बर्दिया ,४ मंसिर ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै गएको छ । दसैं–तिहारलगायत चाडपर्वको लामो बिदाका कारण कात्तिक महिनामा निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । एक महिनाको अवधिमा मात्रै १४ हजार ५ सयभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । तीमध्ये सबैभन्दा ठूलो हिस्सा आन्तरिक पर्यटकको रहेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार गत कात्तिक महिनामा १४ हजार ५ सय ४८ पर्यटकले निकुञ्ज अवलोकन गरेका हुन् । तीमध्ये १२ हजार ७ सय ६४ जना नेपाली, १ हजार ५ सय ५० जना विदेशी र २ सय ३३ जना सार्क मुलुकका पर्यटक रहेका छन् ।
निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मञ्जु पौडेलका अनुसार कात्तिकमा आएका नेपाली पर्यटकमध्ये ७ हजार ८७ पुरुष र ५ हजार ६ सय ७७ महिला रहेका छन् । यसैगरी सार्क मुलुकबाट आएका पर्यटकमध्ये १ सय ३९ पुरुष र ९४ महिला छन् । विदेशी पर्यटकमा ७ सय ८० पुरुष र ७ सय ७० महिला रहेका छन् ।
कात्तिकको पर्यटक आगमन असोजको तुलनामा उल्लेख्य बढी हो । गत असोज महिनामा बर्दिया निकुञ्ज अवलोकन गर्न जम्मा १ हजार ६ सय २२ पर्यटक मात्रै आएका थिए । बेमौसमी वर्षाका कारण असोजमा पर्यटक आगमन अपेक्षाकृत कम भएको निकुञ्जले जनाएको छ ।
पर्यटन व्यवसायी रामजी थापाका अनुसार दसैं–तिहार कात्तिक महिनामा परेकाले लामो बिदाको अवसरमा घुमफिर गर्न निस्कने आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । मुख्यतः पाटेबाघका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको उहाँले बताउनुभयो ।
थापाका अनुसार बर्दिया निकुञ्जमा आउने पर्यटकले प्रायः हरेक दिन बाघ अवलोकन गर्ने अवसर पाउने गरेका छन् । बाघसँगै हात्ती, गैँडा, चित्तल, जरायोलगायत वन्यजन्तु अवलोकन गर्न पाइने भएकाले पनि पर्यटकको आकर्षण बढेको उहाँको भनाइ छ । यद्यपि दसैं–तिहारको बिदा सकिएर मंसिर लागेयता भने पर्यटक आगमन केही घटेको उहाँले जानकारी दिनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार ठाकुरद्वारा हो । रम्मापुरबाट पनि निकुञ्ज प्रवेश गर्न सकिने भए पनि करिब ९९ प्रतिशत पर्यटक ठाकुरद्वाराबाटै प्रवेश गर्ने गरेका छन् । ठाकुरद्वारामा पर्याप्त होटल, यातायात तथा अन्य पर्यटकीय सुविधा उपलब्ध हुनुका साथै निकुञ्जको मुख्यालय पनि यहीँ रहेकाले पर्यटकको पहिलो रोजाइ ठाकुरद्वारा बन्ने गरेको हो ।
पछिल्लो गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय १२ वटा पाटेबाघ रहेका छन् । यसैगरी निकुञ्जमा करिब १ सय २० वटा हात्ती रहेको अनुमान छ भने गैँडाको सङ्ख्या ३८ रहेको छ । तीमध्ये केही गैँडा सीमावर्ती भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष क्षेत्रमा समेत पुगेका छन् ।
निकुञ्ज घुम्न आउने पर्यटकले जिप सफारी तथा पैदल अवलोकनमार्फत वन्यजन्तुको गतिविधि नियाल्ने गरेका छन् । विशेषगरी पाटेबाघ अवलोकन पर्यटकको प्रमुख आकर्षण बन्ने गरेको छ । वन्यजन्तुको प्राकृतिक बासस्थानमै पुगेर अवलोकन गर्न पाइने भएकाले बर्दिया निकुञ्ज वन्यजन्तु तथा प्रकृतिप्रेमी पर्यटकको रोजाइमा पर्दै आएको छ ।
निकुञ्जबाहिर ठाकुरद्वारा क्षेत्रमा ३० भन्दा बढी साना तथा ठूला होटल सञ्चालनमा छन् । यसका साथै डल्ला होमस्टे पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ । डल्लामा मात्रै झन्डै २० वटा होमस्टे सञ्चालनमा रहेका छन् । होमस्टेमा बस्ने पर्यटकले थारू समुदायको मौलिक संस्कृति, खानपान, रहनसहन र परम्परागत आतिथ्यताको अनुभवसमेत लिन पाउँछन् ।
निकुञ्जबाहेक पर्यटकले खाता जैविक मार्गअन्तर्गत डल्ला, पत्थरबोझीलगायत क्षेत्रको समेत अवलोकन गर्ने गरेका छन् । त्यसैगरी निकुञ्ज परिसरमा रहेको गोही तथा घडियाल प्रजनन केन्द्र, थारू संग्रहालय, दृष्टिविहीन गैँडा र समस्याग्रस्त बाघ राखिएको खोरबाहिरबाट पनि पर्यटकले अवलोकन गर्ने गरेका छन् ।
वन्यजन्तु अवलोकनसँगै स्थानीय संस्कृति, जैविक विविधता र सामुदायिक होमस्टेको अनुभव लिन सकिने भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ । पर्यटक आगमनमा हुने वृद्धि स्थानीय होटल, होमस्टे, यातायात व्यवसायी तथा स्थानीय उत्पादनको बजार विस्तारका लागि समेत महत्वपूर्ण मानिएको छ । तर, पर्यटकको आगमनलाई वर्षभरि निरन्तरता दिन पूर्वाधार, प्रचारप्रसार र गुणस्तरीय पर्यटकीय सेवा विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ ।









