जाजरकोट ,११ असोज ।
दुई सय वर्षभन्दा लामो इतिहास बोकेको जाजरकोटको ऐतिहासिक सेतो दरबार अहिले सुनसान बनेको छ। २०८० कात्तिक १७ गते रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले दरबारमा क्षति पुर्याएपछि त्यहाँ सञ्चालन हुँदै आएका सरकारी कार्यालय हटाइए। तर, भूकम्प गएको करिब ३५ महिना पुग्न लाग्दासमेत ऐतिहासिक दरबारको पुनर्निर्माण भने सुरु हुन सकेको छैन।
दरबारमा सरकारी कार्यालय सञ्चालन नहुँदा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका महत्वपूर्ण सेवा अहिले अस्थायी संरचनाबाट सञ्चालन भइरहेका छन्। केही समय कतिपय सरकारी कार्यालयले टेन्टबाट समेत सेवा दिनुपरेको थियो। सरकारी सेवाका लागि वैकल्पिक संरचना निर्माण भए पनि राज्यको इतिहास बोकेको दरबारको संरक्षण र पुनर्निर्माण भने अझै अन्योलमै छ।
जिल्ला सदरमुकाम खलंगाको बीच भागमा रहेको सेतो दरबार जाजरकोट राज्यको राजनीतिक तथा प्रशासनिक इतिहाससँग जोडिएको महत्वपूर्ण सम्पदा हो। जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीका अनुसार विक्रम संवत् १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा सेतो दरबार निर्माण गरिएको मानिन्छ।
राज्य सञ्चालनका लागि थप संरचना आवश्यक भएपछि खलंगाको अग्लो स्थान रोजेर दरबार निर्माण गरिएको स्थानीय इतिहासमा उल्लेख छ। तत्कालीन समयमा अहिलेको जस्तो ठेक्का प्रणालीबाट दरबार निर्माण भएको थिएन। राजाको आदेशअनुसार स्थानीय बासिन्दाले श्रमदान गरेर दरबार निर्माण गरेका थिए। जनताले निश्चित दिन श्रमदान गर्नुपर्ने व्यवस्था रहेको केसी बताउँछन्।
यद्यपि, त्यतिबेला निर्माण भएको दरबार कति तलाको थियो भन्ने यकिन विवरण भने अहिलेसम्म भेटिएको छैन। सेतो दरबार मात्र नभई जाजरकोटको रातो दरबार पनि ऐतिहासिक दृष्टिले उत्तिकै महत्वपूर्ण मानिन्छ। सेतो दरबारभन्दा २७ वर्षअघि अर्थात् विसं १८२५ मा राजा हरि शाहले खलंगामै रातो दरबार निर्माण गरेको इतिहास रहेको केसी बताउँछन्।
हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मका जाजरकोटी राजाले रातो दरबारबाट राज्य सञ्चालन गरेको इतिहास छ। इन्द्रनारायण शाहपछि सात जना राजाले सेतो दरबारबाट शासन सञ्चालन गरेको बताइन्छ। सेतो दरबारबाट शासन सञ्चालन गर्ने अन्तिम राजा प्रकाशविक्रम शाह थिए।
राजसंस्था अन्त्य भएपछि भने यी दरबारको भूमिका परिवर्तन भयो। केसीका अनुसार २०१७ सालदेखि जाजरकोटको रातो र सेतो दरबारबाट सरकारी कामकाज सञ्चालन हुँदै आएको थियो। त्यही वर्ष राजा प्रकाशविक्रम शाहले जाजरकोट दरबार नेपाल सरकारलाई ६० हजार रुपैयाँमा बिक्री गरेपछि दरबार सरकारी सम्पत्तिमा परिणत भएको उनको भनाइ छ।
सेतो दरबारमा लामो समयसम्म जिल्ला प्रशासन कार्यालय सञ्चालन भयो। प्रशासनसँग समन्वय गरेर काम गर्ने अन्य सरकारी निकाय पनि यही परिसरमा थिए। त्यसैले पछिल्ला दशकमा यो भवन राजदरबारभन्दा बढी सरकारी कार्यालयका कारण चिनिँदै आएको थियो।
तर, सरकारी कार्यालय सञ्चालन भएको यो ऐतिहासिक भवनको इतिहास सरकारी अभिलेखमा कति सुरक्षित छ भन्ने प्रश्नसमेत उठेको छ। दरबार निर्माण, विभिन्न समयमा भएका मर्मत तथा पुनर्निर्माण, राजाहरूको शासन र २०१७ सालमा सरकारलाई बिक्री गरिएको विवरणका प्रमाण र अभिलेख व्यवस्थित रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ।
जाजरकोट दरबारले २०८० को भूकम्पअघि पनि पटकपटक भूकम्पको क्षति बेहोरेको इतिहास छ। केसीका अनुसार १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पले समेत दरबारमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि स्थानीयको श्रमदान तथा कालिगढको सहयोगमा दरबार पुनर्निर्माण गरिएको थियो। त्यसपछिका भूकम्पमा क्षति पुगेपछि पनि समय–समयमा मर्मत तथा पुनर्निर्माण हुँदै आएको उनको भनाइ छ।
यस अर्थमा जाजरकोट दरबार भूकम्पपछि पुनः उठेको इतिहास बोकेको संरचना हो। विगतमा क्षतिपछि स्थानीय श्रमदान र कालिगढको सहयोगमा पुनर्निर्माण भएको दरबार यसपटक भने लामो समयदेखि पुनर्निर्माणको प्रतीक्षामा छ।
