बर्दिया ,१७ भदौ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बर्दियाको गेरुवा गाउँपालिका–२ भैरमपुरका सात जना सम्पर्कविहीन भएपछि सिंगो टोल शोक र चिन्तामा डुबेको छ। रसुवागढीस्थित भन्सार कार्यालयको भवन निर्माणका लागि गएका उनीहरू बाढी आएको सात दिन बितिसक्दा पनि परिवारको सम्पर्कमा आएका छैनन्।
गेरुवा–२ का वडाध्यक्ष कृष्ण थारूका अनुसार भैरमपुरका सातै जना मङ्गलबारसम्म सम्पर्कविहीन छन्। उनीहरू गत साउन १४ गते गाउँबाट रसुवा भन्सार कार्यालयको भवन निर्माणमा मजदुरी गर्न गएका थिए।
सम्पर्कविहीन हुनेमा ३१ वर्षीय पदम थारू, उनका सहोदर भाइ बालकुमार थारू र काकाका छोरा पञ्चराम थारूसहित सात जना छन्।
पदमकी श्रीमती शिवा थारू श्रीमान् सम्पर्कविहीन भएपछि विक्षिप्तजस्तै बनेकी छन्। सात दिनदेखि श्रीमान्को कुनै खबर नआएपछि उनले खाना समेत खान नसकेको परिवारले जनाएको छ।
बालकुमारका दाजु शिलुप्रसाद थारूले भाइसहित सम्पर्कविहीन भएका सबैको अवस्था अझै अज्ञात रहेको बताए। बालकुमारकी आमा रामकुमारी थारू छोराको अवस्थाबारे कुरा गर्दा भक्कानो छोडेर रुने गरेकी छन्।
‘सरकार, मेरो छोरालाई सकुशल उद्धार गरिदिनुपर्यो,’ उनले भावुक हुँदै भनिन्।
भैरमपुर टोलका सात जना एकैपटक सम्पर्कविहीन भएपछि अधिकांश परिवारमा सन्नाटा छाएको वडासदस्य इन्दिरा सापकोटाले बताइन्। आर्थिक रूपमा कमजोर परिवारका मुख्य सहारा नै सम्पर्कविहीन भएपछि उनीहरूको पीडा झनै बढेको उनको भनाइ छ।
‘अधिकांश परिवार चिन्ताले थलिएका छन्,’ उनले भनिन्।
गेरुवा गाउँपालिका–२ कै सन्तोष न्यौपाने पनि भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन्। रसुवामा काम गर्न गएका छोरा सकुशल घर फर्किने आशामा उनकी आमा ज्योतिले निरन्तर सोधपुछ गरिरहेकी छन्।
खोजीका लागि भरतपुर पुगे १३ जना
सम्पर्कविहीन भएकाहरूको खोजी तथा पहिचानका लागि गेरुवा गाउँपालिकाले पहल थालेको छ। आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले वडा नम्बर २ र ५ का वडाध्यक्षसहित पीडित परिवारका सदस्यलाई चितवनको भरतपुर पठाउने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार पीडित परिवारका सदस्यसहित १३ जना खोजीका लागि भरतपुर पुगेका छन्। गाउँपालिकाले खोजीमा जाने प्रत्येक व्यक्तिलाई १० हजार रुपैयाँका दरले यातायात खर्च उपलब्ध गराएको वडा नम्बर २ का अध्यक्ष थारूले बताए।
गेरुवा–५ का चार मजदुर पनि सम्पर्कविहीन
गेरुवा गाउँपालिका–५ का चार जना मजदुर पनि भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन्। उनीहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएको वडा नम्बर ५ का अध्यक्ष धर्मबहादुर थारूले बताए।
भरतपुर पुगे पनि बाढीपछि विभिन्न स्थानमा भेटिएका शवको पहिचान गर्न कठिनाइ भइरहेको उनले बताए।
‘अब शव राखिएका अन्य ठाउँमा पनि खोजीका लागि जानेछौं,’ उनले भने।
बर्दियाका ९० जना अझै सम्पर्कविहीन
जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार रसुवाको भोटेकोशी बाढीपछि जिल्लाका ९० जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा गुलरिया–५ का इन्जिनियर शिशिर गिरीसहित कर्मचारी, मजदुर तथा रसुवा घुम्न गएका बर्दियावासी छन्।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै बारबर्दिया नगरपालिकाका २५ जना छन्। त्यस्तै, बाँसगढी नगरपालिकाका १८, राजापुर नगरपालिकाका १६, गेरुवा गाउँपालिकाका १४, ठाकुरबाबा नगरपालिकाका १३, गुलरिया नगरपालिकाका २ र मधुवन नगरपालिकाका १ जना सम्पर्कविहीन छन्। अन्य दुई जनाको ठेगाना खुल्न सकेको छैन।
प्रशासनका अनुसार बाढीका कारण सम्पर्कविहीन भएकामध्ये केही रोजगारीका लागि रसुवा पुगेका मजदुर तथा कर्मचारी छन् भने केही बर्दियाबाट घुमफिरका लागि रसुवा पुगेका थिए।
भोटेकोशी बाढीमा परेर आफ्ना आफन्तको अवस्था अज्ञात भएपछि बर्दियाका विभिन्न गाउँमा अहिले परिवारको पीडा र प्रतीक्षाको अवस्था छ। आफन्तहरू सुरक्षित उद्धार हुने आशामा सरकारी निकायबाट खोजी तथा उद्धार तीव्र पारिने प्रतीक्षामा छन्।









