बर्दिया ,६ असोज ।
कर्णाली नदीको पानीमा निर्भर बर्दियाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानका लागि वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले राजापुर सिँचाइ प्रणालीको सुधार तथा आधुनिकीकरण सुरु गरिएको छ। लामो समयदेखि जीर्ण, अव्यवस्थित र कमजोर सिँचाइ प्रणालीका कारण पर्याप्त पानी नपाउँदा समस्या भोग्दै आएका किसानलाई लक्षित गरी सिँचाइ प्रणालीको स्तरोन्नतिको काम अघि बढाइएको हो।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका करिब १६ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना सञ्चालनमा ल्याइएको छ। चार अर्ब ५८ करोड ९५ लाख रुपैयाँ लागतमा सञ्चालन भइरहेको आयोजना सन् २०२५ जुनमा सम्झौता भई सन् २०३० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
राजापुर क्षेत्रकै ठूलो सिँचाइ पूर्वाधार योजनामध्ये एक मानिएको यो आयोजना तीन चरणमा कार्यान्वयन गरिनेछ। हाल दुईवटा ठेक्कामार्फत निर्माणका काम अघि बढिरहेका छन्।
आयोजनाको मुख्य उद्देश्य राजापुर सिँचाइ प्रणालीको स्तरोन्नति, पुनःस्थापना तथा आधुनिकीकरण गरी कर्णाली नदीको पानीलाई व्यवस्थित रूपमा नहर प्रणालीमा प्रवाह गराउनु हो। वर्षभरि नै खेतसम्म सिँचाइको पानी पुर्याउने तथा सिँचाइ व्यवस्थापनलाई प्रभावकारी र दिगो बनाउँदै कृषि उत्पादन बढाउने लक्ष्यसमेत आयोजनाले लिएको छ।
राजापुर सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी तथा प्रमुख डिभिजन इन्जिनियर विक्रम राईका अनुसार चारगाउँ र नयाँगाउँ क्षेत्रमा पानी निकास संरचना (एस्केप) निर्माणको काम सम्पन्न भइसकेको छ। कर्णाली नदीमा करिब दुई किलोमिटर नदी किनार संरक्षणका लागि तटबन्ध निर्माणको काम सुरु भएको छ भने बालुवा थिग्रयाउने संरचना निर्माणको कामसमेत अघि बढिरहेको छ।
आयोजनाअन्तर्गत थप दुईवटा कामका लागि बोलपत्र आह्वान भइसकेको कार्यालयले जनाएको छ। लामो समयदेखि बुढीकुलोको मुहानसम्म पानी ल्याउन समस्या हुँदै आएको स्थानमा आठ सय मिटर लामो पक्की संरचना निर्माण गरिनेछ।
हरेक वर्ष किसानले कर्णाली नदीमा अस्थायी बाँध बनाएर सिँचाइको पानी ल्याउँदै आएका छन्। बर्खा र नदीको बहाव बढेका बेला त्यस्ता संरचना भत्किने तथा पुनःनिर्माण गर्नुपर्ने समस्या किसानले झेल्दै आएका छन्। नयाँ योजनाअनुसार हरेक वर्ष कच्ची बाँध निर्माण गर्नुपर्ने स्थानमा बिग बोल्डर प्रयोग गरी स्थायी संरचना निर्माण गरिनेछ।
यसबाट नदीमा पटक–पटक जाली लगाउने, कच्ची बाँध बाँध्ने र जोखिम मोलेर मुहानसम्म पानी ल्याउने किसानको बाध्यता अन्त्य हुने सूचना अधिकारी राईले बताउनुभयो।
त्यस्तै, गोला कुलोमा सेटलिङ बेसिन निर्माण तथा साविकका ११ वटै गाविसअन्तर्गत आवश्यक स्थानमा नहर लाइनिङ गर्ने कामसमेत अघि बढाइएको छ। नहर लाइनिङ भएपछि पानी चुहावट कम हुने र उपलब्ध पानीलाई थप प्रभावकारी रूपमा खेतसम्म पुर्याउन सकिने अपेक्षा गरिएको छ।
संयुक्त बुढीकुलो गोला–पाताभार जल उपभोक्ता समितिका उपाध्यक्ष धनबहादुर शाहीले आयोजना सम्पन्न भएपछि कर्णाली नदीको पानी वर्षभरि नै नहरमार्फत खेतसम्म पुर्याउन सहज हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार अहिले सिँचाइका लागि किसानले हरेक वर्ष नदीमा अस्थायी बाँध निर्माण गर्नुपर्ने बाध्यता छ। यस क्रममा जोखिमपूर्ण अवस्थामा काम गर्नुपर्दा दुर्घटना हुने र मानवीय क्षतिसमेत हुने गरेको उहाँले बताउनुभयो।
“पानीको अभावमा किसानहरू हरेक वर्ष नदीमा बाँध बाँध्न जानुपर्ने र ज्यान गुमाउनुपर्ने बाध्यता छ। आयोजनाले त्यसको अन्त्य गर्छ कि भन्ने अपेक्षा छ,” शाहीले भन्नुभयो।
राजापुर क्षेत्र विशेषगरी चैते धान उत्पादनका लागि समेत परिचित छ। तर पर्याप्त र नियमित सिँचाइको अभावमा किसानले अपेक्षाअनुसार खेती गर्न नसकिरहेको अवस्था छ। आयोजना सम्पन्न भएर वर्षभरि सिँचाइ सुविधा उपलब्ध भए कृषि उत्पादन बढ्ने अपेक्षा गरिएको छ।
गेरुवा गाउँपालिका–४ गिदरपुरका किसान पुस्कर काफ्लेले राजापुर क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध भए चैते धानलगायत अन्य बालीको उत्पादन बढ्ने बताउनुभयो। नियमित रूपमा पानी उपलब्ध हुँदा किसानलाई समयमै खेती गर्न सहज हुने र उत्पादन तथा आम्दानीसमेत बढ्ने उहाँको विश्वास छ।
आयोजना सम्पन्न भएपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका हजारौँ किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। खेतमा आवश्यक समयमा पर्याप्त पानी उपलब्ध गराउने लक्ष्यसहित अघि बढाइएको सिँचाइ प्रणालीको आधुनिकीकरणले यस क्षेत्रको कृषि उत्पादन बढाउनुका साथै किसानको आम्दानी र खाद्य सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
वर्षौँदेखि कर्णाली नदीको पानी खेतसम्म पुर्याउन संघर्ष गर्दै आएका किसानका लागि आधुनिक सिँचाइ प्रणालीको निर्माण केवल पूर्वाधार विकासको विषय मात्र नभई खेतीको सुनिश्चितता र आयआर्जनसँग जोडिएको विषय बनेको छ। आयोजना निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न भए राजापुर क्षेत्रको कृषि प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउने आधार तयार हुने देखिएको छ।










