उद्योगी–व्यवसायीसँग साक्षात्कार तथा सचेतना कार्यक्रम शुभारम्भ

  • नमस्ते कर्णाली

  • सुर्खेत ,१५ असोज ।

    सुर्खेत उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीहरूसँग प्रत्यक्ष साक्षात्कार तथा सचेतना अभियान सञ्चालन गर्ने कार्यक्रमको शुभारम्भ गरेको छ। २०८३ साल असोज १५ गते बिहीबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख श्री मोहनमाया ढकालज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरी अभियानको औपचारिक शुभारम्भ गरिएको हो।
    उक्त अवसरमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा सञ्चालित सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम तथा आन्तरिक राजस्व कार्यालय, सुर्खेतको आर्थिक सहयोग र वीरेन्द्रनगर नगरपालिका तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सुर्खेतको समन्वयमा सञ्चालित व्यवसायिक सचेतना कार्यक्रमको समेत संयुक्त रूपमा शुभारम्भ गरिएको थियो।
    कार्यक्रममार्फत उद्योगी तथा व्यवसायीहरूलाई आफ्नो उद्योग तथा व्यवसायबाट निस्कने फोहोर जथाभावी नफाल्ने, फोहोर संकलन गरी सुरक्षित रूपमा राख्ने र फोहोर संकलन गर्ने सवारीसाधन आएपछि मात्र तोकिएको स्थानमा राख्ने लगायतका विषयमा सचेत गराइनेछ। यसबाट व्यवसायिक क्षेत्रको सरसफाइ तथा फोहोर व्यवस्थापनमा उद्योगी–व्यवसायीको जिम्मेवारी बढाउँदै स्वच्छ, सुन्दर तथा व्यवस्थित वीरेन्द्रनगर निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिइएको छ। साथै, नगरको स्वच्छता कायम गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन समेत यस अभियानले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
    यसैगरी, वीरेन्द्रनगर नगरपालिका तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयबाट चालु आर्थिक वर्षमा प्रदान गरिएका छुट तथा सहुलियतसम्बन्धी व्यवस्था र आन्तरिक राजस्व कार्यालयबाट उपलब्ध करसम्बन्धी छुट तथा सहुलियतका विषयमा उद्योगी तथा व्यवसायीहरूलाई जानकारी प्रदान गरिनेछ।
    कतिपय उद्योगी तथा व्यवसायीहरूलाई उपलब्ध सरकारी सेवा, सुविधा, छुट तथा सहुलियतबारे पर्याप्त जानकारी नहुन सक्ने भएकाले सम्बन्धित सरोकारवाला निकायहरूसँगको सहकार्यमा घरदैलोमै पुगेर जानकारी तथा सचेतना प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। साथै, संघका कार्यसमिति सदस्यहरूले उद्योगी तथा व्यवसायीहरूको व्यवसायिक स्थलमै पुगेर उनीहरूको वर्तमान अवस्था, समस्या तथा चुनौतीहरूबारे प्रत्यक्ष जानकारी लिने कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
    कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री हर्षविक्रम खड्काज्यूले उद्योगी–व्यवसायीका समस्या तथा आवश्यकतालाई नजिकबाट बुझदै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो।
    त्यसैगरी, आन्तरिक राजस्व कार्यालय, सुर्खेतका प्रमुख कर अधिकृत श्री चक्र ढुंगानाज्यूले उद्योगी–व्यवसायीहरूलाई उपलब्ध कर छुट तथा सहुलियतसम्बन्धी जानकारी लक्षित वर्गसम्म पुर्‍याउन घरदैलोमै पुगेर जानकारी गराउने पहल महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमको स्वागत गर्नुभयो। उहाँले अभियानलाई सफल बनाउन आफ्नो कार्यालयबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    सुर्खेत उद्योग वाणिज्य संघले आजदेखि एक महिनासम्म उद्योगी तथा व्यवसायीहरूको घरदैलोमै पुगेर सरसफाइ, व्यवसायिक सचेतना, करसम्बन्धी छुट तथा सहुलियत र व्यवसायीका समस्या तथा चुनौतीसम्बन्धी जानकारी तथा सहजीकरण गर्नेछ।
    स्वच्छ व्यवसायिक वातावरण, सचेत व्यवसायी र समृद्ध निजी क्षेत्र निर्माणका लागि सुर्खेत उद्योग वाणिज्य संघको निरन्तर पहल।

  • १५ आश्विन २०८३, बिहीबार २१:०० प्रकाशित

  • Nabintech