दुर्गम हुम्लामा उच्च शिक्षाको आशा बन्दै गल्वा बहुमुखी क्याम्पस

सीमित स्रोतसाधन, आर्थिक अभाव र भौगोलिक कठिनाइका बीच उच्च शिक्षा प्रदान गर्दै, स्थानीय सरकार र सरोकारवालाको सहयोगको अपेक्षा


  • अशोक भण्डारी

  • भौगोलिक विकटता, सीमित शैक्षिक पूर्वाधार र आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हुम्लाका विद्यार्थीका लागि लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ । यस्तो परिस्थितिमा स्थानीयस्तरमै उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने उद्देश्यले स्थापित गल्वा बहुमुखी क्याम्पस, श्रीनगर हुम्ला, दुर्गम क्षेत्रका विद्यार्थीको शैक्षिक भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार बन्दै गएको छ ।

    स्थानीय शिक्षा प्रेमी, बुद्धिजीवी तथा सरोकारवालाको पहल र तत्कालीन श्रीनगर गाविसको सहयोगमा वि.सं. २०७० सालमा स्थापना भएको यस क्याम्पसले विभिन्न चुनौतीका बीच आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेको छ । क्याम्पस स्थापना गर्नुको मुख्य उद्देश्य स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नु र आर्थिक अवस्थाकै कारण शिक्षाबाट वञ्चित हुनुपर्ने परिस्थितिलाई न्यूनीकरण गर्नु रहेको थियो ।

    स्थापनाकालमा कर्ण रोकायाको अध्यक्षतामा क्याम्पस व्यवस्थापन समिति गठन भएको थियो भने जगत धामीले क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि मानबहादुर थापा र दल फडेराले व्यवस्थापन समितिको नेतृत्व गरेका थिए । विभिन्न चरणमा नेतृत्व परिवर्तन हुँदै अघि बढेको क्याम्पसले हालसम्म स्थानीय विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको छ । हाल क्याम्पस प्रमुखको जिम्मेवारी हरि प्रसाद जैसीले सम्हालिरहेका छन् ।

    क्याम्पसमा हाल १०५ जना विद्यार्थी अध्ययनरत छन् । मानविकी संकाय अन्तर्गत नेपाली, ग्रामीण विकास, सामाजिक कार्य र राजनीतिशास्त्र विषयमा पठनपाठन हुँदै आएको छ । विगतमा यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थी विभिन्न क्षेत्रमा अघि बढिरहेका छन् भने केही विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेका छन् ।

    कठिन परिस्थितिमा पनि उच्च शिक्षा प्रदान गर्ने प्रयास

    क्याम्पस सञ्चालनको यात्रा भने सहज छैन । भौगोलिक कठिनाइ, सीमित आर्थिक स्रोत, आवश्यक शैक्षिक सामग्रीको अभाव तथा परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीले अतिरिक्त आर्थिक भार व्यहोर्नुपर्ने अवस्था प्रमुख चुनौतीका रूपमा रहेका छन् । स्थानीयस्तरमा क्याम्पस सञ्चालन भइरहे पनि पर्याप्त आर्थिक सहयोग र संस्थागत समर्थनको अभावले यसको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा कठिनाइ भइरहेको क्याम्पससँग सम्बन्धित व्यक्तिहरू बताउँछन् ।

    क्याम्पसका शिक्षक रणसुर रोकायाका अनुसार उनले २०७६ साल भदौ ८ गतेदेखि क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसयता उनले प्रशासनिक तथा प्राध्यापन सम्बन्धी जिम्मेवारीसमेत निर्वाह गर्दै क्याम्पसको शैक्षिक उन्नयनका लागि निरन्तर प्रयास गर्दै आएका छन् ।

