बाँके ,११ असोज ।
नेपालगञ्ज रंगशालामा उच्च क्षमताको प्रकाश प्रणाली (फ्लडलाइट) जडान गरिने भएको छ। नेपालगञ्जसहित प्रमुख सहरमा व्यावसायिक खेलकुदको विकास तथा रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने सरकारको योजनाअन्तर्गत रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्न लागिएको हो।
फ्लडलाइट जडान भएपछि नेपालगञ्जमा रातिको समयमा फुटबललगायत विभिन्न खेलकुद प्रतियोगिता, प्रशिक्षण तथा अन्य कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले पश्चिम नेपालमा खेलकुद गतिविधि विस्तारसँगै खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने खेलकुद क्षेत्रका सरोकारवालाले बताएका छन्।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओलीले नेपालगञ्ज रंगशालामा फ्लडलाइट जडान गर्ने योजना खेलकुद पूर्वाधारको आधुनिकीकरणका लागि महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार गर्मी मौसममा दिउँसो अत्यधिक तापक्रमका कारण खेलाडी तथा दर्शकलाई हुने असहजता कम गर्न रात्रिकालीन प्रतियोगिता प्रभावकारी विकल्प बन्न सक्छ।
उहाँले सरकारको योजनाले नेपालगञ्जमा खेलकुद गतिविधि बढाउनुका साथै नेपाली खेलकुदलाई थप आधुनिक र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाहले भने फ्लडलाइटसँगै फुटबल मैदानको आधारभूत पूर्वाधार सुधारलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। मैदानको सतह, पानी निकास, खेलाडीका लागि आवश्यक सुविधा तथा दर्शकको व्यवस्थापनलगायत पक्षमा समेत सुधार आवश्यक रहेको उहाँको भनाइ छ।
उहाँले नेपालगञ्जमा गर्मी महिनामा अत्यधिक तापक्रम हुने भएकाले दिउँसो प्रतियोगिता सञ्चालन गर्न कठिन हुने गरेको स्मरण गर्दै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका समयमा समेत फ्लडलाइटको अभावका कारण रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्न नसकिएको बताउनुभयो।
“नेपालगञ्जमा गर्मी महिनामा अत्यधिक तापक्रम हुने भएकाले दिउँसो प्रतियोगिता सञ्चालन गर्न कठिन हुने गरेको थियो। फ्लडलाइट नभएका कारण आठौँ राष्ट्रिय प्रतियोगिताका बेला चाहेर पनि रात्रिकालीन प्रतियोगिता आयोजना गर्न सकिएको थिएन,” उहाँले भन्नुभयो, “अब फ्लडलाइट जडान भएपछि खेलकुद गतिविधि बढ्नेछ।”
फ्लडलाइट जडानपछि रंगशालामा रातिको समयमा खेलकुद प्रतियोगिता र अभ्यास सञ्चालन गर्न सहज हुनुका साथै सांस्कृतिक तथा अन्य कार्यक्रम आयोजना गर्नसमेत सम्भावना बढ्ने उहाँले बताउनुभयो। रंगशालालाई नियमित रूपमा प्रयोगमा ल्याएर विभिन्न कार्यक्रमबाट आम्दानीका स्रोत बढाउन सके त्यसबाट मैदानको मर्मतसम्भार र संरक्षणमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ।
नेपाल सरकारको खेलकुद पूर्वाधार विकास योजनाअन्तर्गत पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच खेलकुद संरचनाको निर्माण तथा स्तरोन्नतिका लागि यसै साता सम्झौता भएको समाचारमा उल्लेख छ। सम्झौताअनुसार आगामी तीन वर्षभित्र नेपालगञ्ज रंगशालालगायत निश्चित खेलकुद पूर्वाधारमा करिब २५ करोड रुपियाँसम्म लगानी गरी आधुनिक फ्लडलाइट जडान तथा आवश्यक मर्मतसम्भारका काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
लामो समयदेखि नेपालगञ्ज रंगशालालाई आधुनिक, व्यवस्थित र सुविधासम्पन्न बनाउनुपर्ने माग हुँदै आएको छ। पश्चिम नेपालमा गर्मी मौसममा दिउँसो खेलकुद गतिविधि सञ्चालन गर्न चुनौती हुने भएकाले फ्लडलाइट जडानलाई खेलकुद क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।
फ्लडलाइट जडानसँगै रंगशालाको नियमित मर्मतसम्भार, मैदानको गुणस्तर सुधार, दर्शकदीर्घा तथा खेलाडीका लागि आवश्यक सुविधा विस्तार गर्न सके नेपालगञ्ज रंगशालालाई पश्चिम नेपालको प्रमुख खेलकुद केन्द्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ। यसबाट स्थानीय खेलाडीले नियमित अभ्यास र प्रतियोगिताको अवसर पाउनुका साथै नेपालगञ्जमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका रात्रिकालीन प्रतियोगिता आयोजना गर्ने सम्भावनासमेत बढ्ने देखिएको छ।










