कर्णाली, ८ असोज ।
कर्णाली प्रदेश सरकारले शुक्रबारदेखि आइतबारसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले ५ असोजमा जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार ९ देखि ११ असोजसम्म कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ। विशेषगरी नदी तथा खोला किनार, बाढीको जोखिम भएका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र तथा सडक आसपासका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी सुरेन्द्र शाहीका अनुसार जोखिमयुक्त सडकमा अत्यधिक वर्षा भइरहेको समयमा रातको समयमा सकेसम्म यात्रा नगर्न आग्रह गरिएको छ। अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरेमा सडकको अवस्था तथा स्थानीय प्रशासन र यातायातसम्बन्धी सूचना लिएर मात्र यात्रा गर्न भनिएको छ।
सम्बन्धित जिल्ला प्रशासन, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई सर्वसाधारणलाई पूर्वसूचनाबारे जानकारी गराउँदै आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो।
‘सडकमा पहिरो जाने, ढुंगा खस्ने, सडक भासिने वा पानीको बहाव बढेको अवस्था देखिएमा जोखिम मोलेर बाटो पार नगर्न अनुरोध गरिएको छ,’ सूचना अधिकारी शाहीले भन्नुभयो, ‘त्यस्तो अवस्थामा सुरक्षित स्थानमा रोकिने र सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने व्यवस्था गर्न भनिएको छ।’
सम्भावित सडक अवरोध तत्काल हटाउन जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, वडा कार्यालय, आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा सुरक्षा निकायबाट जारी हुने निर्देशन पालना गर्न पनि प्रदेश सरकारले आग्रह गरेको छ। पूर्वसूचनाका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक पहल गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई भनिएको छ।
त्यस्तै, आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा नदी किनारका बस्ती र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष चनाखो रहन आग्रह गरिएको छ। नदी तथा खोलाको पानीको सतह तीव्र रूपमा बढ्दै गएको, पानी धमिलो भएको, ढुंगा वा रुख बगाउँदै आएको अथवा असामान्य आवाज सुनिएको अवस्थामा तत्काल अग्लो र सुरक्षित स्थानतर्फ जान सरकारले अनुरोध गरेको छ।
६ हजारभन्दा बढी प्रहरी स्ट्यान्डबाई
मौसम विभागको चेतावनीपछि कर्णाली प्रदेशभर विपद् प्रतिकार्यका लागि तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा राखिएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठोरका अनुसार सम्भावित विपद् व्यवस्थापनका लागि प्रदेशभर ६ हजारभन्दा बढी प्रहरी जनशक्तिलाई स्ट्यान्डबाई अवस्थामा राखिएको छ।
यसअघि मौसमजन्य विपद्का लागि करिब १ हजार ६ सयभन्दा बढी प्रहरी जनशक्ति तयारी अवस्थामा राख्ने गरिएको भए पनि पछिल्लो मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै जनशक्ति थप गरिएको उहाँले बताउनुभयो।
मौसममा सुधार नआएसम्म अति आवश्यकबाहेक प्रहरीलाई बिदामा नबस्न निर्देशन दिइएको छ। उद्धार सामग्रीसहित प्रहरीका विभिन्न युनिट तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो।
‘मौसमजन्य विपद्सँग लड्न उद्धार सामग्रीसहितका प्रहरी युनिट तयारी अवस्थामा छन्। सकभर विपद् नआओस् भन्ने हो, आइहाले पनि क्षति न्यूनीकरण गर्न प्रहरी डटेर लाग्छ,’ राठोरले भन्नुभयो।
आवश्यकताअनुसार सशस्त्र प्रहरी बल र नेपाली सेनाका तालिमप्राप्त जनशक्तिलाई पनि विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ। विपद्को प्रकृतिअनुसार उद्धार तथा राहतका लागि नेपाली सेनाको पश्चिम एयर बेस सुर्खेतमा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको जनाइएको छ।
पाँच स्थानबाट २४ घण्टा सडक निगरानी
भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक कटानबाट कर्णालीको सडक सञ्जाल अवरुद्ध हुन नदिन पाँच स्थानबाट २४ घण्टा सडक निगरानी गर्ने व्यवस्था मिलाइएको छ।
सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी इन्जिनियर रुपेश कठायतका अनुसार वर्षाका कारण हुन सक्ने सडक अवरोध तत्काल हटाउन पाँचवटा स्टेसन तोकेर लोडर, ब्याकहो लोडरसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ।
उहाँका अनुसार कर्णालीका प्रमुख तथा सहायक राजमार्ग र स्थानीय तह जोड्ने रणनीतिक महत्वका सडकमा अवरोध हुन नदिन उपकरणसहितका टोली परिचालनका लागि तयारी अवस्थामा राखिएका छन्।
प्रदेश राजधानी सुर्खेत प्रवेश गर्ने पूर्वी नाका, मदन भण्डारी राजमार्ग, छिन्चु–जाजरकोट–भेरी करिडोर तथा कोहलपुर–सुर्खेत रत्न राजमार्गमा हुन सक्ने सम्भावित अवरोध तत्काल हटाउन बोटेचौरमा लोडर, ब्याकहो लोडरलगायत पहिरो हटाउने उपकरणसहितको टोली तयारी अवस्थामा राखिएको छ।
त्यस्तै, कर्णाली राजमार्गअन्तर्गत तल्लो डुंगेश्वर र राकम कर्णालीमा बाढी तथा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ। सुर्खेत–दैलेख सडक खण्डमा दैलेखको गुराँस गाउँपालिकास्थित तालपोखरीमा अवरोध हटाउने स्टेसन राखिएको छ।
मध्यपहाडी राजमार्गअन्तर्गत महाबु क्षेत्रतर्फ आउन सक्ने सडक अवरोध तत्काल हटाउन उपकरणसहित दैलेख बजारमा अर्को स्टेसन राखिएको सूचना अधिकारी कठायतले बताउनुभयो। सडक डिभिजन कार्यालय रुकुम पश्चिम र जुम्लाले पनि आ–आफ्नो क्षेत्रमा वर्षाका कारण हुन सक्ने सडक अवरोधको निगरानी गर्ने जनाइएको छ।
समस्या परे तत्काल सम्पर्क गर्न आग्रह
सम्भावित बाढी, पहिरो तथा अन्य विपद्बाट नागरिकलाई सुरक्षित राख्न तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक संयन्त्र तयारी अवस्थामा राखिएको प्रदेश सरकारले जनाएको छ।
विशेषगरी जोखिम क्षेत्रमा रहेका गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सहयोग आवश्यक पर्ने अन्य व्यक्तिको पहिचान गरी विपद्को अवस्थामा सुरक्षित स्थानमा स्थानान्तरण र आवश्यक सहयोगको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई भनिएको छ।
विपद्मा परेका वा आफू असुरक्षित भएको महसुस भएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन प्रदेश सरकारले आग्रह गरेको छ। वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको ११५५, विपद्का समयमा सहयोगका लागि १२३४, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रदेश सरकारले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा लिन र आधिकारिक सूचनाका आधारमा आवश्यक सावधानी अपनाउन सबै प्रदेशवासीमा आग्रह गरेको छ।