    उनका अनुसार दुर्गम हुम्लामा उच्च शिक्षा सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो । आवश्यक स्रोतसाधनको अभावका बीच पनि स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा स्नातक तहसम्मको शिक्षा हासिल गर्ने अवसर उपलब्ध गराउनु क्याम्पसको महत्वपूर्ण उपलब्धि हो । काठमाडौँ, सुर्खेत वा नेपालगञ्ज पुगेर अध्ययन गर्नुपर्ने बाध्यता कम हुँदा विद्यार्थी तथा अभिभावकलाई आर्थिक र व्यावहारिक रूपमा राहत मिलेको उनको भनाइ छ । उच्च शिक्षाको महत्वबारे स्थानीय समुदायलाई बुझाउँदै विद्यार्थीको आकर्षण बढाउनु, आवश्यक शैक्षिक वातावरण तयार गर्नु र क्याम्पसलाई दिगो रूपमा सञ्चालन गर्नु अहिलेको आवश्यकता रहेको रोकायाले बताए ।

    विद्यार्थी भर्ना अभियान देखि परीक्षा केन्द्र स्थापनाको पहलसम्म

    वर्तमान क्याम्पस प्रमुख हरि प्रसाद जैसीले क्याम्पसको शैक्षिक तथा संस्थागत विकासलाई प्राथमिकतामा राख्दै आएको बताएका छन् । विद्यार्थी संख्या वृद्धि गर्न विभिन्न पालिकामा भर्ना अभियान सञ्चालन गर्ने, स्थानीय विद्यार्थीलाई उच्च शिक्षाको अवसरबारे जानकारी गराउने र क्याम्पसप्रति आकर्षण बढाउने प्रयास भइरहेको उनको भनाइ छ ।

    त्यसैगरी, विद्यार्थीले परीक्षा दिन जिल्ला बाहिर वा टाढाका केन्द्रसम्म पुग्नुपर्ने समस्यालाई कम गर्न क्याम्पसमै परीक्षा केन्द्र सञ्चालनका लागि पहल भइरहेको उनले जानकारी दिए । परीक्षा केन्द्र नजिक नहुँदा विद्यार्थीले यातायात, बसोबास तथा अन्य खर्च व्यहोर्नुपर्ने भएकाले यसले उनीहरूको अध्ययनमा समेत प्रभाव पार्ने गरेको छ । क्याम्पस प्रमुख जैसीका अनुसार स्थानीयस्तरमै उच्च शिक्षा उपलब्ध गराउनु दुर्गम क्षेत्रका विद्यार्थीका लागि ठूलो अवसर हो ।

    तर, क्याम्पसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत, शैक्षिक सामग्री, जनशक्ति र सरोकारवाला निकायको सहयोग अपरिहार्य छ । स्थानीय सरकार, अभिभावक, शिक्षाप्रेमी तथा अन्य सम्बन्धित निकायले सकारात्मक सहयोग गरेमा क्याम्पसलाई थप व्यवस्थित र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्न सकिने उनको विश्वास छ ।

    विभिन्न चुनौतीका बीच क्याम्पसको भौतिक पूर्वाधार विकासमा पनि केही प्रगति भएको छ । क्याम्पसको आफ्नै दुईवटा भवन रहेका छन् । शौचालय, खानेपानी, फर्निचर तथा कार्यालय व्यवस्थापनका आधारभूत संरचना उपलब्ध छन् । विद्यार्थीको सहभागिता पनि उत्साहजनक रहेको क्याम्पसले जनाएको छ । यद्यपि, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक थप पूर्वाधार, शैक्षिक सामग्री तथा आर्थिक व्यवस्थापनलाई अझ सुदृढ बनाउनुपर्ने देखिन्छ ।

    दुर्गम क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तार गर्नु केवल एउटा क्याम्पस सञ्चालन गर्नु मात्र होइन, स्थानीय विद्यार्थीको भविष्य निर्माण, आर्थिक भार न्यूनीकरण र गाउँमै दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण अभियान पनि हो । यस दृष्टिले गल्वा बहुमुखी क्याम्पसको निरन्तरता र विकासले स्थानीय शैक्षिक वातावरणमा सकारात्मक योगदान पुर्‍याउन सक्छ ।

