प्रदेशस्तरिय स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा सुरु

  • नमस्ते कर्णाली

  • सुर्खेत, ९ असोज  ।

    आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेश सरकार मातहतका निकायले सम्पादन गरेका स्वास्थ्य सम्बन्धिका कार्यक्रमहरुको प्रदेशस्तरीय समिक्षा गोष्ठी सुरु भएको छ । बिहिबारबाट सुरु भएको गोष्ठी तीन दिनसम्म चल्ने छ ।

    कर्णालीका १० वटै जिल्लाका स्वास्थ्य संस्थाबाट सम्पादित भएका सेवा प्रवाहको समिक्षा गरेर आगामी रणनीति तय गर्न गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा १० जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल र स्वास्थ्य संस्थाका प्रमुखहरुले गत वर्ष भए गरेका कार्यसम्पादानको समिक्षा प्रस्तुत गर्नेछन् ।

    गोष्ठीको सुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको मानव पुँजीलाई स्वस्थ राख्ने सन्दर्भमा कुनै कसरत बाँकी राख्न नहुने बताए । सीमित स्रोत र साधनका बीच प्रदेश सरकारले कर्णालीको स्वास्थ्य मेरुदण्डलाई चुस्त राख्न प्राथमिकताका साथ काम गरिरहेकाले सरकारको नीति अनुसार कार्यान्वयन तहमा रहेकाहरुले गम्भीर भएर लाग्नु पर्नेमा शाहीले जोड दिए ।

    दक्ष जनशक्ति र पूर्वाधार अभावका बीच पनि नागरिकको स्वास्थ्य सुधारमा सरकार गम्भीर रहेको उनको दावी थियो । समिक्षा गोष्ठीबाट प्राप्त निष्कर्षका आधारमा प्रदेश सरकारले भावी रणनीति तय गर्ने शाहीले बताए ।

    त्यस्तै, सामाजिक विकास मन्त्री जितबहादुर मल्लले नीतिगत र कार्यान्वयन तहमा रहेको दुरीले कर्णालीको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार हुन नसकेको बताए । कतिपय अवस्थामा नीतिगत अल्झनले समस्या भइरहेको बताउँदै उनले संसदबाट वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लैजान गरिने ढिलाईले नागरिकको अपेक्षा अनुरुप प्रगति हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।

    स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले पूर्वाधार र दक्ष जनशक्तिको अभावका बीच कर्णालीको स्वास्थ्य सुधारमा लागि परेको बताए । उनले कुनै समय सिटामोल नपाइने नामबाट चिनाइने कर्णाली विस्तारै विशिष्टिकृत स्वास्थ्य सेवा प्रवाहमा उन्मुख भएको दावी गरे ।

  • ९ आश्विन २०८३, शुक्रबार ०६:५५ प्रकाशित

  • Nabintech