धुवाँरहित चुलोले घटाउँदैछ दाउराको खपत, घरभित्रको प्रदूषण र स्वास्थ्य जोखिम

  • नमस्ते कर्णाली

  • बाँके ,११ भदौ।
    बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाँबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरणसँगै दाउराको खपत घटाउने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण अभियान सुरु गरेको छ। हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जानकी गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा सुधारिएको चुलो वितरण थालिएको हो।
    अभियानअन्तर्गत पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर २ र ३ का २ सय ९० घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ। गाउँपालिकाले आगामी दिनमा थप घरधुरीमा चुलो पुर्‍याउँदै कुल ७ सय ६७ घरपरिवारलाई सुधारिएको चुलो वितरण गर्ने लक्ष्य लिएको जनाएको छ।
    कार्यक्रमका लागि गाउँपालिकाले ६ लाख ९० हजार ३ सय रुपैयाँ बजेट विनियोजन गरेको छ भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारी ३६ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ। कार्यक्रमको कुल लागतमा हरित जलवायु कोषको ४० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ४० प्रतिशत, गाउँपालिकाको १५ प्रतिशत र उपभोक्ताको ५ प्रतिशत लागत साझेदारी रहेको गाउँपालिकाले जनाएको छ।
    परम्परागत चुलोबाट निस्कने धुवाँका कारण विशेषगरी गृहिणी तथा परिवारका अन्य सदस्यमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको अवस्थामा सुधारिएको चुलोको प्रयोगले घरभित्रको वायु प्रदूषण कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कम दाउरामा खाना पकाउन सकिने भएकाले दाउरा सङ्कलनमा लाग्ने समय, श्रम र खर्चसमेत घट्ने गाउँपालिकाको भनाइ छ।
    गाउँपालिका अध्यक्ष छब्बन खाँले नागरिकको स्वास्थ्य संरक्षणसँगै स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि सुधारिएको चुलोको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउनुभयो। सुधारिएको चुलोले दाउराको खपत घटाउनुका साथै चुलोको कार्यदक्षता बढाउने र भान्साभित्रको धुवाँ नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।
    “सुधारिएको चुलोको प्रयोगले धुवाँमा रहेका हानिकारक कण तथा ग्यासको मात्रा धेरै हदसम्म घटाउन सहयोग गर्छ। यसबाट दम, खोकी, निमोनिया, श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी समस्या, आँखा चिलाउने र टाउको दुख्नेजस्ता समस्याको जोखिम कम गर्न मद्दत पुग्छ,” अध्यक्ष खाँले भन्नुभयो।
    उहाँले गाउँपालिकाका सबै सम्भावित घरधुरीमा सुधारिएको चुलो पुर्‍याउने लक्ष्यसहित कार्यक्रमलाई क्रमशः विस्तार गरिने बताउनुभयो। स्वच्छ ऊर्जा प्रवर्द्धन, वातावरण संरक्षण र नागरिकको स्वास्थ्य सुधारलाई जोड दिँदै कार्यक्रम अघि बढाइएको उहाँको भनाइ छ।
    सुधारिएको चुलो पाएपछि स्थानीय गृहिणीसमेत उत्साहित भएका छन्। स्थानीय नुरबानो खाँले नयाँ चुलो प्रयोग गर्न थालेपछि भान्साको काम सहज हुनुका साथै दाउरा र समय दुवैको बचत भएको बताउनुभयो।
    “यसअघि भान्सा गर्न निकै समस्या हुन्थ्यो। अहिले सहज भएको छ। थोरै दाउरामा छिट्टै खाना पाक्ने भएकाले समय र दाउरा दुवैको बचत भएको छ,” उहाँले भन्नुभयो।
    सुधारिएको चुलोका कारण भान्साकोठा सफा र व्यवस्थित हुनुका साथै धुवाँको समस्या पनि कम भएको उहाँले बताउनुभयो। “पहिले भान्सा गर्नुपर्दा निकै गाह्रो लाग्थ्यो। अहिले चुलो सुधारिएपछि भान्साकोठा पनि चिटिक्क परेको छ,” उहाँले भन्नुभयो।
    जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले पहिलो चरणमा २ सय ९० घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको जानकारी दिनुभयो। लक्षित घरधुरीसम्म चुलो पुर्‍याउन ढुवानी तथा वितरणको कामलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो।
    “सुधारिएको चुलोको प्रयोगले दाउरा सङ्कलनमा लाग्ने समय र श्रम घटाउनुका साथै परिवारको आर्थिक भारसमेत कम गर्न सहयोग पुग्छ। घरभित्रको धुवाँ कम हुँदा नागरिकको स्वास्थ्यसँगै वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पर्छ,” उपाध्यायले भन्नुभयो।
    उहाँले सुधारिएको चुलोको प्रभावकारी प्रयोग, संरक्षण र निरन्तरताका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
    कार्यक्रमको आर्थिक व्यवस्थापन तथा लागत साझेदारीमा पारदर्शितालाई प्राथमिकता दिइएको वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले बताउनुभयो।
    चुलो वितरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता थियो। कार्यक्रममा वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, वडा नम्बर १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नम्बर २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नम्बर ३ का अध्यक्ष राजकुमार कुर्मी, वडा नम्बर ४ का अध्यक्ष रमेश कुमार वर्मा, वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादव, वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, सूचना प्रविधि अधिकृत विकास जिसी, योजना शाखा प्रमुख शोभा पौडेल, प्रशासन शाखा प्रमुख गोपी चौलागाई, जिन्सी शाखा प्रमुख राजु यादव र सामाजिक परिचालक निरा हमाललगायतको सहभागिता थियो।
    गाउँपालिकाले सुधारिएको चुलो वितरणलाई चुलो बाँड्ने कार्यक्रमका रूपमा मात्र नभई नागरिकको स्वास्थ्य संरक्षण, दाउराको खपत न्यूनीकरण, वातावरण संरक्षण तथा गृहिणीको समय र श्रम बचत गर्ने एकीकृत अभियानका रूपमा अघि बढाएको जनाएको छ। लागत साझेदारीमा सञ्चालित अभियानले स्थानीयस्तरमा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्दै परम्परागत चुलोबाट हुने धुवाँजन्य जोखिम न्यूनीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

  • ११ भाद्र २०८३, बिहीबार ०६:२१ प्रकाशित

  • Nabintech