    स्थानीय सरकार र सरोकारवालाको साथ आवश्यक

    क्याम्पसले सीमित स्रोतसाधनका बीच सेवा दिइरहे पनि आर्थिक समस्या र अपेक्षित संस्थागत सहयोगको अभावलाई प्रमुख चुनौतीका रूपमा लिएको छ । दुर्गम क्षेत्रमा उच्च शिक्षा सञ्चालन गर्ने संस्थालाई स्थानीय सरकार तथा सम्बन्धित निकायबाट आवश्यक सहयोग, सहकार्य र प्रोत्साहन प्राप्त हुन सकेमा शैक्षिक गुणस्तर सुधार गर्न सहज हुने देखिन्छ ।

    स्थानीय तहले क्याम्पसको आवश्यकता पहिचान गरी सम्भव भएसम्म आर्थिक तथा प्राविधिक सहयोग, शैक्षिक पूर्वाधार विकास र विद्यार्थी प्रोत्साहनका कार्यक्रम अघि बढाउन सकेमा यसको प्रभावकारिता बढ्न सक्छ । त्यस्तै, अभिभावक, समुदाय र शिक्षाप्रेमीले क्याम्पसप्रति अपनत्व बढाउँदै विद्यार्थीलाई उच्च शिक्षातर्फ प्रेरित गर्न आवश्यक छ ।

    गल्वा बहुमुखी क्याम्पसलाई व्यवस्थित, गुणस्तरीय र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न स्थानीय सरकार, क्याम्पस व्यवस्थापन, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाबीच सहकार्य आवश्यक छ । चुनौतीका बीच पनि उच्च शिक्षाको ज्योति फैलाउने प्रयासलाई निरन्तरता दिन सकेमा यो क्याम्पस हुम्लाका विद्यार्थीका लागि आशा र अवसरको महत्वपूर्ण केन्द्र बन्न सक्छ ।

    गल्वा बहुमुखी क्याम्पसको बी.ए. प्रथम वर्षको नतिजा सार्वजनिक, ४० विद्यार्थी उत्तीर्ण

    हुम्ला । त्रिभुवन विश्वविद्यालयअन्तर्गत हुम्लाको श्रीनगरस्थित गल्वा बहुमुखी क्याम्पसबाट चारवर्षे स्नातक तह (बी.ए.) प्रथम वर्षको वार्षिक परीक्षा २०८३ मा ४० जना विद्यार्थी उत्तीर्ण भएका छन्।

    क्याम्पसले सार्वजनिक गरेको नतिजा विवरणअनुसार यस शैक्षिक सत्रमा क्याम्पसमा कुल १०५ जना विद्यार्थी रहेका थिए। तीमध्ये ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने ५५ जना विद्यार्थी परीक्षामा सहभागी भएनन्। परीक्षामा सहभागी भएकामध्ये ४० जना विद्यार्थी सबै विषयमा उत्तीर्ण भएका छन् भने ८ जना विद्यार्थीको एक विषयमा नतिजा बाँकी रहेको छ।

    परीक्षामा सफल भएका विद्यार्थीहरूलाई गल्वा बहुमुखी क्याम्पस परिवारले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यार्थीहरूको यस सफलताले क्याम्पसको शैक्षिक गतिविधिमा थप उत्साह र ऊर्जा प्रदान गरेको क्याम्पसको विश्वास छ।

    क्याम्पस परिवारले उत्तीर्ण विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दै एक विषय बाँकी रहेका विद्यार्थीहरूलाई पनि आगामी परीक्षामा सफलताका लागि हौसला प्रदान गरेको छ।

    हुम्लाको उच्च शिक्षा विकासमा योगदान पुर्‍याउँदै आएको गल्वा बहुमुखी क्याम्पसले आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि सुधार तथा उत्कृष्ट शैक्षिक वातावरण निर्माणमा थप प्रयास गर्ने अपेक्षा गरिएको छ।

  • १३ मंसिर २०८३, शनिबार ११:२६ प्रकाशित

  • Nabintech