भ्रष्टाचारविरुद्ध नेपालगञ्ज वाकाथन मंसिर २३ गते, छैटौँ संस्करणको तयारी तीव्र

  • नमस्ते कर्णाली

  • बाँके ,४ मंसिर ।
    भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘भ्रष्टाचारविरुद्ध नेपालगञ्ज वाकाथन’ को छैटौँ संस्करण आगामी मंसिर २३ गते सञ्चालन हुने भएको छ। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आयोजना गरिने वाकाथनमा यस वर्ष विगतका वर्षभन्दा बढी नागरिकको सहभागिता जुटाउने लक्ष्य आयोजकले लिएको छ।

    भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बास नेपालको आयोजना तथा अन्तरालको व्यवस्थापनमा विगत छ वर्षदेखि हुँदै आएको वाकाथनलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो। कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले आयोजकले तयारीसम्बन्धी समन्वय बैठकसमेत गरेको छ।

    समन्वय बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज वाकाथन भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने महत्वपूर्ण अभियान हुनुका साथै नेपालगञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने कार्यक्रम भएको बताउनुभयो। उहाँले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका पूर्वअध्यक्ष तेजविक्रम शाहले भ्रष्टाचारविरुद्ध नेपालगञ्ज वाकाथन वर्षभरि भ्रष्टाचारजन्य गतिविधिबाट प्रभावित भएका नागरिकले आफ्ना आक्रोश र असन्तुष्टि अभिव्यक्त गर्ने साझा थलोका रूपमा विकास हुँदै गएको बताउनुभयो।

    त्यस्तै, प्रज्ञा तथा बास नेपालकी सल्लाहकार किरण पौडेल आचार्यले भ्रष्टाचारविरुद्ध निर्मम भएर सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै अभियानमा आम नागरिकको सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो।

    बैठकमा नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेकी सचिव तारा ओली, दलित महिला संघ बाँकेकी कार्यक्रम संयोजक दिलिशा गौतम, माइती नेपालकी रञ्जना रिमाल, सामाजिक विकास मञ्चकी शान्ता चौधरी, नगरस्तरीय युवा क्लब सञ्जालका निवर्तमान अध्यक्ष सुरेन्द्र यादव, समाज विकास तथा प्रवर्द्धन केन्द्र बाँकेका अध्यक्ष मिन अर्याल, इन्सेक नेपालगञ्जका ध्रुवराज शर्मा, नेपालगञ्ज साइकलिङ क्लबका उपाध्यक्ष दीपक गुप्ता, समर्पण नेपालका अध्यक्ष मोहनलाल सोनकर र नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीलगायतले वाकाथन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    बास नेपालका कार्यक्रम प्रबन्धक भण्डारीले सञ्चालन गर्नुभएको बैठकमा कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो। संस्थाकी महासचिव कल्पना अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको बैठकको समापन अध्यक्ष शिवकुमार वर्माले गर्नुभएको थियो।

    यस वर्षको वाकाथन मंसिर २३ गते बिहान ७ बजे नेपालगञ्जको गणेशमान चोकबाट सुरु हुनेछ। चारबाहिनी र सदरलाइन हुँदै रामलीला मैदान पुगेर वाकाथन समापन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, विभिन्न झाँकी प्रदर्शन, भ्रष्टाचारविरुद्धका पर्चा तथा पम्प्लेट वितरण र हस्ताक्षर संकलनलगायतका गतिविधि सञ्चालन गरिनेछन्।

    संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ डिसेम्बर ९ मा भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि पारित गरेको दिनको स्मरणमा हरेक वर्ष डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको छ। सन् २००४ देखि मनाउन थालिएको यो दिवस यस वर्ष २३औँ संस्करणका रूपमा विश्वभर मनाइँदैछ।

    यस वर्ष दिवसको अन्तर्राष्ट्रिय नारा ‘भ्रष्टाचार र अपराधबीचको सम्बन्ध उजागर गर्दै अन्तरसम्बन्ध पहिचान गरौँ’ भन्ने रहेको छ। भ्रष्टाचारले सुशासन, विकास, सामाजिक न्याय र नागरिकको अधिकारमा पार्ने असरबारे सचेतना फैलाउनु दिवसको मुख्य उद्देश्य हो।

    भ्रष्टाचारविरुद्ध एकताबद्ध भएर अघि बढौँ भन्ने सन्देशसहित आयोजना हुँदै आएको नेपालगञ्ज वाकाथन पश्चिम नेपालमा हुने विशिष्ट अभियानका रूपमा स्थापित हुँदै गएको छ। पहिलो संस्करण सन् २०२१ मा नेपालगञ्जको बीपी चोकबाट सुरु भई सेतु विक चोक हुँदै बौद्ध गुम्बाअगाडि पुगेर समापन भएको थियो। उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुतलगायतको सहभागिता रहेको थियो।

    दोस्रो संस्करण सन् २०२२ मा गणेशमान चोकबाट सुरु भई सदरलाइन हुँदै बीपी चोकमा समापन भएको थियो भने तेस्रो संस्करण सन् २०२३ मा गणेशमान चोकबाट सुरु भई बीपी चोक हुँदै धम्बोझीमा पुगेर टुंगिएको थियो। त्यसैगरी, चौथो र पाँचौँ संस्करण सन् २०२४ र २०२५ मा गणेशमान चोकबाट सुरु भई बीपी चोक र सदरलाइन हुँदै रामलीला मैदानमा समापन गरिएको थियो।

    छैटौँ संस्करणलाई अझ व्यापक र प्रभावकारी बनाउँदै भ्रष्टाचारविरुद्ध नागरिक एकता प्रदर्शन गर्ने आयोजकको अपेक्षा छ। वाकाथनमा कुनै पनि व्यक्ति, संघसंस्था वा समूहले स्वस्फूर्त रूपमा सहभागी हुन सक्ने भएकाले भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा साथ दिन आयोजकले सरोकारवाला निकाय तथा आम नागरिकलाई आग्रह गरेको छ।

     

  • ५ मंसिर २०८३, शुक्रबार १५:४४ प्रकाशित

  • Nabintech