हिमाली गाउँपालिकामा उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई प्रशंसा पत्र तथा नगद पुरस्कार वितरण

  • नमस्ते कर्णाली

  • धुलाचौर, बाजुरा । हिमाली गाउँपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरूको समग्र स्वास्थ्य क्षेत्र सुधार गर्ने, संस्थाहरूबीच स्वस्थ एवं सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने तथा सेवा प्रवाहमा देखिएका कमीकमजोरीहरूको पहिचान गरी समयमै सुधार गर्ने मुख्य उद्देश्यका साथ उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष श्री गोबिन्द बहादुर मल्ल ज्यूको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, वडा अध्यक्षहरू लगायतका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू एवं विकास साझेदार संस्था फेज नेपाल (PHASE Nepal) का प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
    भौगोलिक विकटताका बाबजुद दुर्गम गाउँबस्तीका नागरिकहरूलाई गुणस्तरीय र भरपर्दो आधारभूत स्वास्थ्य सेवा पुर्याउन, एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (eHMIS/DHIS2) तथा PAMS v2 प्रतिवेदनलाई नियमित एवं समयबद्ध बनाउन र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राखी प्रोत्साहन गर्न गाउँपालिकाले “स्वास्थ्य संस्था मासिक मूल्यांकन तथा उत्कृष्ट सेवा पुरस्कार मापदण्ड, २०८३” कार्यान्वयनमा ल्याएको हो । उक्त कार्यक्रमको सहजीकरण तथा मूल्यांकनको समग्र प्रक्रिया र नतिजा प्रस्तुतीकरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं सूचना अधिकारी श्री राज बहादुर भण्डारी ले गर्नुभएको थियो । कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य शाखा प्रमुख भण्डारीले कुल १०० पूर्णाङ्कमा जनस्वास्थ्यका मुख्य ३२ सूचकहरू, स्वास्थ्य शाखाको गुणात्मक मूल्यांकन, PAMS v2 मार्फत औषधि तथा सामग्री व्यवस्थापन, मासिक समीक्षा तथा व्यवस्थापन समिति बैठक, सामुदायिक कार्यक्रम सहजीकरण र विशेष कार्यक्रम प्रतिवेदनका आधारमा गाउँपालिकाभित्रका १२ वटै स्वास्थ्य संस्थाहरूको वस्तुनिष्ठ मूल्यांकन गरिएको जानकारी दिनुभयो ।
    प्रमुख प्रशासकीय अधिकृत श्री कुल बहादुर थापाको अध्यक्षतामा गठित सिफारिस तथा मूल्यांकन समितिको निर्णय अनुसार कुल प्राप्ताङ्कका आधारमा उत्कृष्ट नतिजा हासिल गर्ने स्वास्थ्य संस्थाहरूलाई प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गरिएको छ । जसअनुसार कुल ७३ अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र लाई प्रशंसा पत्र सहित नगद रु. २,५००।– (दुई हजार पाँच सय रुपैयाँ), (६४) अंक प्राप्त गरी द्वितीय स्थान हासिल गर्ने रुगिन स्वास्थ्य चौकी लाई प्रशंसा पत्र सहित नगद रु. २,०००।– (दुई हजार रुपैयाँ) र (५२) अंक प्राप्त गरी तृतीय स्थान हासिल गर्ने धिम आधारभूत स्वास्थ्य सेवा केन्द्र लाई प्रशंसा पत्र सहित नगद रु. १,५००।– (एक हजार पाँच सय रुपैयाँ) प्रदान गरिएको छ । त्यसैगरी, (४८) अंक प्राप्त गरी चतुर्थ (सान्त्वना) स्थान हासिल गर्ने क्युडी आधारभूत स्वास्थ्य सेवा केन्द्र लाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ ।
    समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्री गोबिन्द बहादुर मल्लले सीमित स्रोतसाधन र भौगोलिक कठिनाइका बीचमा पनि स्वास्थ्यकर्मीहरूले नागरिकको स्वास्थ्य सेवामा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले कार्यसम्पादनमा आधारित यस्तो मूल्यांकन प्रणालीले स्वास्थ्य संस्थाहरूमा सकारात्मक प्रतिस्पर्धा बढाउनुका साथै विगतका कमीकमजोरीहरूलाई सच्याउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी, जवाफदेही र नतिजामुखी बनाउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरू, शाखा प्रमुखहरू तथा फेज नेपालका प्रतिनिधिहरूले पुरस्कृत स्वास्थ्य संस्थाहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि आपसी समन्वय र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

  • १३ मंसिर २०८३, शनिबार १६:३० प्रकाशित

  • Nabintech