावित नागरिकले यस्तो अभियानबाट लाभ पाउनेछन्।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार भूकम्पपछि जाजरकोटमा ४१ हजार सात सय जनाले अस्थायी आवास पाएका थिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको विस्तृत क्षति मूल्यांकन (डीडीए) पछि जिल्लामा करिब २९ हजार घरधुरी प्रभावित रहेको देखिएको छ।
डीडीएअनुसार करिब १५ हजार घर पुनर्निर्माण गर्नुपर्ने र १३ हजार घर प्रबलीकरण गर्नुपर्ने अवस्था रहेको अधिकारीले बताए। केही घर भने सामान्य मर्मत गरे पुग्ने अवस्थामा छन्।
कार्यविधिमा रहेका प्रावधान तथा लाभग्राही प्रमाणीकरणमा देखिएका प्रक्रियागत समस्याका कारण पुनर्निर्माणमा ढिलाइ भएको अधिकारीले बताए। अहिले कार्यविधिअनुसार लाभग्राही छनोट तथा प्रमाणीकरण गरी पुनर्निर्माण अघि बढाइएको उनको भनाइ छ।
भेरी नगरपालिकाका ६१२ र नलगाड नगरपालिकाका ४७२ जना लाभग्राही पुनर्निर्माणका लागि छनोट भएका छन्। भेरीका ६१२ लाभग्राहीमध्ये १८८ जनाको पहिलो किस्ता निकासाका लागि माग गरिएको छ। त्यसमध्ये कौशिलाको घर निर्माणबाट पुनर्निर्माण अभियानको औपचारिक सुरुवात गरिएको अधिकारीले बताए।
पुनर्निर्माण अभियानको शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले भूकम्प प्रभावितका घर निर्माण सुरु हुनु सकारात्मक भएको भन्दै अब कामलाई तीव्रता दिनुपर्ने बताए। आफूले संसद्मा पटक–पटक भूकम्पपछिको पुनर्निर्माणको विषय उठाउँदै आएको उल्लेख गर्दै उनले एक घरबाट सुरु भएको अभियान अब निरन्तर अघि बढ्ने दाबी गरे।
उनले एक वर्षभित्र जाजरकोटका सात हजार भूकम्प प्रभावितका घर निर्माण गर्ने गरी सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए। “जाजरकोटमा पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन भएको छ। भूकम्पपछिको पुनर्निर्माणले जुन रूपमा गति लिनुपर्ने थियो, त्यसो हुन सकेन,” उनले भने, “ढिलै भए पनि पुनर्निर्माण सुरु भएको छ। अब सरकारले बहानाबाजी गरेर नागरिकलाई दुःख दिने काम गर्नु हुँदैन।”
लामो समयदेखि अस्थायी टहरामा जीवन बिताइरहेका भूकम्पपीडितका लागि पुनर्निर्माण अभियान सुरु हुनु राहतको विषय बनेको छ। अब पुनर्निर्माणको गति, लाभग्राहीलाई समयमै अनुदान निकासा र निर्माणको प्रभावकारी अनुगमनले मात्रै प्रभावित परिवारलाई स्थायी आवासमा फर्काउने अपेक्षा गरिएको छ।