२०८० सालको भूकम्पले दरबारको संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँ सरकारी कार्यालय राख्न जोखिम देखिएको थियो। त्यसपछि कार्यालयहरू अन्यत्र सारिए र सेवा सञ्चालनका लागि अस्थायी संरचना निर्माण गरियो। तर, क्षतिग्रस्त भवनको दीर्घकालीन संरक्षण र पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया भने अघि बढ्न सकेको छैन।
ऐतिहासिक सम्पदा भएकाले सेतो दरबारको पुनर्निर्माण सामान्य सरकारी भवन बनाएजस्तो गर्न नमिल्ने सरोकारवालाको भनाइ छ। पुरानो संरचना, वास्तुशैली र प्रयोग भएका सामग्रीको अध्ययन गरी मौलिकता जोगाउँदै पुनर्निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि प्राविधिक अध्ययन, क्षतिको मूल्यांकन, संरक्षण योजना र आवश्यक डिजाइन तयार गर्नुपर्ने हुन्छ।
तर, भूकम्प गएको लामो समयसम्म पनि पुनर्निर्माण सुरु नहुँदा बाँकी रहेको संरचनासमेत थप जोखिममा परेको छ। जाजरकोटबाट प्रदेशसभा सदस्य बेदराज सिंह समयमै संरक्षण नगरिए वर्षा, पानी र मौसमका कारण भूकम्पले कमजोर बनाएको संरचनामा थप क्षति हुनसक्ने बताउँछन्।
‘समयमै संरक्षण नगरे पुनर्निर्माण गर्न बाँकी रहेको संरचनासमेत जोगाउन कठिन हुन्छ,’ सांसद सिंहले बताउनुभयो।
जाजरकोट दरबारको महत्व भवनको उमेरमा मात्र सीमित छैन। यसमा जाजरकोटी राजाहरूको शासन, तत्कालीन निर्माण पद्धति, स्थानीय श्रमदानको संस्कृति तथा राजसंस्था अन्त्यपछि सरकारी प्रशासन सञ्चालन भएको इतिहास जोडिएको छ। त्यसैले यसको पुनर्निर्माणलाई एउटा पुरानो सरकारी भवन मर्मत गर्ने विषयका रूपमा मात्र हेर्न नहुने संरक्षणकर्मीहरूको भनाइ छ।
सरकारले जाजरकोट दरबारलाई देशका एक सय पर्यटकीय गन्तव्यमध्ये समेत समेटेको छ। रातो र सेतो दरबारलाई एउटै ऐतिहासिक क्षेत्रका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको केसी बताउँछन्।
उनका अनुसार दरबारको इतिहास, पुराना सामग्री, दस्तावेज तथा जाजरकोट राज्यसँग सम्बन्धित अभिलेख संकलन गरेर संग्रहालयका रूपमा विकास गर्ने प्रस्तावसमेत अघि सारिएको छ। तर, त्यसका लागि सबैभन्दा पहिले भूकम्पबाट क्षति पुगेको दरबारको बाँकी संरचना सुरक्षित राख्नुपर्ने आवश्यकता छ।
‘दरबारको इतिहास, पुराना सामग्री, दस्तावेज र जाजरकोट राज्यसँग सम्बन्धित अभिलेख संकलन गरी संग्रहालयका रूपमा विकास गर्ने प्रस्ताव पनि अघि सारिएको छ। तर, त्यसका लागि दरबारको बाँकी संरचना सुरक्षित राख्नुपर्ने हुन्छ,’ केसीले बताउनुभयो। उहाँका अनुसार भूकम्पबाट क्षति पुगेको भवनको प्राविधिक अध्ययन, आवश्यक संरक्षण र ऐतिहासिक मौलिकता कायम हुने गरी पुनर्निर्माण अघि बढाउन आवश्यक छ।
केसीका अनुसार जाजरकोट दरबार गृह मन्त्रालयअन्तर्गत पर्छ। चालु आर्थिक वर्ष २०८३/०८४ मा दरबार पुनर्निर्माणका लागि ६ करोड रुपैयाँ बजेट व्यवस्थापन भएको आफूले सुनेको भए पनि यसको यकिन जानकारी भने आफूलाई नभएको उहाँ बताउनुहुन्छ।
यदि पुनर्निर्माणका लागि बजेट विनियोजन भएको हो भने कुन निकायमार्फत कार्यान्वयन हुने, प्राविधिक अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ कि छैन, निर्माण प्रक्रिया कहाँ पुगेको छ र बजेट व्यवस्थापन भए पनि काम किन सुरु हुन सकेन भन्ने विषय स्पष्ट हुन बाँकी छ।
दुई सय वर्षभन्दा लामो इतिहास बोकेको जाजरकोटको सेतो दरबार अहिले सरकारी कार्यालयविहीन छ। कार्यालयका लागि वैकल्पिक संरचना बनेका छन्, नागरिकलाई सरकारी सेवा पनि दिइँदै आएको छ। तर, जाजरकोटको इतिहास र पहिचान बोकेको दरबार भने संरक्षणको प्रतीक्षामा छ।
विगतका भूकम्पमा क्षति बेहोरेर पुनः उठेको यो ऐतिहासिक दरबार यसपटक भने २०८० को भूकम्पपछि झण्डै तीन वर्ष पुग्न लाग्दासमेत पुनर्निर्माणको स्पष्ट बाटो पर्खिरहेको छ। अब यसको संरक्षण, पुनर्निर्माण र ऐतिहासिक मौलिकता जोगाउने काम कहिले सुरु हुन्छ भन्ने प्रश्न जाजरकोटका स्थानीय र सम्पदा संरक्षणकर्मीका लागि चासोको विषय बनेको छ।









