कपिलवस्तु ,८ असोज ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–६, मुङ्गेहरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ। विद्यालयको आर्थिक, भौतिक तथा व्यवस्थापकीय पक्षलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले सामाजिक लेखापरीक्षण कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक अब्दुसस्लाम मुसलमानले जानकारी गराउनु भएको हो।

विद्यालयमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय, विद्यालयका शैक्षिक तथा भौतिक गतिविधि, व्यवस्थापन पक्ष र विद्यालयले सञ्चालन गरेका विभिन्न कार्यक्रमबारे जानकारी प्रस्तुत गरिएको थियो। विद्यालयको समग्र प्रगति, उपलब्धि, समस्या तथा सुधार गर्नुपर्ने विषयमाथि सरोकारवालाबीच छलफलसमेत गरिएको जनाइएको छ।
सामाजिक लेखापरीक्षणका क्रममा विद्यालयको आर्थिक तथा व्यवस्थापकीय गतिविधिमाथि सरोकारवालाबाट आवश्यक राय, सुझाव र प्रतिक्रिया संकलन गरिएको थियो। विद्यालयको कामकारबाहीलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सामाजिक लेखापरीक्षणले महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताएका छन्।

कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय सरोकारवाला तथा अन्य सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। छलफलपछि प्रस्तुत गरिएको सामाजिक लेखापरीक्षण प्रतिवेदनलाई आवश्यक सुझावसहित सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरिएको विद्यालयको निर्णय पुस्तिकामा उल्लेख छ।

विद्यालयले हरेक वर्ष सामाजिक लेखापरीक्षणमार्फत आफ्नो आर्थिक तथा शैक्षिक गतिविधि सार्वजनिक गर्दै आएको जनाएको छ। सामाजिक लेखापरीक्षणले विद्यालय र समुदायबीचको सम्बन्ध थप मजबुत बनाउँदै विद्यालयको सञ्चालनमा पारदर्शिता र जवाफदेहिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।










