भारतीय तरकारीमा भन्सार कडाइसँगै बाँकेका किसानलाई बजारको भर

खेतबारीबाटै राम्रो मूल्य पाउन थालेपछि व्यावसायिक तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै


  • नमस्ते कर्णाली

  • बाँके ,१ असोज।
    भारतबाट आयात हुने सागसब्जीमा भन्सारमा कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको तरकारीले स्थानीय बजारमा राम्रो मूल्य पाउन थालेको छ । भारतीय तरकारीको सहज र सस्तो आयातका कारण लामो समयदेखि बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भोग्दै आएका किसानले अहिले आफ्नै उत्पादनको उचित मूल्य पाउन थालेपछि उत्साहित भएका छन् ।
    तरकारीले बजार र मूल्य पाउन थालेसँगै बाँकेका विभिन्न क्षेत्रमा व्यावसायिक सागसब्जी खेती गर्ने किसानको संख्या पनि बढ्दै गएको छ । डुडुवा गाउँपालिका–६ हिरमिनिया, नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुर, १७ परसपुर, १९ बसुदेवपुर, २१ पुरैनी र २२ पुरैनालगायतका गाउँमा किसानले व्यावसायिक रूपमा विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएका छन् ।
    पहिले उत्पादन गरेको तरकारी बिक्रीका लागि टाढाटाढासम्म पुग्नुपर्ने अवस्था रहे पनि अहिले खेतबारीबाटै बिक्री हुन थालेपछि किसानलाई सहज भएको नेपालगन्ज–२१ पुरैनीका सलाउद्दीन बागवानले बताउनुभयो ।
    “पहिले तरकारी बिक्री गर्न बजार खोज्दै टाढा जानुपथ्र्यो । अहिले खेतमै व्यापारी आउने र उत्पादनअनुसार राम्रो मूल्य पनि दिन थालेका छन्,” उहाँले भन्नुभयो, “तरकारी खेतीबाट आम्दानी राम्रो हुन थालेपछि गाउँका धेरै किसान यसतर्फ आकर्षित भएका छन् ।”
    भारतबाट आयात हुने तरकारीमा भन्सार प्रक्रिया कडाइ भएपछि स्थानीय उत्पादनले बजार पाउन थालेको नेपालगन्जस्थित रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अहिले रानीतलाउ बजारमा बाँकेमै उत्पादन भएका सागसब्जीको हिस्सा बढेको छ ।
    “अहिले बजारमा बाँकेका किसानले उत्पादन गरेका तरकारी पर्याप्त मात्रामा आउन थालेका छन्,” उहाँले भन्नुभयो, “भारतबाट तरकारी ल्याउँदा भन्सार तिर्नुपर्ने भएकाले आयातीत तरकारीको लागत बढेको छ । त्यसको तुलनामा स्थानीय उत्पादन सहज र प्रतिस्पर्धी भएपछि किसानले पनि बजार पाउन थालेका छन् ।”
    भारतीय तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा विगतमा स्थानीय किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको रानीतलाउ थोक तरकारी मण्डीका थोक व्यवसायी मोहियुद्दिन राईले बताउनुभयो । अहिले भारतीय तरकारीको आयातमा कडाइ भएपछि स्थानीय उत्पादनको माग बढेको उहाँको भनाइ छ ।
    “पहिले भारतबाट सस्तोमा तरकारी आउने भएकाले स्थानीय किसानलाई समस्या हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले स्थानीय उत्पादनले राम्रो मूल्य पाउन थालेको छ । यसले किसानलाई थप उत्पादन गर्न हौसला दिएको छ ।”
    बजारमा तरकारीको मूल्य र माग बढेपछि विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत व्यावसायिक खेतीतर्फ लाग्न थालेका छन् । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार पछिल्लो समय सागसब्जी खेती नगदे बालीका रूपमा विकास हुँदै गएकाले किसानको आकर्षण बढेको हो ।
    “बजारमा उत्पादनले राम्रो मूल्य पाउन थालेपछि किसानहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्,” शर्माले भन्नुभयो, “विगतमा घरायसी प्रयोजनका लागि मात्रै तरकारी उत्पादन गर्ने किसानले पनि अहिले बजारलाई लक्षित गरेर खेती गर्न थालेका छन् ।”
    कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा हाल ६ हजार ३५२ हेक्टर जमिनमा वार्षिक १३ हजार मेट्रिक टनभन्दा बढी सागसब्जी उत्पादन हुने गरेको छ । किसानलाई उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रमअन्तर्गत एक हजार ३५० किसानलाई लौका, फर्सी, करेलालगायत हिउँदे सागसब्जीका बीउसमेत वितरण गरेको छ ।
    अहिले नेपालगन्जको बजारमा बाँकेका किसानले व्यावसायिक रूपमा उत्पादन गरेका फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेडा, खुर्सानीलगायतका तरकारीको आपूर्ति भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
    स्थानीय उत्पादनले स्थानीय बजारमै राम्रो मूल्य पाउन थालेपछि किसानमा तरकारी खेतीप्रतिको आकर्षणसँगै उत्पादन बढाउने उत्साहसमेत थपिएको छ । किसानले उत्पादन गरेको कृषि उपजले बजार पाउने र उचित मूल्य सुनिश्चित हुने हो भने बाँकेमा तरकारी खेती अझ विस्तार हुने अपेक्षा गरिएको छ । यसले किसानको आम्दानी बढाउनुका साथै बाह्य मुलुकबाट हुने तरकारी आयात घटाउनसमेत सहयोग पुग्ने देखिएको छ ।

  • १ आश्विन २०८३, बिहीबार १२:०९ प्रकाशित

  • Nabintech