दाङ ,१० भदौ।
रसुवामा आएको अचानकको बाढीका कारण त्यसको प्रभाव लुम्बिनी प्रदेशको नारायणी नदीमा समेत पर्न सक्ने भएकाले नवलपरासी पश्चिमको सुस्तासहित नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री चेतनारायण आचार्यले अपिल गर्नुभएको छ ।
रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट नवलपरासी पश्चिमको सुस्ता क्षेत्रसमेत प्रभावित हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री आचार्यले सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यले प्रदेशका तीनवटै सुरक्षा निकाय तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूसँग नियमित सम्पर्कमा रही बाढीको अवस्थाबारे जानकारी लिइरहनुभएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आए त्यसका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिइएकाे छ ।
सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न सुरक्षित स्थानको पहिचान गर्न र आवश्यक परे तत्काल उद्धार तथा स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
यसैगरी, मौसम तथा नदीको बहावको अवस्थाका आधारमा रोल्पा जिल्लाका केही क्षेत्रमा समेत प्रभाव पर्न सक्ने प्रक्षेपणपछि त्यहाँका तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।
मुख्यमन्त्री आचार्यले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई नदी तथा खोलाको बहाव बढेको अवस्थामा अनावश्यक रूपमा किनारमा नजान, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गर्नुभएको छ ।
प्रदेश सरकार सम्भावित विपद्को जोखिम न्यूनीकरण, उद्धार तथा राहतका लागि आवश्यक समन्वय र तयारीमा रहेको जनाउँदै मुख्यमन्त्री आचार्यले विपद्को अवस्थामा सबै निकायबीच प्रभावकारी समन्वय गरी नागरिकको जिउधनको सुरक्षा गर्न प्राथमिकता दिइने बताउनुभएको छ ।









