बाँके ,१० भदौ।
बाँकेको नेपाल–भारत सीमा नाकामा पछिल्लो समय सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले जमुनाहा नाका सहित सीमावर्ती क्षेत्रमा नेपाली र भारतीय सुरक्षा निकायले निगरानी बढाएका हुन्।
सीमा सुरक्षा थप सुदृढ बनाउन नेपाल–भारत आवतजावत गर्ने व्यक्तिको परिचय खुल्ने आधिकारिक कागजातलाई अनिवार्य गरिएको सुरक्षा निकायले जनाएको छ। सशस्त्र प्रहरीले सीमा पार गर्ने व्यक्तिको नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य आधिकारिक परिचयपत्रका आधारमा नाम, ठेगाना लगायतका विवरण अभिलेख राखेर मात्रै आवतजावत गर्न दिने जनाएको छ।
भारततर्फ पनि सीमा सुरक्षा बल (एसएसबी) ले परिचय खुल्ने कागजातका आधारमा यात्रुको जाँच गर्दै सुरक्षा निगरानीलाई कडाइ गरेको जमुनाहा प्रहरी चौकीले जनाएको छ। दुवै देशका सुरक्षा निकायबीच समन्वय गरी नियमित संयुक्त गस्ती सञ्चालन गर्नुका साथै आवश्यकताअनुसार तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको छ।
सीमा क्षेत्रमा सुरक्षा प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउनुपर्नेमा स्थानीय नागरिक तथा सामाजिक अभियन्ताहरूले जोड दिएका छन्। नेपालगञ्जका सामाजिक अभियन्ता हेमन्तराज काफ्लेले सीमा पार गर्ने व्यक्तिको परिचय र आवतजावतलाई व्यवस्थित अभिलेख प्रणालीमा जोड्दै सीसीटीभी क्यामेरा तथा ड्रोनमार्फत निगरानी बढाउनुपर्ने बताउनुभयो।
बाँकेमा विशेषगरी लागूऔषध ओसारपसार, मानव तस्करी, चोरी–डकैती तथा अन्य हिंसात्मक र आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले नेपालगञ्जका विभिन्न चोक तथा संवेदनशील क्षेत्रमा गस्ती बढाउँदै आएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षा निगरानी र गस्ती बढाइएपछि पछिल्लो समय जिल्लामा आपराधिक घटनामा केही कमी आएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलका सुनिल सिंह हमालले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि आधुनिक प्रविधिमैत्री सुरक्षा प्रणाली अपनाउन सके अपराध न्यूनीकरणमा थप सहयोग पुग्ने बताउनुभयो।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले नेपाल–भारत सीमा क्षेत्रमा कुनै पनि आपराधिक गतिविधि हुन नदिन सुरक्षा व्यवस्था थप कडा पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नियमित समन्वय र गस्ती भइरहेको छ भने सीमा क्षेत्रमा कडा जाँच तथा आधिकारिक परिचयपत्रका आधारमा आवतजावत गर्ने व्यवस्था लागू गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सीमा क्षेत्रमा हुने चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सुरक्षा निकायबीच निरन्तर समन्वय भइरहेको बताउनुभयो। उहाँले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायबीचको सहकार्यसँगै नागरिकको सहयोगसमेत आवश्यक रहेको उल्लेख गर्नुभयो।
सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएसँगै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर, अपराध नियन्त्रण सुरक्षा निकायको मात्रै जिम्मेवारी नभई नागरिकको पनि उत्तिकै भूमिका रहने देखिन्छ। आफ्नो घर, टोल र समाजमा हुने शंकास्पद गतिविधिप्रति सचेत हुँदै त्यस्ता गतिविधिबारे समयमै सुरक्षा निकायलाई जानकारी गराउन सके सीमा क्षेत्रसहित समग्र जिल्लामा अपराध न्यूनीकरण गर्न थप सहयोग पुग्ने देखिन्छ।
[25/08, 6:20 pm] saralasubedi89: लुम्बिनीका करिब १२ सय पत्रकारको दुर्घटना बीमा हुँदै, पत्रकारिता छात्रवृत्तिको समेत तयारी
दाङ ,९ भदौ।
लुम्बिनी प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेशका करिब १२ सय पत्रकारको दुर्घटना बीमा गर्ने तयारी गरेको छ। पत्रकारको पेशागत सुरक्षा र कल्याणलाई ध्यानमा राख्दै प्रदेशका १२ वटै जिल्लाका पत्रकारको दुर्घटना बीमा गर्ने विषयमा छलफल अघि बढाइएको हो।
लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले मंगलबार नेपाल पत्रकार महासंघलगायत पत्रकारसँग सम्बन्धित विभिन्न संघ–संगठनका प्रतिनिधिसँग गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा दुर्घटना बीमाका विषयमा छलफल भएको हो।
प्रदेश सचिव भरतमणि पाण्डेको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले पत्रकार दुर्घटना बीमा कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिए।
उनका अनुसार पत्रकारिता क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा र क्षमता विकाससँगै पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति प्रदान गर्ने विषयमा समेत छलफल भएको छ।
छात्रवृत्तिमा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरिनेछ। समावेशी तथा विभिन्न कोटालाई समेत समेटेर छात्रवृत्ति वितरण गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको अध्यक्ष चौलागाईंले बताए।
त्यस्तै, प्रदेश सरकारले पत्रकारका लागि विनियोजन गरेको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टाछुट्टै कार्यविधि निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ।
अध्यक्ष चौलागाईंले पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास र अध्ययनलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारसँग समन्वय गरेर कार्यक्रम अघि बढाइने बताए।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं, निवर्तमान अध्यक्ष तथा सल्लाहकार बसन्त गिरी, उपाध्यक्ष रामप्रसाद आचार्य, संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष घनश्याम घिमिरे, फोनिज दाङका अध्यक्ष प्रेम राम्जा, महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, प्रेस चौतारी लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरे, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, सञ्चारिका समूहकी लक्ष्मी पोख्रेल तथा मन्त्रालयका शाखा अधिकृत केशरी शर्मा लगायतको सहभागिता रहेको थियो।
छलफल कार्यक्रमको सहजीकरण मन्त्रालयका वरिष्ठ उपसचिव सुरेशचन्द्र आचार्यले गरेका थिए।










