बर्दिया,१५ भदौ ।
सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले पटक–पटक सरकार परिवर्तन भए पनि आफूहरूको पीडा र वर्षौंदेखिको माग सम्बोधन हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले बेपत्ता पारिएका आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
१६औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा बर्दियाको गुलरियामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी द्वन्द्वपीडित परिवारले पुराना राजनीतिक दलले आफ्ना समस्या बेवास्ता गरेकै कारण नयाँ दललाई अवसर दिए पनि अहिले पनि बेपत्तासम्बन्धी मुद्दा ओझेलमा परेको गुनासो गरेका हुन्।
पीडितहरूले २०६३ सालमा विस्तृत शान्ति सम्झौता भएदेखि नै बेपत्ता पारिएका आफन्तको अवस्था पत्ता लगाउन निरन्तर माग गर्दै आए पनि २० वर्ष पुग्न लाग्दासमेत आफूहरूले न्याय पाउन नसकेको बताएका छन्।
बढैयाताल गाउँपालिका निवासी बेपत्ताकी श्रीमती जुना सापकोटाले पुराना राजनीतिक दलले बेपत्ता पारिएका व्यक्तिको मुद्दालाई प्राथमिकता नदिएपछि नयाँ दललाई जिताएर पठाएको बताउनुभयो। तर, सरकार परिवर्तन भए पनि आफ्नो समस्या समाधान नभएको उहाँको गुनासो छ।
उहाँले बिना ठोस निष्कर्ष बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि गठित आयोग विघटन गरिएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। “वर्षौँदेखि आफन्तको अवस्था पत्ता लाग्ने आशामा बसेका छौँ, तर अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन,” उहाँले भन्नुभयो।
बारबर्दिया नगरपालिका निवासी बेपत्ताकी श्रीमती देविसरा वलीले आफूहरूको समस्या समाधान नभए आगामी निर्वाचन बहिष्कार गर्ने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो समस्या कसैले समाधान नगर्ने हो भने आगामी चुनाव द्वन्द्वपीडित परिवार सबै मिलेर बहिष्कार गर्छौँ । समाजमा नेताहरूलाई छिर्न दिँदैनौँ।”
कार्यक्रममा सहभागी द्वन्द्वपीडित परिवारले भने अहिलेको सरकारले लामो समयदेखि थाती रहेको बेपत्तासम्बन्धी विषयलाई गम्भीरतापूर्वक लिएर आफन्तको अवस्था सार्वजनिक गर्नेमा आफूहरू आशावादी रहेको बताएका छन्। उनीहरूले बेपत्ता पारिएका व्यक्तिको अवस्था पत्ता लगाउने, पीडित परिवारलाई न्याय दिलाउने तथा उचित परिपूरणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
अन्तरक्रियामा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि लामो समयदेखि पीडामा रहेका द्वन्द्वपीडित परिवारको समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्ने बताएका छन्। उनीहरूले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्नुका साथै पीडित परिवारलाई न्याय, परिपूरण र आवश्यक सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुस्मा थारूले आफू पनि बेपत्ता पारिएका व्यक्तिको परिवारको सदस्य भएको बताउँदै बेपत्ता पारिएका व्यक्तिको समस्या समाधानका लागि प्रतिबद्ध भएर पहल गर्ने बताउनुभयो।
उहाँले वर्षौँदेखि न्यायको प्रतीक्षामा रहेका द्वन्द्वपीडित परिवारको पीडा आफूले नजिकबाट बुझेको भन्दै राज्यले बेपत्ता पारिएका व्यक्तिको खोजी, पहिचान तथा पीडित परिवारको न्यायको सवाललाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा द्वन्द्वपीडित समितिको अगुवाइमा गुलरियामा र्यालीसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा द्वन्द्वपीडित परिवार, राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।









