एमयूको चौथो दीक्षान्त समारोह भोली 

  • नमस्ते कर्णाली

  • सुर्खेत, २ असार ।

    मध्यपश्चिम विश्वविद्यालय (एमयू) को चौथो दीक्षान्त समारोह बुधबार (३ असार) मा हुने भएको छ । सोमबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत विश्वविद्यालयको चौथो दीक्षान्त समारोह, १८ औं विश्वविद्यालय सभा र १६ औं वार्षिकोत्सव एकै दिन आयोजना गर्न लागिएको जनाइएको छ । 

    चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचार–प्रसार उपसमितिका संयोजक डाक्टर विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका १९ सय २८ जना विद्यार्थी दीक्षित हुन लागेको बताए । उनका अनुसार कुल विद्यार्थी मध्ये चार सय ५५ विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् । 

    यी मध्ये चार सय २८ जनाले आफ्ना अभिभावकसहित उपस्थित हुने गरी आवेदन दिएको खड्काले बताए । ग्राजुएट स्कुल अन्तर्गत विभिन्न तहको शैक्षिकोपाधि हासिल गरेका विद्यार्थीहरूलाई दीक्षित गर्नेगरी तय भएको एमयूको ऐतिहासिक चौथो दीक्षान्त समारोहको अध्यक्षता नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नेछन् । 

    उक्त समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने खड्काले जानकारी दिए । ‘दीक्षान्त समारोहमा ८ जेठ २०८३ सम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका ग्रेस लिष्टमा समाविष्ट विद्यार्थी मध्येबाट स्नातक तहमा सर्वोत्कृष्ट भएका एक जनाले कुलपति पदक प्राप्त गर्नेछन्,’ खड्काले भने । 

    त्यस्तै, स्नातक तहमा सर्वोत्कृष्ट भएका एक जनाले उपकुलपति पदक, सबै ग्राजुएट स्कुलहरूबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका पाँच जना र स्नातक तहबाट तीन गरी १४ जना विद्यार्थीले प्रमाणपत्रसहित पदक प्राप्त उनले बताए । संयोजक खड्का अनुसार चौथो दीक्षान्त समारोहसम्म आइपुग्दा ६ हजार तीन सय ७० विद्यार्थी दीक्षित भइसकेका छन् । चौथो दीक्षान्त समारोहबाट दीक्षित हुने विद्यार्थीको संख्या जोड्दा विश्वविद्यालय स्थापना भएको झण्डै १६ वर्षको अवधिमा आठ हजार दुई सय ९८ विद्यार्थी दीक्षित भएका छन् । 

  • २ असार २०८३, मंगलवार ११:५७ प्रकाशित

  • Nabintech