युद्धको हल्लाले वीरेन्द्रनगरमा ग्यासको भीड—आवश्यकताभन्दा बढी भण्डारणले कृत्रिम अभाव

  • नमस्ते कर्णाली

  • १, चैत २०८२
    सुर्खेत ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा केही दिनयता खाना पकाउने ग्यास लिन उपभोक्ताको लामो भीड देखिन थालेको छ। अन्तर्राष्ट्रिय परिस्थितिका कारण इन्धन अभाव हुनसक्ने हल्ला फैलिँदा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर भण्डारण गर्न थालेपछि बजारमा कृत्रिम अभाव देखिएको हो।
    वीरेन्द्रनगर नगरपालिका–१ का टिकाराम सारु शनिबार खाना पकाउने ग्यास लिन नजिकको विक्रेताको पसल पुगे। खाना पकाउँदै गर्दा ग्यास सकिएपछि सिलिण्डर साट्न उनी पसलमा पुगेका थिए। तर नियमित रूपमा सिलिण्डर साट्ने पसलमै ग्यास नपाएपछि उनी भेरी ग्यासको डिलरमा पुगे। त्यहाँ दिनभर लाइन लागेपछि मात्रै बेलुका ग्यास लिएर घर फर्कनुपरेको उनले बताए।
    टिकाराम मात्रै होइन, पछिल्ला केही दिनदेखि वीरेन्द्रनगरका अधिकांश ग्यास डिलर र विक्रेताको पसलमा उपभोक्ताको भीड बढेको छ। यसको मुख्य कारण मध्यपूर्वमा चर्किएको युद्धलाई मानिएको छ। अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धका कारण विश्वभर इन्धन आपूर्ति प्रणाली प्रभावित हुने आशंका बढेपछि नेपालमा पनि ग्यास अभाव हुने हल्ला फैलिएको छ।
    विश्वको करिब २० प्रतिशत इन्धन आपूर्ति हुने Strait of Hormuz क्षेत्रमा तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति शृङ्खला प्रभावित हुनसक्ने चिन्ता व्यक्त भइरहेको छ। यही परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले पनि सम्भावित अभावलाई मध्यनजर गरेर ग्यास वितरणमा नयाँ प्रणाली लागू गरेको छ। त्यसअन्तर्गत अहिले केही स्थानमा आधा भरिएको सिलिण्डर बिक्री गर्ने व्यवस्था गरिएको छ।
    तर वीरेन्द्रनगरमा भने वास्तविक अभावभन्दा पनि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास किनेर घरमै भण्डारण गर्न थालेपछि बजारमा कृत्रिम अभाव देखिएको स्थानीय विक्रेताहरू बताउँछन्। सामान्य अवस्थामा दैनिक करिब एक हजार दुई सय सिलिण्डर ग्यास खपत हुने वीरेन्द्रनगरमा नेपाल आयल निगमले आधा सिलिण्डर वितरण सुरु गरेपछि शुक्रबार मात्रै दुई हजार ६७ वटा सिलिण्डर बिक्री भएको तथ्यांक छ।
    स्थानीय ग्यास विक्रेताका अनुसार सम्भावित अभावको त्रासका कारण उपभोक्ताले एकभन्दा बढी सिलिण्डर खरिद गर्न थालेपछि बजारमा माग अचानक बढेको हो। यसअघि दिनभरमा सीमित मात्रामा बिक्री हुने ग्यास अहिले केही घण्टामै सकिने गरेको उनीहरूको भनाइ छ।
    नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दिपक घिमिरेले भने बजारमा ग्यास अभाव भएको भन्ने हल्ला निराधार रहेको बताएका छन्। उनका अनुसार नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको Indian Oil Corporationले हालसम्म नियमित रूपमा इन्धन उपलब्ध गराइरहेकाले तत्काल कुनै समस्या नभएको उनले स्पष्ट पारे।
    घिमिरेका अनुसार कर्णाली क्षेत्रमा मनकामना, राप्ती, भेरी, रेडियन्ट र नेपाल ग्यास कर्णालीले नियमित रूपमा खाना पकाउने ग्यास आपूर्ति गर्दै आएका छन्। तीमध्ये भेरी ग्यासका उपभोक्ता अन्य कम्पनीको तुलनामा बढी रहेका छन्।
    उनका अनुसार इन्धन अभाव हुने हल्लाका बीच सम्पन्न व्यक्ति तथा होटल व्यवसायीहरूले एकभन्दा बढी सिलिण्डर किनेर भण्डारण गर्न थालेपछि विपन्न वर्ग र विद्यार्थीहरू समस्यामा परेका छन्। “इरान–इजरायल युद्धका कारण आपूर्ति प्रभावित हुनसक्ने आशंकाले केही उपभोक्ताले बढी सिलिण्डर खरिद गरेका छन्। त्यसले बजारमा असन्तुलन ल्याएको छ,” उनले भने।
    घिमिरेले आइतबारदेखि वीरेन्द्रनगरमा आधा सिलिण्डर ग्यास वितरणलाई व्यवस्थित रूपमा लागू गरिने भएकाले समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गरे। साथै ग्यास अभाव भए विद्युतिय चुल्हो प्रयोग गर्न पनि उनले आग्रह गरे।
    “एलपी ग्यासको आयात र वितरण नियमित रूपमा भइरहेकै छ। तर मध्यपूर्वको तनावले विश्व बजारमा प्रभाव पार्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक परिमाणमा मात्र ग्यास खरिद गरौं, अनावश्यक भण्डारण नगरौं,” उनले भने। उनले ग्यासको सट्टा बिजुलीको प्रयोग बढाउन पनि सुझाव दिए।
    उता नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले पनि भारतबाट नियमित रूपमा इन्धन आयात भइरहेकाले तत्काल अभाव हुने अवस्था नरहेको बताए। भारतमा आयात सन्तुलन बिग्रिए मात्र समस्या हुनसक्ने उनको भनाइ छ।
    “अहिले अभावभन्दा पनि उपभोक्ताले बढी भण्डारण गर्न खोज्दा बजारमा समस्या देखिएको हुन सक्छ। अमेरिकाले रुसबाट एक महिनाका लागि इन्धन खरिद गर्न अनुमति दिएकोले भारतमा तत्काल आयातको चक्र बिग्रने देखिँदैन,” उनले भने।
    कृत्रिम अभाव सिर्जना गरे कारबाही हुने चेतावनी
    यसैबीच जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास तथा इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कारबाही गरिने चेतावनी दिएको छ। मध्यपूर्वको युद्धका कारण इन्धन अभाव हुनसक्ने आशंकाबीच व्यापारीहरूले कालोबजारी गर्न खोजेको गुनासो आएपछि प्रशासनले यस्तो चेतावनी दिएको हो।
    प्रशासनले शुक्रबार सूचना जारी गर्दै अनावश्यक रूपमा ग्यास सिलिण्डर होल्ड नगर्न तथा बजारमा सहज आपूर्ति कायम राख्न सबैलाई आग्रह गरेको छ। साथै कसैले ग्यास वा पेट्रोलियम पदार्थ अनावश्यक रूपमा भण्डारण गरेको पाइएमा, बढी मूल्यमा बिक्री गरेको वा नयाँ सिलिण्डरको अवैध बजारिकरण गरेको भेटिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएको

  • १ चैत्र २०८२, आईतवार ०८:११ प्रकाशित

  • Nabintech