भेरीगंगामा छड्के बजारमा अनुगमन म्याद गुज्रिएका सामग्री नष्ट

  • नमस्ते कर्णाली

  • भेरीगंगा, ८ असोज । 

    नजिकिँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुर्खेतको भेरीगंगा नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । मंगलबार र बुधबार भेरीगंगाका विभिन्न बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको हो । 

    भेरीगंगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय सुर्खेत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत, उद्योग वाणिज्य संघ भेरी र घरेलु तथा साना उद्योग महासंघ भेरीगंगाको संयुक्त टोलीले छिन्चु, रामघाट, जहरे र झिङ्गी बजारमा अनुगमन गरेको थियो । 

    अनुगमनका क्रममा खाद्यान्न तथा किराना पसल, गोदाम, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल, मिठाई पसल, डेरी, होटल, भेटेरिनरी तथा मेडिकललगायतका व्यवसायको अनुगमन गरिएको थियो । 

    अनुगमनका क्रममा नौ दर्जनभन्दा बढी पसलको अनुगमन गरी १ लाख ४० हजार ९ सय ६८ रुपैयाँ बराबरका म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री जफत गरी नष्ट गरिएको छ । जफत गरिएका सामग्रीमा म्याद गुज्रिएका खाद्यवस्तु, खाद्यान्न, मिठाई, एग्रोभेटका बीउबिजन तथा औषधि, औषधिजन्य सामग्री र जङ्क फुडलगायत रहेका छन्। ।

    चाडपर्वको समयमा व्यापारीबाट जथाभावी मूल्य असुल्ने तथा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने सम्भावना बढ्ने भएकाले बजार अनुगमनलाई तीव्रता दिइएको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । 

    भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्राकुमारी डाँगीका अनुसार अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री बिक्री नगर्न व्यवसायीलाई सुझाव तथा चेतावनी दिइएको छ । साथै व्यवसाय दर्ता नगरी सञ्चालन गरिएका पसलसमेत फेला परेका छन् । 

    दर्ता नगरी सञ्चालन गरिएका व्यवसायीलाई तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको उनले बताइन् । डाँगीले भेरीगंगा क्षेत्रभित्र व्यवसाय दर्ता नगरी पसल सञ्चालन गरिरहेका व्यवसायीलाई नगरपालिकाको उद्योग विकास तथा सहकारी शाखामा व्यवसाय दर्ता गरी सञ्चालन गर्न आग्रहसमेत गरिन् ।

  • ८ आश्विन २०८३, बिहीबार १६:३२ प्रकाशित

  • Nabintech