बाँके ,२८ भदौ ।
धानमा गाँज लाग्ने महत्वपूर्ण समयमा रासायनिक मलको अभाव भएपछि बाँकेका किसान चिन्तित बनेका छन्। ढिलो गरी वर्षा भए पनि गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढेको अवस्थामा आवश्यक समयमा मल नपाउँदा उत्पादन प्रभावित हुने किसानको गुनासो छ।
हरेक वर्ष धानमा मल हाल्ने मुख्य समयमा मलको अभाव झेल्दै आएका किसानले यस वर्ष पनि उस्तै समस्या दोहोरिएको बताएका छन्। धानमा गाँज लाग्ने समय सुरु भइसके पनि बजारमा युरिया तथा अन्य रासायनिक मल सहज रूपमा उपलब्ध नहुँदा किसान समस्यामा परेका हुन्।
नरैनापुरका किसान नजिर खाँले धानमा गाँज लाग्न थालेकाले अहिले मल अत्यावश्यक भए पनि बजारमा नपाइएको बताउनुभयो।
“धानमा गाँज लाग्न थालेको छ। अहिले मल चाहिएको छ, तर मल पाइँदैन,” उहाँले भन्नुभयो, “समयमा मल नपाएपछि धानको उत्पादन घट्ने चिन्ता लागेको छ।”
उहाँका अनुसार विगतमा नेपालमा मल नपाउँदा सीमापारिबाट दुई–चार बोरा मल ल्याएर किसानले आवश्यकता पूरा गर्दै आएका थिए। तर यस वर्ष सीमामा कडाइ गरिएकाले एक बोरा मलसमेत ल्याउन नपाएको उहाँले बताउनुभयो।
बेतहनीका किसान श्याम खटिकले पनि धानमा गाँज लाग्ने समयमा मल नपाउँदा किसानलाई समस्या भएको बताउनुभयो।
“धानमा गाँज लाग्ने बेला मल हाल्नुपर्छ। अहिले मल छैन,” उहाँले भन्नुभयो, “विगतमा नेपालमा नपाए सीमापारिबाट ल्याएर काम चलाउँथ्यौँ। यसपटक नाकामा कडाइ भएकाले ल्याउन पनि पाइएन।”
नेपालगन्ज क्षेत्रका किसान रामप्रसाद यादवले पनि हरेक वर्ष धानमा मल आवश्यक पर्ने समयमा अभाव हुने गरेको बताउनुभयो। मलका लागि सहकारी र कृषि सामग्री बिक्री केन्द्रमा धाउँदा पनि आवश्यक परिमाणमा नपाउने अवस्था रहेको उहाँको गुनासो छ।
“धान रोप्ने बेलामा पनि मलको समस्या हुन्छ, गाँज लाग्ने बेला पनि मल खोज्नुपर्छ,” उहाँले भन्नुभयो, “किसानले समयमै मल पाए उत्पादन बढाउन सक्छन्। तर मल चाहिने बेलामा नपाएपछि लगानीअनुसारको उत्पादन नहुने डर हुन्छ।”
३३ हजार ५०३ हेक्टरमा धान रोपाइँ
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। जिल्लामा धान खेती हुने कुल ३३ हजार ५७० हेक्टर क्षेत्रफलमध्ये ९९ दशमलव ८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ।
केन्द्रकी सूचना अधिकारी सुजिता शर्माका अनुसार गत वर्ष बाँकेमा ९९ दशमलव ५ प्रतिशत धान रोपाइँ भएको थियो। यस वर्ष रोपाइँको क्षेत्रफल केही बढेको भए पनि धानको वृद्धि–विकासका लागि आवश्यक समयमा रासायनिक मल उपलब्ध नहुँदा उत्पादनमा असर पर्न सक्ने उहाँले बताउनुभयो।
उहाँका अनुसार धान रोपेको करिब २० देखि २५ दिनमा गाँज लाग्ने भएकाले त्यस समयमा रासायनिक मलको आवश्यकता पर्छ। त्यसैगरी धान रोपेको करिब ५० दिनपछि बाला पसाउने समयमा पनि मल आवश्यक हुन्छ।
“धानमा गाँज लाग्ने र बाला पसाउने दुवै समयमा मल आवश्यक हुन्छ। अहिले किसानले मल नपाएको गुनासो गरिरहेका छन्,” शर्माले भन्नुभयो, “समयमै मल उपलब्ध हुन नसकेमा यस वर्ष धानको उत्पादन घट्न सक्छ।”
गत वर्ष बाँकेमा करिब एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यस वर्ष धान रोपाइँको क्षेत्रफल बढेकाले उत्पादन पनि बढ्ने अपेक्षा गरिएको भए पनि मल अभावले त्यसमा चुनौती थपिएको छ।
मागअनुसार मल नआउँदा अभाव
कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रमुख पुष्पराज श्रेष्ठले किसानको मागअनुसार रासायनिक मल प्राप्त हुन नसक्दा जिल्लामा अभाव देखिएको बताउनुभयो।
उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले बाँकेका लागि चार हजार ८२२ मेट्रिक टन युरिया, दुई हजार ६३३ मेट्रिक टन डिएपी र २०७ मेट्रिक टन पोटास बिक्री गरेको थियो।
चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म एक हजार १७ मेट्रिक टन युरिया, २९९ दशमलव ४०० मेट्रिक टन डिएपी र २७ दशमलव ३५० मेट्रिक टन पोटास स्थानीय तहमा पठाइएको श्रेष्ठले जानकारी दिनुभयो।
किसानको मागको तुलनामा प्राप्त मलको मात्रा निकै कम रहेकाले जिल्लामा अभाव भएको उहाँले बताउनुभयो।
विगतमा नेपालमा मलको अभाव हुँदा सीमापारिबाट मल ल्याएर केही हदसम्म आवश्यकता पूरा गर्दै आएका किसानले यस वर्ष सीमा क्षेत्रमा कडाइ भएपछि त्यो विकल्पसमेत गुमाएका छन्। फलस्वरूप धानमा मल हाल्ने महत्वपूर्ण समयमै किसानले मलका लागि भौँतारिनुपर्ने अवस्था आएको छ।
धान रोपाइँको क्षेत्रफल बढे पनि उत्पादन बढाउन आवश्यक मल समयमै उपलब्ध नहुँदा किसानको चिन्ता बढेको छ। धानमा गाँज लाग्ने र बाला पसाउने महत्वपूर्ण चरणमा मलको सहज आपूर्ति हुन नसके उत्पादनसँगै उत्पादकत्वमा समेत असर पर्ने कृषि क्षेत्रका अधिकारीहरूको भनाइ छ।









