नरैनापुरमै आन्तरिक राजस्व सेवा सुरु, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

  • नमस्ते कर्णाली

  • बाँके, ९ असोज ।
    बाँकेको नरैनापुर गाउँपालिकाबाटै आन्तरिक राजस्वसम्बन्धी सेवा सुरु भएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले प्रदान गर्दै आएको सेवा बुधबारदेखि नरैनापुर गाउँपालिकाको आन्तरिक राजस्व शाखामार्फत स्थानीय तहमै उपलब्ध गराउन थालिएको हो ।
    सेवाको पहिलो दिन स्थायी लेखा नम्बर (पान) जारी गर्दै नरैनापुरबाट औपचारिक रूपमा आन्तरिक राजस्वसम्बन्धी सेवा सुरु गरिएको हो । यसअघि स्थायी लेखा नम्बर लिनेदेखि अन्य आन्तरिक राजस्वसम्बन्धी कामका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेकोमा अब गाउँपालिकाबाटै सेवा उपलब्ध हुने भएपछि स्थानीय नागरिक, व्यवसायी तथा सङ्घसंस्थालाई सहज हुने भएको छ ।
    स्थानीय रोजअलीले गाउँपालिकाबाटै सेवा सुरु भएपछि नागरिकलाई निकै सहज भएको बताउनुभयो । सामान्य कामका लागि समेत नेपालगञ्ज पुग्नुपर्ने र घन्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको उहाँले जनाउनुभयो । “यसअघि सामान्य कामका लागि पनि नेपालगञ्ज पुग्नुपर्ने र घन्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो । अब गाउँमै सेवा पाउने भएपछि समय र खर्च दुवै बचत हुने भएको छ,” उहाँले भन्नुभयो ।
    सेवाको शुभारम्भ गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आन्तरिक राजस्वसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले नेपालगञ्ज पुगेर सेवा लिनुपर्ने बाध्यता हटेसँगै स्थानीय व्यवसायी, सङ्घसंस्था तथा सर्वसाधारणलाई राजस्वसम्बन्धी काम गर्न सहज हुने उल्लेख गर्नुभयो ।
    आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले सेवाग्राहीलाई नजिकबाट सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय तहबाट सेवा सञ्चालन गरिएको बताउनुभयो । स्थानीय तहमै सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई सहज हुनुका साथै स्थानीय तह र सङ्घीय सरकारको राजस्व परिचालनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो ।
    प्रमुख कर अधिकृत न्यौपानेले प्रशासनिक तथा वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाटै सेवा प्रवाह सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार करसम्बन्धी सामान्य तथा आवश्यक सेवाका लागि सेवाग्राहीले टाढाको कार्यालय धाउनुपर्ने अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्य राखिएको छ ।
    नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै आन्तरिक राजस्वसम्बन्धी सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा सेवाग्राहीको समय, श्रम र यातायात खर्च बचत हुने उहाँले जनाउनुभयो ।
    नेपाल सरकारले करदाता सेवा कार्यालय खारेज गरी त्यहाँबाट हुँदै आएका कार्य स्थानीय तहबाटै सञ्चालन गर्ने निर्णय गरेअनुसार नरैनापुरमा पनि आन्तरिक राजस्वसम्बन्धी सेवा सुरु गरिएको हो । सरकारले २०८२ कात्तिक १७ गते गरेको निर्णय कार्यान्वयन गर्दै स्थानीय तहमा आन्तरिक राजस्वसम्बन्धी सेवा विस्तार गरिएको हो ।
    नरैनापुरमा सेवा सञ्चालनमा आएसँगै गाउँपालिका क्षेत्रका करदाता, व्यवसायी, सङ्घसंस्था तथा सर्वसाधारणले स्थायी लेखा नम्बरलगायत आन्तरिक राजस्वसम्बन्धी कामका लागि नेपालगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि करसम्बन्धी सेवा प्रवाह थप सहज, पहुँचयोग्य र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ ।

  • ९ आश्विन २०८३, शुक्रबार ०६:४७ प्रकाशित

  • Nabintech