सुर्खेत, २८ जेठ ।
कर्णालीको जाजरकोट र सल्यानमा शिक्षा क्षेत्रमा कार्यरत नागरिक समाज संस्थाको क्षमता विकासका लागि तालिम प्रदान गरिएको छ । सबैका लागि शिक्षाको सुनिश्चिततामा नागरिक समाजको भूमिकालाई तिब्र बनाउने (एक्सेस) परियोजनामार्फत संस्थाहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको हो । नेपालको कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा शिक्षा क्षेत्रमा पहुँच, समावेशीता र गुणस्तर अभिबृद्धि गर्न सञ्चालित एक्सेस परियोजना युरोपियन युनियनको सहयोग, पिपुल इन निडको नेतृत्वमा एकान्टेबिलिटी ल्याब, नेपाल अपाङग महिला संघ र शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा सञ्चालित परियोजना हो । एकाउन्टेबिलिटी ल्याबका कार्यक्रम प्रबन्धक शुभेच्छा चापागाईंका अनुसार परियोजनामा आवद्ध जाजरकोटका पाँच र सल्यानका चार वटा संस्थाहरुलाई १४ वटा अनलाईन र एक वटा दुई दिने क्षमता विकास तालिम प्रदान गरिएको हो ।
नौ वटा नागरिक समाज संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थितिमा सुर्खेतको वीरेन्द्रनगर दुई दिने क्षमता विकास तालिम समेत सम्पन्न गरिएको उनले बताइन । समावेशी शिक्षा सम्बन्धी साझेदार नागरिक समाज संस्थाहरुको क्षमता अभिबृद्धि गरी उनीहरुलाई स्थानीय तह तथा विद्यालयस्तरमा समतामुलक र समावेशी शिक्षा नीति, अभ्यास तथा प्रणालीहरुको प्रभावकारी वकालत, प्रवद्र्धन र कार्यान्वयनमा योगदान गर्न सक्षम बनाउने उद्धेश्यले तालिम आयोजना गरिएको एकान्टेबिलिटी ल्याबका कार्यक्रम प्रबन्धक चापागाईंले जानकारी दिइन । तालिम समापन समारोहमा सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाका प्रमुख सुवर्णकुमार खड्काले शिक्षा क्षेत्र सरकारको प्राथमिकताको बिषय भएकोले एक्सेस परियोजनासँग कर्णाली सरकारको आवश्यक सहकार्य र समन्वय भईरहेको बताए । उनले जहाँ सरकार जान सक्दैन त्यहाँ परियोजनाहरु जान्छन् भन्ने मान्यता अनुसार विकास साझेदार निकायहरुसँग कार्य भईरहेको उल्लेख गरे । एक्सेस परियोजनामार्फत एकिकृत रुपमा अगाडी बढ्नलाई छलफल र सहकार्य भईरहेको महाशाखा प्रमुख खड्काले बताए । खड्काले तालिममा सहभागी संस्थाहरुले अब आफै प्रस्ताव तयार गरेर सोहिअनुसार काम पाउने र कार्यान्वयन गर्न सक्ने अवस्थामा पुगेको विश्वास जागेको बताए ।
कार्यक्रममा पिपुल इन निडका प्रवन्धक अनुरोध साहले स्थानीय सरकार र नागरिक समाज संस्थाहरुको प्राविधिक र संस्थागत क्षमता अभिबृद्धि तथा प्रणाली सुदृढीकण गरेर सबैलाई शिक्षाको पहुँचमा ल्याउन एक्सेसले कार्य गरिरहेको जानकारी दिए । सीमान्तकृत तथा बञ्चित बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य बहिष्कृत समुदायहरुलाई सुरक्षित, सहयोगी र समावेशी वातावणमा गुणस्तरीय शिक्षामा समान पहँुच सुनिश्चित गर्ने उद्धेश्यका साथ एक्सेस परियोजनाले कार्य गरिरहेको उनले जनाए । अनेकन चुनौतीका बिच काम गर्ने इच्छा शक्ति बोकेका नागरिक समाजहरु सक्रिय हुनुपर्ने उनको भनाइ छ । उनले एक्सेस परियोजना अन्तर्गत नागरिक समाज संस्थाको संगठनात्मक र प्राविधिक क्षमता विकास गरेर समावेशी शिक्षा कार्यविधि तथा अभ्यास कार्यान्वयन गरिने, बालिका तथा समावेशी शिक्षा र नागरिकको सहभागितामा पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गरिने समेत बताए ।
तालिममा सहभागी पहाडी क्षेत्र विकास अभियान जाजरकोटका मेमा शाहले तालिमका विभिन्न बिषयवस्तुहरुमार्फत समावेशी शिक्षामा काम गरिरहेका नागरिक समाज संस्थाहरु बिचमा अनुभव तथा सिकाइ र असल अभ्यासहरु आदान प्रदान भएको बताइन । उनले शिक्षा क्षेत्रमा काम गर्ने संस्थाहरुको ज्ञान, सीप र क्षमता विकास गर्न तालिम महत्वपूर्ण भएको बताइन ।
सल्यानको कल्याणकारी अपाङ्ग संघका अध्यक्ष कृष्णबहादुर बुढाले अनलाईन र भौतिक उपस्थितिमा भएका विभिन्न तालिम पश्चात समावेशी शिक्षाका सवालहरुमा स्थानीय सरकार, विद्यालय तथा सरोकारवालासँग प्रभावकारी पैरवी र सहकार्यका अवसरहरु पहिचान गर्न सक्ने गरी क्षमता विकास भएको बताए । समावेशी शिक्षा सम्बन्धीका चुनौती र अवसरहरुको साझा बिश्लेषणगरी समाधानका उपायहरु खोज्नुका साथै कार्ययोजना समेत निर्माण गर्न समक्ष भएको उहाँको भनाइ छ ।
तालिममा नागरिक समाज संस्थामा आवश्यक पर्ने नीति तथा रणनीतिहरु, एक्सेस परियोजनाबारे जानकारी, समावेशी शिक्षा विधि र अवधारणा, बालिका तथा समावेशी शिक्षा सञ्जाल, समावेशी शिक्षाका मूल्य मान्यताहरु, समावेशी शिक्षा क्षेत्रका चुनौती र अवसरहरु, बजेट र श्रोत परिचालन, नागरिक समाज संस्थाले तयार पार्ने प्रस्तावना, प्रतिवेदन र कार्ययोजना, विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा नागरिक समाज संस्थाको भुमिका, एक्सेस परियोजनाले नागरिक समाज संस्थालाई प्रदान गर्ने अनुदान रकम लगायतका बिषयमा सहजीकरण गरिएको थियो । तालिमको सहजीकरण पीपुल निड इनका अनुरोध शाह, नितिन नरेन सिंह, कर्णाली प्रदेश संयोजक मञ्जु लोहनी, एकान्टेबिलिटी ल्याबका परियोजना प्रबन्धक शुभेच्छा चापागाई, स्वष्तिका बस्नेत, नेपाल अपाङग महिला संघका गंगा देवकोटा लगायतले गरेका थिए ।









