विद्यालय जाँदै गरेकी १६ वर्षीया इनिसा मृत फेला : बलात्कारपछि हत्या भएको आशंका, चार किशोर प्रहरी नियन्त्रणमा

  • नमस्ते कर्णाली

  • २८, फाल्गुन २०८२

    सुर्खेतको वीरेन्द्रनगरमा विद्यालय जान घरबाट निस्किएकी १६ वर्षीया किशोरी मृत अवस्थामा फेला परेपछि घटना गम्भीर बनेको छ। घटनामा बलात्कारपछि हत्या भएको आशंका गरिएको छ भने प्रहरीले चार जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
    वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विक शनिबार (फागुन २३) बिहान करिब ६ बजे घरबाट विद्यालय जान भन्दै निस्किएकी थिइन्। गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा वीरेन्द्रनगरस्थित उषा बालबाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। सो दिन विद्यालयमा प्रयोगात्मक कक्षा रहेको भन्दै शिक्षकहरूले बोलाएको जानकारी दिएपछि उनी बिहानै घरबाट हिँडेकी थिइन्।
    इनिसाकी आमा तिला विकले भने शनिबार विद्यालय नजान आग्रह गरेकी थिइन्। तर “सरहरूले बोलाउनु भएको छ, चाँडै आइहाल्छु” भन्दै छोरी घरबाट हिँडेको उनले बताइन्।
    बिहान करिब ८ बजेतिर तिलाले छोरीलाई फोन गर्दा इनिसाको मोबाइल स्विच अफ थियो। पटक–पटक सम्पर्क गर्न खोज्दा पनि फोन बन्द भएपछि उनले विद्यालयमा फोन गरेर सोधपुछ गरिन्। विद्यालयले भने इनिसा विद्यालय नआएको जानकारी दिएको थियो।
    छोरी साथीहरूसँग कतै गएकी होला भन्ने अनुमान गरिरहेकी तिलालाई केही समयपछि एक अपरिचित नम्बरबाट फोन आयो। फोन गर्ने व्यक्तिले “तपाईं इनिसाको ममी हो?” भनेर सोधे। आफू इनिसाको आमा भएको बताएपछि ती व्यक्तिले आत्तिँदै भने, “तपाईंकी छोरी सहिदपार्क नजिकको जंगलमा अचेत अवस्थामा छिन्, तुरुन्त आउनुस्।”
    यो खबर सुनेपछि तिला तत्काल घटनास्थलतर्फ पुगिन्। तर त्यहाँ पुगेपछि उनले कल्पनै नगरेको दृश्य देखिन्। इनिसा रक्ताम्मे अवस्थामा अचेत भएर ढलेकी थिइन्। कपाल लुछिएको, जुत्ता र मोजा छुट्टाछुट्टै अवस्थामा थिए। शरीरमा कपडा नभएको र कालो ज्याकेटले छोपिएको अवस्थामा उनी फेला परेकी थिइन्।
    “प्रहरीले कालो ज्याकेट हटाएर छोरीको अनुहार देखायो, छातीभरि नीलडाम थिए,” भक्कानिँदै तिलाले भनिन्, “त्यो अवस्था देखेपछि मेरो शरीर काँप्न थाल्यो, आँखा तिरमिराए र म त्यहीँ बेहोस भएछु।”
    घटनाको जानकारी पाएपछि पुगेको प्रहरीले वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रबाट अचेत अवस्थामा फेला परेकी इनिसालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
    घटनास्थलमै प्रहरीले वीरेन्द्रनगर–९ का १६ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले थप तीन जना किशोरलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।
    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पोस्टमार्टम रिपोर्टले पाठेघरबाट अत्यधिक रक्तस्राव भएको कारण मृत्यु भएको देखाएको छ।
    उनका अनुसार घटनास्थलबाट पक्राउ परेका किशोरले इनिसासँग शारीरिक सम्पर्क भएको र त्यसपछि अत्यधिक रक्तस्राव भई अचेत भएको बयान दिएका छन्। इनिसा अचेत भएपछि उनले अन्य तीन जना साथीलाई बोलाएको बयान समेत दिएको प्रहरीले जनाएको छ।
    “पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्तस्राव मृत्युको कारण देखिएको छ,” प्रवक्ता बुढथापाले भने, “थप पुष्टि गर्न भ्याजाइनल स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ। उक्त रिपोर्टपछि अन्य तीन जनाको संलग्नता भए–नभएको स्पष्ट हुनेछ।”
    उनले अनुसन्धानका क्रममा दोषी देखिए कानुन बमोजिम कडा कारबाही हुने उल्लेख गर्दै घटनाबारे अतिरञ्जित हल्ला नफैलाउन आग्रह गरेका छन्।
    यद्यपि पीडित परिवारले भने अस्पतालको रिपोर्टमै आशंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार सामूहिक बलात्कारपछि हत्या भएको घटनालाई सामान्य रक्तस्रावको कारण देखाएर दोषीलाई जोगाउने प्रयास गरिएको छ।
    घटनाको निष्पक्ष छानबिन नभएको भन्दै पीडित परिवारले आन्दोलनसमेत सुरु गरेका छन्। मृतक इनिसाकी आमा तिला विकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेकी छन्।
    उनीहरूले सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै निर्दोष छोरीको हत्यामा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएका छन्।
    यस घटनाप्रति विभिन्न मानवअधिकारसम्बद्ध संघ–संस्थाहरूले पनि चासो व्यक्त गरेका छन्। उनीहरूले सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
    उता छोरीको मृत्युको खबर पाएपछि घर फर्कन लागेका इनिसाका बुवा इन्द्रबहादुर विक भने दुबई विमानस्थलमै अलपत्र परेका छन्। नेपाली सेनाबाट अवकाश प्राप्त इन्द्रबहादुर विगत ६ वर्षदेखि दुबई प्रहरीमा कार्यरत छन्।
    परिवार स्रोतका अनुसार केही महिनाअघि बिदामा घर आएर पुनः दुबई फर्किएका उनी मध्यपूर्वमा इरान र इजरायलबीचको युद्धका कारण उडान अनिश्चित भएपछि दुबईमै रोकिएका हुन्।

  • २८ फाल्गुन २०८२, बिहीबार १६:०४ प्रकाशित

  • Nabintech