बाँके ,५असोज ।
बाँकेको कोहलपुर नगरपालिका–७ मा हाडजोर्नी तथा नशारोगसम्बन्धी निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई आफ्नै समुदायमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कौशल्या मेमोरियल अस्पताल कोहलपुरको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा वडा कार्यालयमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा हाडजोर्नी तथा नशारोगसम्बन्धी विभिन्न समस्या भएका ६५ जनाले स्वास्थ्य जाँच तथा चिकित्सकीय परामर्श सेवा लिएका छन्। अस्पतालका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. घनश्याम चापागाईंको नेतृत्वमा बिरामीको स्वास्थ्य परीक्षण, समस्या पहिचान तथा आवश्यक उपचार र परामर्श प्रदान गरिएको अस्पतालले जनाएको छ।
शिविरमा स्वास्थ्य जाँचका लागि आएका अधिकांशमा घुँडाको जोर्नी दुख्ने, कुम तथा काँधमा समस्या, घाँटी तथा गर्दन दुख्ने, जोर्नीसम्बन्धी समस्या लगायतका समस्या बढी देखिएको डा. चापागाईंले बताउनुभयो।
उमेर बढ्दै जाँदा देखिने हाडजोर्नीसम्बन्धी समस्यासँगै पछिल्लो समय लामो समयसम्म एउटै अवस्थामा बसेर काम गर्ने, शारीरिक गतिविधि कम गर्ने, गलत आसनमा बस्ने तथा दैनिक जीवनशैलीमा आएको परिवर्तनका कारण पनि यस्ता समस्या बढ्दै गएको उहाँले जनाउनुभयो। समयमै स्वास्थ्य परीक्षण गराई चिकित्सकको सल्लाहअनुसार उपचार तथा जीवनशैलीमा सुधार गर्न सके हाडजोर्नीसम्बन्धी धेरै समस्यालाई जटिल बन्नबाट रोक्न सकिने डा. चापागाईंको भनाइ छ।
कौशल्या मेमोरियल अस्पतालका एमडी चन्द्र महतोका अनुसार अस्पतालले कोहलपुर नगरपालिकाका विभिन्न वडामा असोज २४ गतेसम्म १५ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ। स्थानीय नागरिकलाई विभिन्न रोग तथा स्वास्थ्य समस्यासँग सम्बन्धित विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो।
स्वास्थ्य संस्थासम्म पुगेर विशेषज्ञ चिकित्सकसँग परामर्श लिन कठिनाइ हुने तथा सामान्य स्वास्थ्य समस्यालाई बेवास्ता गर्दै आएका नागरिकलाई लक्षित गरी शिविरमार्फत सेवा प्रदान गरिने महतोले जानकारी दिनुभयो। उहाँका अनुसार समुदायमै विशेषज्ञ सेवा उपलब्ध गराउँदा स्वास्थ्य समस्या समयमै पहिचान हुनुका साथै उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ।
यसैक्रममा भोलि कोहलपुर नगरपालिका–८ मा प्रसूति तथा स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। शिविरमा अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कविता सापकोटाले सेवा प्रदान गर्नुहुनेछ।
शिविरमा महिला तथा किशोरीमा देखिने स्त्रीरोगसम्बन्धी समस्या, गर्भावस्था, प्रसूति तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याको स्वास्थ्य जाँच तथा विशेषज्ञ परामर्श उपलब्ध गराइने अस्पतालले जनाएको छ।
स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यमा सुरु गरिएको निःशुल्क स्वास्थ्य शिविरले सामान्य स्वास्थ्य परीक्षणसँगै विशेषज्ञ स्वास्थ्य सेवा पनि समुदायस्तरसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्वास्थ्य समस्यालाई सुरुवाती चरणमै पहिचान गरी आवश्यक उपचार र परामर्श लिन नागरिकलाई प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।









